कुवेतविरुद्ध सान्त्वना गोल गरेका अञ्जन कीर्तिमान नजिक

साझाकुरा
२०८० असार ७, बिहीबार ११:११

हेटौंडा-नेपाल भारतमा बुधवारबाट सुरु १४ औँ साफ च्याम्पियनसिप फुटबलमा कुवेतसँग पराजित भएको छ ।भारतको बैंग्लोरस्थित श्रीकान्तिराभा रंगशालामा नेपाल कुवेतसँग ३–१ गोलले स्तब्ध बनेको हो । पहिलो हाफमा नै दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल खाँदा एक गोल गरेको थियो । नेपालका लागि हेटौंडेली फुटबल स्टार अञ्जन विष्टले सान्त्वना गोल गरे । अन्जनले नेपालका लागि गोल फर्काएपनि नेपालले त्यसपछि गोल गर्न नसक्दा नतिजा बदल्न सकेन । अनन्तको लामो पास कुवेतको डिफेन्सले क्लियर गर्न नसक्दा अन्जनले बललाई अघि बढाउँदै फिनिस गरेका थिए ।

अन्जनको राष्ट्रिय टोलीबाट कुवेतविरुद्धको गोल व्यक्तिगत १२ औं गोल पनि हो ।साफको पहिलो खेलको २३ औँ मिनेटमा खालिद इल इब्राहिमले गोल गर्दै कुवेतलाई अग्रता दिलाए । ४१ औँ मिनेटमा शाबिब अल खाल्दीले गोल गरेपछि कुवेतविरुद्ध नेपाल२–० ले पछि परेको थियो । खेलको ६५ औँ मिनेटमा डीबक्सभित्र अनन्त तामाङले ह्यान्ड गरेपछि कुवेतले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट मोहम्मद अब्दुल्लाह बहमले गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाएका हुन् । खेलको ६८ औँ मिनेटमा अन्जन विष्टले उत्कृष्ट गोल गरे । योसँगै नेपालले ३–१ को अवस्था बनायो । तर, बाँकी समयमा नेपालले गोल फर्काउन नसक्दा ३–१ गोलले हारेको हो ।

समूह ‘ए’मा आयोजक भारतसँगै नेपाल, पाकिस्तान र आमन्त्रित देश कुवेत रहेका छन् । नेपाल कठिन समूहमा परेको हो । समूह ‘बी’ मा आमन्त्रित देश लेबनानसँगै माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । आफ्नो दोस्रो खेल आयोजक भारतसँग २४ जुनमा प्रतिस्पर्धा गर्ने नेपालले जुन २७ तारिखमा समूह चरणको अन्तिम खेल पाकिस्तानसँग खेल्नेछ । जुलाई १ तारिखमा सेमिफाइनलका खेल हुँदा ४ जुलाईमा फाइनल खेल हुनेछ ।

बुधवार कुवेतविरुद्धको खेलमा प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले हेटौंडाका अञ्जनलाई फर्वाड र बिमल पाण्डेलाई डिफेन्डरमा खेलाए । विंगमा खेलेका मनिष डाँगीसहित गोलरक्षकमा कप्तान किरण चेम्जोङ थिए । डिफेन्समा विमल पाण्डे लेफ्ट ब्याक, सनिश श्रेष्ठ राइट ब्याक तथा अनन्त तामाङ र रोहित चन्दले सेन्टर डिफेन्स सम्हाले । मिडफिल्डमा पुजन उपरकोटीलाई एरिक विष्ट र लाकेन लिम्बुले साथ दिए । आक्रमणमा अन्जन विष्ट र मनिष डाँगीले नवयुग श्रेष्ठसँग खेलेका थिए ।

कुवेत र लेबनानले १४ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आमन्त्रित देशको रुपमा प्रतिस्पर्धा गर्न लागेका हुन् । साफले पहिलो पटक आमन्त्रित
राष्ट्रसहित प्रतियोगिताको आयोजना गर्न लागोको हो । साफ च्याम्पियनसिपमा सबैभन्दा बढी उपाधि भारतले जितेको छ । भारतले अहिलेसम्म सर्वाधिक आठ पटक उपाधि जित्दा नेपाल भने उपाधिविहीन छ । यसअघि माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो । तर, फाइनलमा भारतसँग नेपाल ३–० गोलले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो ।
कीर्तिमान नजिकै अन्जन
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रभावशाली स्ट्राइकर अन्जन विष्टले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो गोल संख्या १२ पु¥याएका छन् ।भारतमा जारी साफ च्याम्पियनसिपको बुधबार भएको नेपालको पहिलो खेलमा कुवेतविरुद्ध गोल गर्दै अन्जन सर्वाधिक अन्तर्राष्ट्रिय गोलको राष्ट्रिय कीर्तिमान बराबरी नजिक पुगेका हुन् । हरि खड्का र निराजन रायमाझीले नेपालका लागि समान १३ गोल गरेका थिए । हरिको कीर्तिमानलाई निराजनले सन् २००८ मा बराबरी गरेका थिए । हरिले २० वर्षअघि बनाएको कीर्तिमान अझै तोडिन सकेको छैन । सन् २०१९ मा चाइनिज ताइपेईविरुद्ध दुई गोल गरेर सिनियर अन्तर्राष्ट्रिय फुटबलमा गोलको खाता खोलेका अन्जन त्यसयता लगातार लयमा छन् ।

गत सेप्टेम्बरमा बंगलादेशसँग भएको मैत्रिपूर्ण खेलमा नेपाल ३–१ गोलले विजयी हुँदा सबै गोल अन्जनले गरेका थिए । त्यसको दुई महिनापछि पाकिस्तानसँग भएको मैत्रिपूर्ण खेलमा नेपाल १–० गोलले विजयी भएको थियो, अन्जनकै निर्णायक गोलमा । अन्जनले सन् २०१९ मा २, सन् २०२१ मा ५, सन् २०२२ मा ४ गोल गरेका थिए भने सन् २०२३ मा पहिलो गोल गरेका हुन् । अन्जनले गोल गरेपनि बुधबारको खेलमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भयो । अन्जनले अघिल्ला ४ खेलमा गोल गर्न सकेका थिएनन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*