खेलाडी उत्पादन गर्दै बागमती सरकार

साझाकुरा
२०८० असार १२, मंगलवार १०:२१

हेटौंडा- खेलाडीको प्रदर्शन र क्षमताको आधारमा कुनै देशले खेलकुदमा गरेको लगानीको मापन हुन्छ । सवल, सक्षम र योग्य खेलाडी उत्पादन गर्ने सरकारको दायित्व हो । यो दायित्वलाई आत्मसात गर्दै बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सक्षम, योग्य र सवल खेलाडी उत्पादनलाई जोड दिएको छ ।

शिक्षा, युवा, रोजगार र खेलकुदमा काम गर्दै आएको सामाजिक विकास मन्त्रालयले खेलाडी उत्पादनलाई समेत प्राथमिकता राखेको छ । खेलकुद नीतिको अभाव र निषेधको राजनीतिका कारण खेल क्षेत्रको विकास हुन नसकिरहेको समयमा बागमती सरकारले खेलाडी उत्पादनलाई महत्वका साथ हेरेको छ । सक्षम खेलाडी उत्पादन गरी राष्ट्रियरुपमा प्रतिष्पर्धा गराउने उदेश्यले सामाजिक विकास मन्त्रालयले राष्ट्रियस्तरको खेल प्रतियोगिताहरु सञ्चालन गर्दै आईरहेको छ ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले चालु आर्थिक वर्ष २०७९÷८० मा १ सय भन्दा बढी ठुला साना खेलकुद प्रतियोगिता सम्पन्न गरिसकेको छ । जुन प्रतियोगिताले बागमती प्रदेशमा दुई सय भन्दा नयाँ खेलाडी उत्पादन गर्न सफल भएको छ । गण्डकी प्रदेशमा आयोजना भएको नेपाली खेलकुदको कुम्भमेला नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएको बागमती प्रदेशले विभिन्न विधाका प्रतियोगितामा १ सय ४५ पदक जित्न सफल भएको थियो ।

११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा ३६ खेल समावेश गरिएको थियो । उक्त प्रतियोगिताका लागि बागमती प्रदेशले ‘क्जोज क्याम्प’ नै राखेर प्रतियोगितामा सहभागी गराइएको प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए । जसकारण बागमतीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सकेको थियो । प्रतियोगितामा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको ५ करोड लागतमा खेलाडीले प्रतियोगितामा सहभागी जनाएको सदस्यसचिव भण्डारीले बताए ।

प्रदेश सरकारले नै आयोजना गरेको राष्ट्रपति रनिङ्शील्ड छनोट प्रतियोगितामा राष्ट्रियसतरको सहभागिता रहेको थियो । संघीय सरकारको ८१ लाख र प्रदेश सरकारको ३० लाख गरी करिव १ करोड १६ लाख लागतमा प्रतियोगिता भएको थियो । त्यसैगरी, बागमती सरकारले नै आयोजना
गरेको दास्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाका १ हजार ४ सय २७ पुरुष र १ हजार ७५ महिला खेलाडीले सहभागिता जनाएका थिए ।

सामाजिक विकास मन्त्रालयकै ९ करोड ४२ लाख लागतमा गरिएको प्रतियोगितामा प्रदेशका खेलाडी स्वीमिङ् र एथलेटिक्स्मा राष्ट्रियस्तरकै रेकर्ड ब्रेक गरेको सदस्यसचिव भण्डारीले जानकारी दिए । ‘प्रदेश खेलकुद प्रतियोगितामा उत्कृष्ट खेलाडी सहभागी भएका थिए । सहभागी केही खेलाडीले त रेकर्ड नै ब्रेक गरेको छ,’ उनले भने, ‘प्रदेशमा खेलकुद प्रतियोगिताहरु हुँदा राम्रा खेलाडी उत्पादन भएको छ ।’

प्रदेशकै आयोजनामा अल नेपाल नोभिस बक्सिङ प्रतियोगितामा पनि भएको थियो । प्रतियोगितामा सामाजिक विकास मन्त्रालयको
करिव ३५ लाख लागतमा प्रदेशका १३ वटै जिल्लाका २ सय ५० जना खेलाडीले भाग लिएका थिए । सरकारकै ३० लाख लगानीमा साहसिक तथा पर्यटकीय खेलकुद प्रतियोगितामा राष्ट्रियस्तरको पोखरामा राफ्टिङ् र दोलखामा रेस्लिङ् (महिला पुरुष)आयोजना गरिएको थियो । प्रदेश सरकारले खेलाडी उत्पाद गर्न खेल प्रतियोगिता मात्रै हाईन उनीहलाई क्षमता बृद्धि गर्नसमेत तालिम पनि दिदै आएका छन् ।

