मेयर कपको उपाधि ११ नम्बर वडाले जित्यो

साझाकुरा
२०८० जेष्ठ २८, आईतवार ०९:२८

हेटौंडा, तेस्रो मेयरकप फुटबल प्रतियोगिता–२०८० को उपाधि हेटौंडा–११ ले जितेको छ ।शनिबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाइनल खेलमा ११ नम्बर वडाले टाइब्रेकरमा हेटौंडा–१५ लाई ४–३ गोलअन्तरले पराजित गर्दै च्याम्पियन भएको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो ।

प्रतियोगिताको विजेता ११ नम्बर वडाको टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छ । यस्तै उपविजेता १५ नम्बर वडाको टिमले नगद १ लाख ५० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । सेमिफाइनलमा प्रवेश पाइ पराजित १३ र १४ नम्बर वडाको टिमले ५०–५० हजार
रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ ।

विजयी खेलाडी तथा प्रशिक्षकलाई हेटौंडाकी मेयर मिना लामाले पुरस्कार वितरण गरेकी थिइन् । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको सभाध्यक्षतामा भएको कार्यक्रममा नगरका उप–प्रमुख राजेश बानियाँ, पूर्व नगर प्रमुख हरिबहादुर महतलगायतले खेलाडीहरुलाई शिल्ड मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा उपमहानगरका प्रवक्ता तथा १ नं. वडा अध्यक्ष सविन न्यौपाने, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीलगायतले फुटबल खेलको विकासमा आवश्यक लगानी गरी पूर्वाधार विकासमा जोड दिएका थिए ।जेठ १६ गतेबाट सुरु प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाले सहभागिता जनाएका थिए । प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधी हेटौंडा उपमहानगरपालिकाको १० नम्बर वडाले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*