मकवानपुरका तीन खेलाडी साफ खेल्ने टोलीमा

साझाकुरा
२०८० जेष्ठ २६, शुक्रबार १०:०९

हेटौंडा- मकवानपुरका तीनजना खेलाडी साफ च्याम्पियनसीप खेल्ने नेपालको टोलीमा अटाएका छन् ।मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो ऐनेसले बिहीबार २३ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेका हुन् । टिममा मकवानपुरे अञ्जन विष्ट (फर्वाड), विमल पाण्डे (डिफेन्डर) र आयुष घलान (फर्वाड) समावेश भएका हुन् । जसमध्ये अञ्जन र विमल जिल्ला लिगबाट उदाएका खेलाडी हुन् । आयुष भने काठमाडौंमै खेलेर उदाएका खेलाडी हुन् ।

आयुषको परिवार मकवानपुरबाट काठमाडौं बसाई सरेको जनाइएको छ । अञ्जन र आयुषले यसअघि नै राष्ट्रिय टिमबाट खेलिसकेका छन् । विमल भने पहिलो पटक राष्ट्रिय टिममा परे । यसअघि मकवानपुरका सुनिल बल राष्ट्रिय टिमका नियमित सदस्य थिए । उनी अष्ट्रेलिया पुगेका छन् ।टोलीमा यसपटक उदाउँदा नयाँ अनुहारका रुपमा जावलाखेलका युवा डिफेन्डर सिमान्त थापा तथा थ्रीस्टार क्लबका उदीयमान मिडफिल्डर लाकेन लिम्बुले पनि स्थान बनाउन सफल भएका छन् ।

त्यसवाहेक चर्च ब्वाईजका लागि यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई ऐतिहासिक लिग च्याम्पियन बनाएका अर्का युवा फरवार्ड आशिष चौधरी पनि नेपालको फाइनल स्क्वाडमा पर्न सफल भएका छन् । स्मरण रहोस, यही जुन २१ तारीखदेखि भारतको बंगलोरमा सुरु हुन गइरहेको साफ चयाम्पियनसिपमा नेपाल आयोजक तथा साविक विजेता भारत, कुवेत र पाकिस्तानसँगै समूह ‘ए’ मा परेको छ ।

नेपालले आफ्नो पहिलो खेल जुन २१ तारीखका दिन कुवेतसँग खेल्नेछ भने २४ तारीखका दिन भारत र २७ तारीखका दिन पाकिस्तानसँग खेल्ने कार्यक्रम छ । समूह बी मा लेबनान, बंगलादेश, माल्दिभ्स र भुटान छन् । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । तयसबाहेक नेपालले यही १५ जुनका लागि मनिलामा घरेलु टोली फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने कार्यक्रम पनि छ ।

नेपालको राष्ट्रिय टिमः गोलकिपरमा किरन चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ, डिफेन्डरमा विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा छन् । मिडफिल्डरमा पुजन उपरकोटी, एरिक बिष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु, आवास लामिछाने छन् भने फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंहठकुरी, अन्जन बिष्ट, मनिष डाँगी, आशिष चौधरी, बिमल घर्ती मगर रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*