हेटौंडेली विमलको राष्ट्रिय टोलीमा डेब्यु

साझाकुरा
२०८० असार १, शुक्रबार १०:२७

हेटौंडा- हेटौंडा–१८ हर्नामाडी घर भएका फुटबलर बिमल पाण्डेले बिहीवार फिलिपिन्ससँगको खेलबाट राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका छन् । विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट नियमित फुटबल खेल्दै आएका डिफेन्डर पाण्डेले राष्ट्रिय टोलीको जर्सीमा पहिलो पटक फिलिपिन्स विरुद्ध खेलेका हुन् । पाण्डेसँगै हेटौंडाका अञ्जन विष्ट र आयुष घलान राष्ट्रिय टोलीमा थिए ।

राष्ट्रिय टोलीबाट तीनै जना सदस्यले सेटमा खेलेका छन् । गत जेष्ठ २५ गते अखिल नेपाल फुटबल संघ(एन्फा) साफ च्याम्पियनसिप खेल्ने २३ सदस्यीय टोली घोषणा गरेको थियो । उक्त टोलीमा मकवानपुरका विष्ट, घालन र विमल पाण्डेपरेका थिए । विष्ट र पाण्डे मकवानपुरमै फुटबल खेलेर उदाएका फुटबल हुन् । घलान भने काठमाडौंमै नियमित फुटबल खेल्ने गरेका थिए । उनका बाबु हेटौंडा–१६ हटियाबाटै काठमाडौं बसाई सरेका हुन् । जसकारण आयुषलाई जिल्ला फुटबल संघ मकवानपुरले जिल्लाबासीको रुपमा हेर्ने गरेको छ । अञ्जन र आयुषले यसअघि नै राष्ट्रिय टोलीबाट खेलिसकेका छन् ।

विमलले भने पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलमा सुरुवाती–११ मा अन्जन, आयुष र नवयुग श्रेष्ठले फरवार्ड लाइन सम्हालेका थिए । डिफेन्समा विमल पाण्डे, सशिष श्रेष्ठ, अनन्त तामाङ र रोहित चन्द्र थिए । मिडफिल्डबाट पुजन उपरकोटी, एरिक विष्ट र लोकेश लिम्बुले खेले । मिडफिल्डर लाकेन लिम्बु पनि राष्ट्रिय टोलीको जर्सीमा पहिलो पटक मैदान उत्रिएका हुन् । भारतमा हुने १४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले फिलिपिन्ससँग खेलेको हो । बेंगलुरुमा आयोजना हुने साफ असार ६ देखि १८ गतेसम्म हुनेछ ।

यसैगरी, साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीस्वरुप भएको मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टिम फिलिपिन्ससँग पराजित भएको छ । नेपाल फिलिपिन्ससँग १–० गोलले पराजित भएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा गोल खाएको हो । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक
गरेको ‘ड्र’ अनुसार नेपाल समूह ‘ए’मा रहेको छ । समूह ‘ए’मा आयोजक भारतसँगै नेपाल, पाकिस्तान र आमन्त्रित देश कुवेत रहेका छन् ।

नेपाल कठिन समूहमा परेको हो । समूह ‘बी’मा आमन्त्रित देश लेबनानसँगै माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । नेपालले आफ्नो पहिलो खेल कुवेतसँग जून २१ तारिखमा प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेल आयोजक भारतसँग २४ जुनमा प्रतिस्पर्धा गर्ने नेपालले जुन २७ तारिखमा पाकिस्तानसँग खेल्नेछ । जुलाई १ तारिखमा सेमिफाइनलका खेल हुँदा ४ जुलाईमा फाइनल खेल हुनेछ । कुवेत र लेबनानले १४ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आमन्त्रित देशको रुपमा प्रतिस्पर्धा गर्न लागेका हुन् । साफले पहिलो पटक आमन्त्रित राष्ट्रसहित प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*