बागमतीले ल्यायो ६२ अर्ब ७० करोडको बजेट

निशा गुरुङ
२०८० असार २, शनिबार १६:१६

हेटौंडा-आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि वागमती प्रदेश सरकारले ६२ अर्ब ७० करोड ९० लाख रूपैयाँको बजेट ल्याएको छ । चालू आर्थिक वर्षमा ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार ८ अर्बले घटाएको हो । आगामी आवको बजेटमा कुल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ २६ अर्ब ७० करोड २७ लाख र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार विनियोजन गरिएको छ ।

वित्तीय व्यवस्थातर्फ ५० करोड बिनियोजन गरेको प्रदेश अर्थमन्त्री बहादुरसिंह लामाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । कुल विनियोजनमध्ये चालुतर्फ ४२ दशमलब ५८ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलब ६२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ० दशमलब ८ प्रतिशत रहेको अर्थमन्त्री लामाले बताए ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट पाँच अर्व २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको वचत र अन्य प्राप्तिबाट १४ अर्व ४५ करोड ४७ लाख व्यहोरिने अनुमान गरिएको छ ।
कुन मन्त्रालयलाई कति ?
वाग्मती प्रदेशमा रहेको ११ वटा मन्त्रालयमध्ये सरकारले सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार तथा विकास मन्त्रालयलाई दिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको लागि २१ अर्ब ६६ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ । सामाजिक विकास मन्त्रालयको लागि ४ अर्ब ६२ करोड १७ लाख, स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब ७
करोड ४२ लाख रुपैयाँ, श्रम रोजगार तथा यातायात मन्त्रालयलाई ७७ करोड ६ लाख रुपैयाँ, वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब ३ करोड २३ लाख, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयलाई २ अर्ब १६ करोड ४३ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ६१ करोड ७८ लाख रुपैयाँ, खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयलाई ७ अर्ब ४६ करोड ६४ लाख, कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ३ अर्ब ३८ करोड १ लाख, आर्थिक मामिला तथा योजना मन्त्रालयलाई १२ करोड ९४ लाख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई २ अर्ब १८ करोड ४ लाख विनियोजन गरिएको छ ।
के के छ बजेटमा ?
सरकारले आगामी आर्थिक वर्षमा भ्यूटावर निर्माण नगर्ने भएको छ । आगामी आर्थिक वर्षमा बजेटबाट सडक क्षेत्रमा प्रवेशद्वार निर्माण नगरिने भएको छ । हेटौंडाको कर्रा करिडोर निर्माणको लागि १५ करोड विनियोजन गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि १२ करोड २५ लाख रकम विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नात्तकोत्तर पठनपाठन सुरु गर्ने भएको छ । प्रदेशमा कृषि पूर्वाधार र कृषिमा लगानी वर्षका रुपमा अगाडि बढाइनुका साथै प्रदेशभित्र केराखेती गर्ने किसानलाई प्रोत्साहन गरिने अर्थमन्त्री लामाले बताएका छन् । मन्त्री लामाले आगामी वर्षदेखि उच्चप्रबिधियुक्त च्याउ उत्पादनमा सहयोग गरिने, पशु श्रोतकेन्द्र विकासका लागि बजेट छुट्याइएको बताए ।

प्रदेश भित्र प्रत्येक निर्वाचन क्षेत्रमा प्रा·ारीका मल कारखानाको लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश भित्र कृषकलाई परिचयपत्र लागु गरिने भएको छ भने चेपाङको पहिचानसँग जोडिएको चिउरी र चमेरा संरक्षण कार्यक्रम प्राथमिकतामा राखिएको मन्त्री लामाले बताए । प्रदेशमा महिला पहिला भन्ने कार्याक्रम लागु गरिने भएको छ ।

आगामी आर्थिक वर्षदेखि तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गरिने समेत मन्त्री लामाले बताए । चितवन जिल्लामा अलपत्र रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि ५ करोड विनियोजन व्यवस्था गरीएको छ । प्रदेश सरकारले आगामी आवमा समानीकरण अनुदानवापत प्रदेशका ११३ स्थानीय तहमा १ अर्ब ६६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

मन्त्री लामाले जनता आवास कार्यक्रमलाई आउँदो आर्थिक वर्षमा पनि बजेट छुट्याइएको घोषणा गरे । शहरी तथा सहरउन्मुख क्षेत्रमा सडक, फुटपाथ, साइकल लेन, बिरुवा रोप्ने काम गर्नेगरी बजेट बिनियोजन गरिएको छ । वागमती प्रदेश सरकारले स्थानीय तहलाई अनुदानस्वरुप ४ अर्ब ८३ करोड रुपैयाँ बजेट छुट्याएको छ । सरकारले आगामी सन् २०२४ लाई वाग्मती प्रदेश भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*