क्लब र व्यक्तिसँगको सहयोगमा ‘विजय युथ गोल्डकप’

साझाकुरा
२०८० असार ३, आईतवार १०:०५

हेटौंडा-हेटौंडामा यसअघि हुने गरेका र पूर्वनिर्धारीत खेलकुद प्रतियोगिताहरु प्रदेश वा स्थानीय सरकारको प्रयोजनमा हुने गरेका छन् । खेलाडी उत्पादन र खेलकुदको भौतिक संरचना निर्माण सन्तोष जनक नदिए पनि खेलकुदमा बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाले राम्रो लगानी गरिरहेको छ । जिल्ला फुटबल संघ मकवानपुरले खेलाडी उत्पादनको प्रभावशाली प्रतियोगिताको रुपमा हेरिएको जिल्ला लिग विगत ४ वर्षदेखि गरेको छैन । तर, यसबीचमा संघले जिल्लाकै १० वटा स्थानीय तहको आर्थिक सहयोगमा दुईपटक फुटबल प्रतियोगिता गरेर आफ्नो खातामा पैसा पनि जम्मा पार्न सकेको छ । असार पहिलो सातादेखि हेटौंडामा न कुनै सरकार न कुनै संघसंस्थाको सहयोगमा एउटा फुटबल प्रतियोगिता हुँदैछ ।

असार पहिलो सातादेखि दोस्रो विजय युथ गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । विजय युथ क्लब, हेटौंडाका अध्यक्ष सुदीप राजबाहकले शनिवार गरिएको पत्रकार सम्मेलनमा भने, ‘हामीलाई कुनै सरकारले सहयोग गरेको छैन । साथीहरुसँग उठाएर र क्लबमा भएको पैसा हालेर फुटबल गर्दैछौं ।,’ उनका अनुसार ५ असारदेखि १५ असारसम्म १० दिन चल्ने प्रतियोगिताको लागत १३ लाख रुपैयाँ छ । १३ लाख खर्च व्यक्तिहरुसँग सहयोग उठाएर गर्ने योजना बनाएको र क्लबसँग भएको पैसा पनि खर्च गरिने अध्यक्ष राजबाहकले बताए । उनले संघसंस्थाको सहयोग आएमा स्वीकार गर्ने जानकारी दिए ।

खेलाडीहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापना गर्दै फुटबलको विकासका निम्ति क्लबले दोस्रो विजय युथ गोल्डकपको आयोजना गर्न लागेको क्लब अध्यक्ष राजबाहकले बताए । हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी, विजय यूथ क्लव, हटिया भेट्रान्स क्लव, ढल्केजोवन एफसी, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, नागस्वती एफसी, पदमपोखरी युनाइटेड, हर्नामाडी यूथ क्लव, एफसी विजय यूथ, अग्रसर यूथ क्लव, समाजकल्याण एफसी, बागमती प्रदेश प्रहरीगण, चाइना पब्लिक यूथ क्लव, चौकीटोल यूथ क्लव, पशुपति युवा क्लव, हेटौंडा फुटबल एकेडेमी ‘ए’ को सहभागिता रहने राजवाहकले बताए ।

गोल्डकपको विजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख बराबरको बीमा, नगद १० हजार रुपैया प्रदान गरिने राजवाहकले बताए । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी÷प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पुरस्कारको व्यवस्था रहेको उनले जानकारी दिए । असार ५ गते बेलुका ४ बजे हुने उद्घाटन खेल एफसी विजय युथ र अग्रसर यूथ क्लवबीच हुने खेल तालिका छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*