बागमती प्रदेशको बजेटमा निजीक्षेत्र बेखबर

साझाकुरा
२०८० असार ६, बुधबार ०९:५४

हेटौंडा-असार १ गते वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रदेशसभामा ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट ल्यायो । चालू आर्थिक वर्षमा ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार ८ अर्बले घटाएको हो ।

सरकारले बजेट प्रस्तु गरेको आज पाँच दिन भइसक्यो । प्रदेश सरकारले पेस गरेको बजेटको बारेमा भने मकवापुरका निजी क्षेत्रहरुले अध्ययन गर्नु त कहाँ हो कहाँ बजेटको बारेमै अनभिज्ञता देखाएका छन् । वागमतीको बजेटप्रति अहिले समर्थन र विरोध भइरहेको बेलामा मकवानपुरका निजी क्षेत्रका छाता संगठनलाई निजी क्षेत्र समेट्ने खालका के कस्ता बजेट आयो अझै अन्यौलमा देखिएको हो ।

उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल वैदेशिक भ्रमणमा छन् । वरिष्ठ उपाध्यक्ष बद्रीनाथ शर्माले प्रदेश सरकारले ल्याएको बजेटमा बोल्न चाहेनन् । उनले महासचिव किशोर अर्यालको सम्पर्क नम्वर दिएर पन्छिए । उद्योग संघ मकवानपुरका महासचिव अर्याललाई साझाकुराले बजेटबारे के छ धारणा ? भनेर प्रश्न गर्दा उनले अध्ययन गर्न बाँकी रहेको बताए । ‘अध्ययन गर्न बाँकी नै छ । यसबारेमा हामी अध्ययनसँगसँगै उद्योग संघका साथीहरुसँग छलफल गरेर आफ्नो धारणा राख्नेछौं,’ अर्यालले भने ।

त्यसैगरी, बजेटबारेमा धारणा लिन निर्माण ब्यवसायी संघ मकवानपुरका निवर्तमान अध्यक्ष श्यामसुन्दर ढकाललाई सम्पर्क गर्दा उनले पनि अध्ययन गर्नै बाँकी
रहेको बताए । आफू हेटौंडा बाहिर भएकोले अध्ययन गर्न बाँकी रहेको निवर्तमान अध्यक्ष ढकालले साझाकुरालाई बताए । त्यस्तै संघका अध्यक्ष बालगोपाल कँडेललाई सम्पर्क गर्दा उनी पनि काठमाडौंमा रहेको जानकारी दिए । बागमती प्रदेश सरकारको बजेटको बारेमा राम्रोसँग अध्ययन गर्न बाँकी रहेकोेले अहिले तत्काललाई कुनै प्रतिक्रिया दिन नसकिने कँडेलले जानकारी दिएका छन् ।

घरजग्गा व्यवसायी संघका अध्यक्ष कमल मैनालीलाई सम्पर्क गर्दा उनले संघका उपाध्यक्षलाई सम्पर्क गर्न आग्रह गर्दै उपाध्यक्ष पवन तिमल्सिनाको सम्पर्क नम्वर दिएर पन्छिए ।
साझाकुरा प्रतिनिधिले उपाध्यक्षको सम्पर्क नम्वर प्राप्त भएपछि बजेटबारे धारणा लिन खोज्दा उनलाई भने प्रदेश सरकारले ल्याएको बजेटबारे थाहा नै नभएको
बताए । ‘बजेट कहिले प्रस्तुत गरेको छ र ? नीति तथा कार्यक्रम होईन र ?,’ उनले उल्टै प्रश्न गरे, ‘मैले त अध्ययन गर्नै बाँकी छ बजेट वक्तव्य भए पाउन बरु ।’ अर्यालले बजेट वक्तव्य मागेपछि ह्वाट्एपमा साझाकुराले उपलब्ध गराएको छ ।

उनले केही समय लगाएर हेरेपछि अर्यालले प्रदेश सरकारले ल्याएको बजेट सरसरती हेर्दा राम्रो आएको तर, कार्यान्वयनमा भने चुनौती देखिएको हुँदा अगाडि नै नीति निर्माणमा ध्यान दिन आग्रह गरे । ‘बजेटमा निजी क्षेत्र समेट्ने कार्यक्रम पनि आएको छ । तर, करौंडोको कारोबार गर्नै घरजग्गा व्यवसायी संघ उद्योगको रुपमा दर्ता नहुँदा प्यानकै भरमा कारोबार गर्नुपर्ने समस्या छ,’ उनले भने, ‘राजश्व संकलनमा घरजग्गा व्यवसायी संघको पनि महत्वपूर्ण भूमिका छ । त्यसमा संघ र प्रदेशको बजेटमा समेटिएको देखिएन’ निजी क्षेत्रलाई बजेटले समेट्न खोजेको तर, महत्वकांक्षी जस्तो पनि देखिएको भन्दै आफ्नो धारणा व्यक्त गरे ।

निर्माण व्यवसायी संघ मकवानपुरका उपाध्यक्ष सागर कटुवाललाई सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले भने प्रदेशको बजेटबारे अध्ययन गरेको पाइएको छ । उनले वागमती प्रदेश सरकारले ल्याएको बजेटले उद्योग व्यवासायीलई नछोएको टिप्पणी गरे । ‘बजेट खाली करको दायरा बढाउनेमा मात्रै देखिएको छ । बजेटले व्यवसायीलाई छोएको देखिदैन,’ अग्रवालले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा त कार्यान्वयनको विषय हो । कार्यान्वयन हुन्छ हुन्न त्यो हेर्ने हो । प्रदेशको बजेटले भन्दा पनि केन्द्रीय बजेटले छुने नछुने कुरा हुन्छ ।’

प्रदेश सरकारको ल्याएको बजेटप्रति निजी क्षेत्रका संगठनहरुले चासो किन देखाएनन् ? भन्ने बिषयमा पनि बहस गर्नु जरुरी छ । प्रदेश सरकारले निजी क्षेत्रको मर्म अनुसारको बजेट, नीति तथा कार्यक्रम ल्याउन नसकेको हो या प्रदेश सरकारको बजेटले निजी क्षेत्रमा कुनै असर नै गर्दैन । निजी क्षेत्रका लागि प्रादेशिक सरकारका बजेटको औचित्य र आवश्यकता नै छै कि ? भन्ने बिषयमा बहस गर्नु जरुरी छ । राज्यलाई कर तिर्ने निजी क्षेत्रलाई प्रादेशिक बजेट, नीति तथा कार्यक्रमले किन आकर्षित गर्न सकेन भन्ने बिषयमा प्रदेश सरकाले चासो दिनु जरुरी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*