मकवानपुर आएर गगन थापाले भनेः पाँच पटक हारिन्छ, तर कांग्रेसले तालमेल गर्दैन

साझाकुरा
२०८० जेष्ठ ३०, मंगलवार ०९:४८

हेटौंडा-नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले मकवानपुर आएर आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् । गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अगाडि कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने मत बोकेर हिँडेका थापाले सोमबार मकवानपुरमा भएको पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उक्त विषय पुनः दोहो¥याएका हुन् । आगामी निर्वाचनमा कांग्रसले कुनै पनि पार्टी वा शक्तिसँग तालमेल नगर्ने नीति लिने स्पष्ट पारेका हुन् । नेपाली कांग्रेस विचार प्रधान पार्टी भएकाले सत्ताका लागि कसैसँग सम्झौता नगर्ने उनको भनाई छ ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ र २ ‘ख’को सोमबार हेटौंडा–१९ बस्तीपुरमा भएको भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले चुनावको अगाडि अर्काे पार्टीको पक्षमा मत माग्ने कुराले प्रकारान्तरमा त्यसले पार्टीप्रतिको विश्वास डगमगाउने अवस्था बन्ने दाबी गरे ।‘कांग्रेसले भदौमा नीति अधिवेशन गर्छ, नीति अधिवेशनबाट संकल्प गर्नुपर्छ कि, अब कांग्रेसको जिवनमा बरु ५ पटक चुनाव हारे हारिन्छ, वडादेखि केन्द्रसम्म, राष्ट्रपतिदेखि प्रधानमन्त्रीको चुनावमा जस्तोसुकै अप्ठेरो परे पनि, नेपालको तमाम् पार्टी मिलेर एउटै पार्टी बनाए पनि कांग्रेसले तालमेल गर्दैन ।’,

उनले भने । तालमेल मात्र नभई कांग्रेसले सत्ताका लागि विचारसँग सम्झौता नगर्ने पनि बताए । ‘बरु सरकार छोड्नुपरे छोड्ने तर, कांग्रेसको लागि विचार र सिद्धान्त सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसलाई स्थापित गरिनुपर्छ,’ थापाको जोड छ । चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रति गलत धारणा बनेको भन्दै उनले बरु कांग्रेस चुनाव हार्न र सत्ता बाहिरै बस्न तयार रहने स्पष्ट पारे ।

चुनावको बेला उम्मेद्वार छान्ने कुरा सबैभन्दा जटिल बनेको भन्दै थापाले वडाको टिकट चुनावको ६ महिनाअघि त्यसै वडा तथा पालिका वा क्षेत्रका कार्यकर्ताले सर्वसम्मत वा निर्वाचनमार्फत छान्ने गरी नीति बनाउनुपर्ने धारणा राखे । कांग्रेस सक्किएर होइन सच्चिएर र परिवर्तन भएर अघि बढ्नुपर्ने भन्दै उनले भने, ‘कमजोर कांग्रेसको महामन्त्री हुनुभन्दा बलियो कांग्रेसको साधारण सदस्य मञ्जुर छ तर, कांग्रेस सच्चिएर जान जरुरी छ ।’, कांग्रेसको इमेज सरकारमा पुग्नका लागि चुनावअघि एउटासँग घाँटी जोड्न पनि पुग्ने र त्यो सरकारमा पुगेन भन्ने रिसमा चुनावपछि अर्काेसँग घाँटी जोड्न पनि पुग्छ भन्ने, सत्ताका लागि जस्तोसुकै सम्झौता गर्छ भन्ने छवि बन्न पुगेको उनको भनाई थियो ।

आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेको र आत्मविश्वास र आशा गुमाइरहेको भन्दै कांग्रेसले जनताको निराशालाई चिर्ने थापाले प्रतिवद्धता जनाए । नेपाली कांग्रेस प्रगतिशील समाजको कल्पना गरी कार्यान्वयन गराउने पार्टी भएको भन्दै थापाले जनभावनालाई निरन्तर सुन्ने प्रतिवद्धता जनाए । ‘कांग्रेस उत्तेजित शक्ति पनि होइन, कांग्रेस यथास्थितिवादि पनि होइन । कांग्रेस त प्रगतिशिल शक्ति हो, कांग्रेस प्रश्न होइन, उत्तर हो ।’, थापाले थपे । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस एकजुट भएर जनताको हितमा लाग्नुको विकल्प नभएको बताए । नागरिकमा छाएको निराशा चिर्न काम गरेर देखाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्वसभापतिहरु माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, पार्टी जिल्ला उपसभापति आनन्द कठायत, सचिव ईश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, चितवन क्षेत्र नम्बर १ का सभापति किरण वली, महासमिति सदस्य राजकुमार मल्ल, राजेश भेटवमल, मकवानपुर १ (क) का सभापति सुशान्त श्रेष्ठ, मकवानपुर २ (ख) का सभापति रन्जन कालाखेती, थाहा नगर सभापति प्रमोद जोशी, मनहरी ८ का सभापति भिमसेन लामालगायतले मन्तव्य व्यक्त गरेका थिए । मकवानपुर क्षेत्र नम्बर २ का सभापति लोक मुक्तानको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*