प्रतिष्ठानको बजेट काटेकोमा एमाले मकवानपुरको विरोध

साझाकुरा
२०८० असार ६, बुधबार १०:३२

हेटौंडा- हेटौंडा अस्पताललाई कमजोर बनाउने रणनीतिअनुरुप मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट प्रदेश सरकारले काटेको भन्दै विरोध सुरु भएको छ ।
नेकपा एमाले मकवानपुरले मंगलबार विज्ञप्ति जारी गर्दै अस्पतालको थप स्तरोन्नती गर्नुपर्ने दायित्व बिर्सिएर प्रदेश सरकारले उल्टै बजेट काटेको भन्दै आपत्ति जनाएको हो । मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठानले हेटौंडा अस्पताल सञ्चालन गरिरहेको छ ।

जसकारण प्रदेश सरकारले प्रतिष्ठानलाई यसअघि बिनियोजन गरिएको भन्दा धेरै बजेट कटौती गरेपछि अस्पताल सञ्चालनमा समस्या हुने भएको छ । अस्पताललाई कमजोर बनाएर जिल्लाबासीले लिँदै आएको सहज स्वास्थ्यउपचारमा वाधा पु¥याउन प्रदेश सरकार नै लागेको प्रदेशसभा सदस्यसमेत रहेका एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले आरोप लगाए ।

गुणस्तरीय स्वास्थ्यसेवा प्राप्त गर्ने मकवानपुरबासीको सदियौंको सपनामाथि धावा नबोल्न भन्दै एमालेले खबरदारी गरेको छ । बागमतीका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी अस्पताल सञ्चालन गरिरहेको छ । हेटौंडा अस्पताल प्रतिष्ठानमार्फत् ल्याई सेवामा सुधार गरिँदै आएकोमा पुरानै अवस्थामा फर्काउने खेलमा वर्तमान गठबन्धन सरकार रहेको एमाले मकवानपुरको विज्ञप्तिमा भनिएको छ । विगतमा ५० शैयाको हेटौंडा अस्पताल प्रतिष्ठानमार्फत् गएपछि एमाले नेतृत्वको सरकारकै पहलमा हाल ३०० बेडको सुविधासम्पन्न अस्पतालमा परिणत गरिएको थियो ।

हालको सरकारले नियमित रुपमा सञ्चालन भइरहेको र प्रदेशको गौरवको रुपमा विकास हुँदै गएको उक्त प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई उपलब्ध गराउनुपर्ने तलब सुविधा कटौती गर्दै २ सय १४ भन्दा बढी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई जागिरबाटै निकाल्ने, बजेट कटौती गरेर अस्पतालको सेवा प्रभावित बनाउने तथा अति महत्वपूर्ण स्वास्थ्य संस्थालाई तहसनहस बनाउने उद्देश्यले जनभावना विपरित काम गरिरहेको भन्दै एमाले मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य जस्तो संवेदनशील विषयमा सबैको अभिभावक बन्नु पर्ने सरकार नै नागरिकहरुको स्वास्थ्यमा खेलबाड गरिरहेको एमालेको जिकिर छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*