विपद्जन्यको जोखिममा बागमती सरकारले कसरी गर्दैछ पूर्वतयारी ?
हेटौंडा- बर्खायाम सुरु भएसँगै विपद्जन्य घटनाको जोखिम सुरु भएको छ । हरेक वर्ष बागमती प्रदेशका विभिन्न स्थानमा आएको पहिरो, डुबान तथा चट्याङले धनजनको क्षति हुने गरेको छ । यो वर्ष पनि वर्षा सुरु भएसँगै विपपद्का घटनाको जोखिम पनि बढेको छ । बागमती प्रदेशको प्राकृतिक हिसाबले देशकै उच्चजोखिममा रहेको सिन्धुपाल्चोक, केन्द्रीय राजधानी काठमाडौं, प्रदेश राजधानी मकवानपुर, काभ्रे, चितवन र धादिङलगतायतको जिल्लाको विभिन्न स्थानमा डुवान तथा पहिरोको समेत जोखिम छ ।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको जानकारीअनुसार गतवर्ष २०७८÷७९ मा उपत्यकाको तीन जिल्लाबाहेक प्रदेशको १० जिल्लामा विभिन्न प्रकारको विपद्मा परी एकसय २३ जनाको मृत्यु भएको थियो । तीमध्ये सबैभन्दा धेरै पहिरोमा परेर मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले ७१ जनाको डुबेर, बगाएर तथा बाढीमा परेर मृत्यु भएको जानकारी दिए । उनले एकसय ८३ जना घाइते र १४ जना बेपत्ता भएको बताए ।
त्यस्तैगरी, ९० वटा पक्की, ४ सय ६७ वटा कच्ची घर तथा ९९ गोठमा पनि विपद्ले क्षति पु¥याएको थियो । सापकोटाले विपद्का विभिन्न घटनामा परेर प्रदेशभरिमा २८ सय २७ पन्छी तथा चौपायाको मृत्यु भएको तथा ७८ चौपाया घाइते भएको जानकारी दिए । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि बागमती प्रदेश सरकारले ६२ अर्व ७० करोड ९० लाख रुपैयाँको बजेट ल्याइसकेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले बागमती प्रदेशको विभिन्न जिल्लासहित देशैभरि मेघ गर्जनसहित भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।
के के छन् पूर्वतयारी ?
मन्त्रालयको प्रवक्ता सापकोटाका अनुसार सरकारले विपद्का घटना हुन नदिन मनशुनको पूर्वतयारी प्रतिकार्य योजना २०८० निर्माणको मस्यौदा अन्तिम चरणमा पुगेको बताए । उनले विपिआरपी बनाउन लागेको साथै तीन जिल्लाको उपत्यकाबाहेक जोखिमयुक्त १० वटा जिल्लालाई विपद्को घटना भइसकेपछि उद्दार गर्न र विपद्बाट पीडित बनेकालाई राहत वितरण गर्न प्रदेश सरकारले १ करोड बराबरको १०÷१० लाख रकम पठाईसकेको जानकारी दिए । विपद् न्युनीकरणको लागि भन्दै प्रदेश सरकारले जिल्लास्थित विपद् व्यवस्थापन समितिलाई उक्त रकम पठाएको हो । सुरक्षा निकायलाई पनि तयारी अवस्थामा रहन जानकारी गराईसकेको प्रवक्ता सापकोटाको भनाई छ ।
उनले जोखिममा रहेकालाई स्थानान्तरण गर्न र उनीहरुको विपद् आउनुअघि नै उद्दार गर्न प्रदेश सरकारको एकल प्रयासले केही नहुने बताए । प्रदेशको केही स्थानमा विपद्को जोखिम भए पनि त्यहाँका बासिन्दालाई अन्यत्र स्थानान्तरण गर्न जग्गा अभाव भएको उनको भनाइ छ । केन्द्र सरकारले बागमती प्रदेशको सिन्धुपाल्चोक, दोलखा, मकवानपुर र नुवाकोट सबैभन्दा धेरै जोखिमको सम्भावना भएको क्षेत्र भएको उल्लेख गरेको छ ।
आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको प्रदेश सरकारले विपद् व्यवस्थापनतर्फ भने बजेट उल्लेख गरेको छैन । प्रदेश सरकारले विपद् व्यवस्थापनलाई प्रदेशको शासन व्यवस्थामा आन्तरिकी करण गर्दै लागिने छ भनेर उल्लेख गरिएको छ । विपद् व्यवस्थापन सम्बन्धी क्रियाकलापको प्रभावकारी रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न विषयगत मन्त्रालयको संरचना सुधार गर्ने र विपद् जोखिम न्युनीकरणलाई जीवन पद्धतिको अभिन्न अंगको रुपमा स्थापित गर्न आवश्यक सञ्चालन गर्ने जनाएको छ ।
मकवानपुर जिल्लामा छैन पूर्वतयारी
मकवानपुरको १० वटा स्थानीय तहमध्ये राक्सिराङ, कैलाश, बकैया र इन्द्रसरोबर गाउँपालिका विपद्को जोखिम क्षेत्र हो । गत वर्ष २०७८÷७९ मा मात्रै मकवानपुरमा बाढीपहिरोका कारण २८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चालु आर्थिक वर्ष चैत मसान्तसम्म २१ जनाको बाढीपहिरोमा मृत्यु
भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । अविरल वर्षाका कारण मकवानपुरका जोखिमयुक्त गाउँपालिकाका स्थानीय तहले भने पूर्वतयारी नगरेको पाइएको छ ।
मकवानपुर जिल्लाको विकट राक्सिराङ गाउँपालिकाले मात्रै पूर्वतयारी गरेको पाइयो । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुरमार मल्लका अनुसार विपद्को पूर्वतयारीका लागि स्वंयमसेवकहरु तयारी अवस्थामा बसिसकेको बताए । उनले गाउँपालिकाको प्रत्येक वडामा १०÷१० जना स्वयंमसेवकलाई तालिम दिएर विपद्को सामग्रीसहित पठाएको जानकारी दिए । उनका अनुसार गाउँपालिकाले विपद्मा राहत वितरण गर्नुका साथै आवश्यक सामग्रीहरु खरिद गरिसको जानकारी दिए ।
बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले भने विपद्को पूर्वतयारीका लागि छलफलमै रहेको जानकारी दिए । त्यसैगरी कैलाश गाउँपालिकाका अध्यक्ष लोक मोक्तानले पनि छलफलमै रहेको र अहिले बजेटको तयारीमा रहेको हुँदा बजेटको कार्यक्रम सकिने बित्तिकै तयारी गर्ने बताए । इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देबकृष्ण पुडासैनीले पनि छलफलमै रहेको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले विपद् हुन नदिन १० वटै स्थानीय तहलाई जानकारी गराइसकेको
बताए । उनले बर्खायाममा विपद्को जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय तह र सरोकारवालासँग समन्वय भइरहेको जानकारी दिए । सहायक सिडियो शर्माका अनुसार नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई पनि तयारी अवस्थामा रहन जानकारी गराएको बताए ।