प्रदेश खेलकुद परिषद्ले कराते खेलाडीलाई नयाँ टेक्नोलोजी र अहिलेको नियमअनुसार खेल्न तालिम दिएको छ । सामाजिक विकास मन्त्रालयको १० लाख लागतमा करिव २ सय ७० जना कराते खेलाडीले तालिम लिएका छन् । प्रदेश सरकारले खेलाडीलाई मात्रै नभई तालिम रेफ्रि तथा प्रशिक्षकलाई समेत दिएको छ ।

१५ लाख लागतमा सरकारले ५५ जना एथ्लेटिक्सका रेफ्रि तथा प्रशिक्षकलाई तालिम दिएको हो । प्रदेश खेलकुद परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोता हुँदा सहभागीका लागि खेलाडीको माग आउँदा प्रदेश खेल खेलेको खेलाडीलाई छनोट गरी पठाउने गरेका सदसय सचिव भण्डारीले जानकारी दिए । उनका अनुसार खेलकुद परिषद्ले खेल र तालिम मात्रै नभई सामाजिक विकास मन्त्रालयको सहयोगमा सिन्धुली, काभ्रे, धादिङमा खेलकुद कार्यालय भवन निर्माण गरेको छ ।

सामाजिक विकास मन्त्रालयको २१ करोड लागतमा चालु आर्थिक वर्ष २०८९÷८० मा विभिन्न खेल प्रतियोगिता सम्पन्न गरेको प्रदेश खेलकुद परिषद्ले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने र त्यसका लागि सरकारले ६ करोड बजेट छुट्याएको सदस्यसचिव भण्डारीले बताए । उनले प्रदेशमा अझै राम्रो खेलाडी उत्पादन गर्नका निम्ति आगामी वर्षमा जिल्ला जिल्लामा पुुगेर खेल प्रतियोगितामा सहभागी भई राम्रो खेलाडी छनोट गर्ने बताए ।

सामाजिक विकासमन्त्री कुमारी मोक्तानले चालु आर्थिक वर्ष सम्पन्न भएको खेलको छुट्टै महत्व रहेको बताइन् । खेल प्रतियोगिताबाट बागमती प्रदेशको जिल्ला तहदेखि छनोट भएर प्रदेश र त्यसपछि राष्ट्रियस्तरका सहाभागी हुँदा प्रदेशकै नाम राख्ने बताइन् । ‘यो वर्ष जतिपनि ठुला खेल प्रतियोगिता भयो त्यसले छुट्टै महत्व राखेको छ । जिल्लादेखि छनोट भएर आएका खेलाडी प्रदेश खेल प्रतियोगिता खेल्दै राष्ट्रिय खेल खेल्न समेत सहभागी भएका छन्,’ मन्त्री मोक्तानले भनिन्, ‘यसैले पनि प्रदेशले खेलाडी उत्पादनमा के गर्न सक्यो भनेर देखाएको छ ।’

मन्त्री मोक्तानले आगामी वर्षमा पनि खेलाडीलाई प्रोत्साहन गर्न खेलकुद विकासका लागि कार्यक्रमहरु आयोजना गरिने बताइन् ।बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ मा खेलाडी उत्पादन गर्न विभिन्न कार्यक्रम अघि सारेका छन् । आगामी आर्थिक वर्ष २०८०÷०८१ लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले खेलकुद क्षेत्रसमेत हेर्ने सामाजिक विकास मन्त्रालयको लागि ४ अर्ब ६२ करोड १७ लाख विनियोजन गरेको छ ।

प्रदेश सरकारले खेल संस्कृतिको विकास गरी युवाहरुमा देशप्रेम र सामाजिक अनुशासनको भावना विकास गर्दै लगिनुका साथै व्यवसायिक खेलाडीको उत्पादन गर्न खेलकुद पूर्वाधार र खेलमा लगानी अभिवृद्धि गर्दै जाने नीति लिएको दाबी गरेको छ । विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्न तथा स्थानीयस्तरमा खेलकुद र खेलाडीलाई प्रोत्साहन गर्न आवश्यक बजेट विनियोजन गरिएको भनेपनि रकम तोकिएको छैन ।

निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणकार्य सम्पन्न गर्न ५ करोड विनियोजन गरेको छ । प्रदेश भित्रका रंगशाला, कभर्ड हल र खेलमैदान लगायतका खेलकुद पूर्वाधार निर्माणका लागि मात्रै प्रदेश सरकारले ३६ करोड १० लाख बजेट विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*