आज तीन पालिकाले बजेट, चार पालिकाले नीति कार्यक्रम ल्याउँदै, बागमती छलफलमै

मकवानपुरमा बजेटको चटारो
प्रतिक्षा न्यौपाने
२०८० असार १०, आईतवार ११:४८

हेटौंडा- मकवानपुरका स्थानीय तह बजेटको चटारोमा छन् । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि जिल्लाका हेटौंडा उपमहानगरपालिकाले २ असारमै र राक्सिराङ गाउँपालिकाले शनिवार बजेट ल्याइसकेका छन् । बाँकी ८ स्थानीय तह नीति तथा कार्यक्रम र बजेट ल्याउने तरखरमा छन् । संविधानतः १० असारसम्म स्थानीय तहले नीति तथा कार्यक्रम ल्याइसक्नु पर्ने र ३० असारभित्र बजेट प्रस्तुत गरेर पास गरिसक्नुपर्ने व्यवस्था छ ।

जसअनुसार मकवानपुरमा आज १० असार आइतबार चार पालिकाले नीति तथा कार्यक्रम मात्रै र तीन पालिकाले नीति, कार्यक्रमसँगै बजेट नै ल्याउँदैछन् । गत बिहीवार नीति, कार्यक्रमसँगै आर्थिक र विनियोजन विधेयक पारित गरेको कैलाश गाउँपालिकाले आज बजेट ल्याउन लागेको छ ।

नीति कार्यक्रम र बजेट आज एकै पटक ल्याउनेमा थाहा नगरपालिका र भीमफेदी गाउँपालिका रहेको छ । बाँकी मकवानपुरगढी, इन्द्रसरोबर, मनहरी र बकैया गाउँपालिकाले आज आइतबार नीति तथा कार्यक्रम मात्रै ल्याउँदै छन् । जिल्लाको पश्चिमी क्षेत्रस्थित बागमती गाउँपालिकाले भने नीति तथा कार्यक्रमसमेत नल्याउने भएको छ । नीति, कार्यक्रम र बजेटका सम्बन्धमा छलफल नै जारी रहेकाले आज आइतबार कार्यक्रम नरहेको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले जानकारी दिए । ३ नम्बर वडाअध्यक्ष कमानसिं पाख्रिनले पनि छलफलमै रहेकाले नीति, कार्यक्रम र बजेट आउन ढिलाई हुने बताए ।

थाहा नगरपालिका, कैलाश र भीमफेदीको बजेट घटेर आउने जनाइएको छ । संघीय सरकार र प्रदेश सरकारको अनुदान बजेट पनि घटेर आएको र आन्तरिक स्रोत खुम्चिएका कारण गाउँपालिकाको बजेट घट्ने सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले जानकारी दिएका छन् । थाहाका नगरप्रमुख विष्णुबहादुर विष्टले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिएर नीति, कार्यक्रमसँगै बजेट पनि ल्याउन लागेको बताए । उनका अनुसार थाहाको बजेट ९६ करोड मात्रै हुनेछ । भीमफेदीका अध्यक्ष हिदम लामाले बजेट घटाएर ल्याउन लागेको जानकारी दिए । उनले कृषि, पूर्वाधार, शिक्षा र पर्यटनमा प्राथमिकता दिने बताए ।

कैलाश गाउँपालिका अध्यक्ष लोक मोक्तानले पनि पूर्वाधार, कृषि, शिक्षामा प्राथमिकता दिएर बजेट बिनियोजन गरिने बताए । कैलाश गाउँपालिका जिल्लाकै विकट स्थानीय तह पनि हो । गाउँपालिकाले गाउँबासीको आधारभूत आवश्यकताका विषयलाई बढी जोड दिने अध्यक्ष मोक्तान बताउँछन् ।मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष दोर्जे लामा स्याङ्तानले आइतबार नीति कार्यक्रम मात्रै ल्याउने र कृषि, शिक्षा, पूर्वाधार, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता दिइएको जानकारी दिए । मकवानपुरगढीले २५ असारमा बजेट प्रस्तुत गर्ने भएको छ ।

इन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले २३ असारमा बजेट प्रस्तुत गर्ने र आज नीति, कार्यक्रम मात्रै ल्याउन लागेको बताए । उनका अनुसार इन्द्रसरोबरको बजेट पनि घटेर ल्याउने र प्राथमिकतामा कृषि, पूर्वाधार, शिक्षा र स्वास्थ्य रहेको छ । बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले कृषि क्षेत्र र पूर्वाधारलाई प्राथमिकता दिएर नीति, कार्यक्रम ल्याउन लागेको बताए ।

मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले आज नीति, कार्यक्रम मात्रै ल्याउन लागेको जानकारी दिए । २५ असारभित्र बजेट प्रस्तुत गरिसक्ने बताउँदै कालाखेतीले प्राथमिकतामा कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार रहेको बताएका छन् । स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम स्थानीय तहले असार १० भित्र आगामी आवको नीति तथा कार्यक्रम र बजेट गाउँ÷नगरसभामा पेस गर्नुपर्छ । बजेटमा गत आवको राजस्व र व्ययको यथार्थ विवरण, चालु आवको अन्तिमसम्ममा हुने आम्दानी र खर्चको संशोधित अनुमान तथा आगामी आवको योजना तथा कार्यक्रम र आय व्ययको अनुमानित विवरण समावेश गर्नुपर्छ ।

स्थानीय तहले आन्तरिक राजस्व र आयबाट प्राप्त रकम, राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान लगायतका आधारमा वार्षिक बजेट निर्माण गर्नुपर्दछ । योजना निर्माणका विभिन्न तह पार गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने अन्तिम तयारीमा जुटेका स्थानीय तहको बजेट केही कटौती हुने भएको हो । संघ र प्रदेशबाट प्राप्त हुने अनुदान खुम्चिएको र आन्तरिक आम्दानीको स्रोत परिचालन कमजोर बनेपछि संघ र प्रदेश सरकारको जस्तै यहाँका सबै जसो स्थानीय तहको बजेटको आकार घट्ने निश्चित भएको छ । स्थानीय तहको आगामी आवको बजेट चालु आवको तुलनामा १० प्रतिशतको हाराहारीमा बजेटको आकार घट्ने आंकलन स्थानीय तहका पदाधिकारीहरुको छ ।

हेटौंडा उपमहानगरपालिकाले संघ र प्रदेशबाट आउने अनुदानसँगै आन्तरिक स्रोत घटेको भन्दै चालु आवको तुलनामा घटाएर आगामी आवको बजेट ल्याएको थियो । आगामी आवका लागि हेटौँडा उपमहानगरपालिकाले दुई अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँको बजेट ल्याएको थियो । यो चालु आवको बजेटको तुलनामा हेटौंडा उपमहानगरको बजेट ११ करोड रुपैयाँले कम हो । स्थानीय तहको आगामी आवको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकता विगत वर्षमा झैँ मूलतः कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य र पर्यटन नै पर्ने भएको छ ।

राक्सिराङ गाउँपालिकाले पनि शनिवार ९ असारमा करिब १० करोड बजेट कटौती गर्दै ५७ करोड ८८ लाख ९७ हजार १ सय ९७ रुपैयाँको आयव्यय सार्वजनिक गरेको छ । शनिबार भएको गाउँसभाको १४ ओैं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले आगामी वर्षको आम्दानी र खर्चको अनुमान गाउँसभामा पेश गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*