हेटौंडाका वडाध्यक्षहरु प्रदेश सरकारसँग रुष्ट

साझाकुरा
२०८० असार ३, आईतवार १०:०३

हेटौंडा-बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाका वडाअध्यक्षहरुले प्रदेश सरकारको बजेट संसोधन गर्न चेतावानी दिएका छन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र अर्थमन्त्री बहादुरसिंह लामाले बजेट बिनियोजनमा विभेद गरेको भन्दै वडाअध्यक्षहरुले मुख्यमन्त्री र उनका मन्त्रीहरुलाई बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
शनिबार पत्रकार सम्मेलन गर्दै वडाध्यक्षहरुले प्रदेशको राजधानी सार्ने मनसायले हेटौंडालाई उपेक्षित गरेको भन्दै घोर आपत्ती जनाए । वडाध्यक्षहरुले हेटौंडामा हुने सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री र मन्त्रीहरु सहभागी भए उनीहरुलाई कालो झण्डा देखाउँदै बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा–१४ का वडाध्यक्ष दीपक खड्काले राजधानीको विकासका लागि बजेट विनियोजन नगरेको भन्दै आफूहरुले प्रदेशका मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा देखाउने र बहिष्कार गर्ने तयारीका साथ अघि बढ्ने बताए । उनले प्रदेश सरकारको बजेट पूर्वाग्रही ढंगले आएको भन्दै बजेट नसच्चिए कडा रुपमा प्रस्तुत हुन बाध्य हुने समेत उल्लेख गरे । निर्वाचित जनप्रतिनिधिले पनि बजेटको अपनत्व लिन नसक्ने खालको भएको र सर्वसाधारण जनताका लागि बजेट केवल परम्परागत शैलीको मात्र भएको आरोप उनीहरुको छ ।

पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा–१० का वडाध्यक्ष फुर्वादोर्जे लामाले प्रदेशको राजधानी हेटौंडा भएको र त्यसमा पनि १० नम्बर वडामा प्रदेशका मन्त्रालयदेखि प्रदेशसभा भवन लगायत धेरै सरकारी भवनहरु भएको तर, १० नम्वर वडामै पूर्वाधार विकास निर्माणमा बजेट शून्य पार्नुले राजधानीलाई पछि पार्न खोजेको टिप्पणी गरे । उनले प्रदेशको राजधानी हेटौंडालाई नियोजित ढंगले बजेट नहाल्नुले राजधानी सार्न खाजेको भान भएको बताए । यसैगरी, हेटौंडा–१९ का वडाध्यक्ष नरनाथ सुवेदीले प्रदेश
सरकारको बजेट पूवाग्रही ढंगले आएको बताउँदै बजेट संशोधन हुनुपर्ने बताए । उनले प्रदेशको बजेट पूवार्धार, रोजगारसँग नजोडिएको टिप्पणी गरे ।

सुबेदीले प्रदेश सरकारले आफ्नो दलका कार्यकर्ता पाल्ने ढंगले मात्रै बजेट ल्याएको दाबी गर्दै प्रदेश सरकारले बजेट सच्याउनुपर्नेबताए । पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा–५ का वडाध्यक्ष सुशील घिमिरे, हेटौंडा–११ की वडाध्यक्ष जुना दाहाल, हेटौंडा–१५ का वडाध्यक्ष सुनिल मोक्तानले प्रदेशको बजेट हचुवाका भरमा पहुँचवालाले पाउने गरी बनेको बताउँदै बजेट संशोधन हुनुपर्नेमा जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*