लागूऔषधको हव नबनोस्

साझाकुरा
२०८० असार १३, बुधबार ०९:१६

बागमती प्रदेशको राजधानी सहर हेटौंडा दिनप्रतिदिन लागूऔषध कारोवारीका लागि हव बन्दै गएको छ । हेटौंडामा सोमबार बिभन्न गैरसरकारी संस्थादेखि लागूऔषध दुव्र्यसनको रोकथाम र नियन्त्रणमा काम गर्दै आइरहेका संघसंस्थाले लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध बहस गरिरहेका थिए । तर, यता बहस चलिरहँदा हेटौंडाको विभिन्न ठाउँबाट एकैदिन ६ जना लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । मकवानपुरमा लागूऔषध प्रयोगकर्ताहरु निरन्तर बढिरहेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाइरहेका छ । युवाहरु लागूऔषध दुव्र्यसनीमा फसिरहेका मात्रै छैनन्, छिटो धनी बन्ने महत्वकांक्षाले उनीहरु ओसारपसारमा पनि संलग्न भएपछि जेलको नारकीय जीवन बिताउन बाध्य भएका छन् । लागूऔषध प्रयोग गर्न नहुने र ओसारपसारमा पनि नियन्त्रण गर्नुपर्ने विषयमा बहस भयो र भइरहन्छ पनि ।

हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसको रुपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को १ सय १२ खण्डमा यो निर्णय उल्लेख गरिएको छ । त्यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो । तर, प्रहरीले भने हेटौंडा–१० बसर्पाकदेखि ८ नम्बर वडाको कमानेसम्म गरेर ६ जनालाई एकैदिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा ५९ जना थुनुवा छन् । जसमध्ये करिब २२ जना लागूऔषध मुद्दाका छन् । थुनुवामा सोमबार मात्रै थप ६ जना थपिएका थिए । मकवानपुर प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भीमफेदी कारागारमा रहेका कैदीबन्दीमध्य आधाजसो लागूऔषधसँग सम्बद्ध छन् ।

हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट १४ किलो गाजाँसहित २ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लियो । प्रहरीचौकी बसपार्कको प्रहरी टोलीले गस्ती गर्दै जाँदा बसपार्कस्थित बीरगञ्ज जाने काउण्टर नजिकै शंकास्पद रुपमा बसिरहेको अवस्थामा उनीहरुलाई जाँच गर्ने क्रममा उनीहरुले झोलामा बोकेको अवस्थामा १४ किलो लागूऔषध गाँजा फेला पारिएको प्रहरीले जनाएको छ । गाँजा बरामदसँगै दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैगरी मकवानपुर प्रहरीले ३० एम्पुल लागुऔषध डाईजेपामसहित १ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले हेटौंडा–१५ रातोमाटेस्थित सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा बीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको माईक्रो बसका यात्रुलाई शंका लागि जाँच गरेको थियो । लुकाएर ल्याएको अवस्थामा लागूऔषध डाईजेपाम १० एम्पुल, फेनार्गन १० एम्पुल, ब्युनोर्फीन १० एम्पुल फेला परेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले कमानेस्थित एक घरमा चेकजाँच गर्दा कोठाको दराजबाट खैरो हिरोईन २५ ग्राम, जोख्ने काँटा, नगद ५ हजार र ५ थान मोवाइल बरामद गरिएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । लागूऔषध सहित ३ जनालाई नै नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । भारतीय सीमानाका रक्सौलबाट सजिलै खरिद गर्न सकिने लागूऔषधका लागि हेटौंडाका युवा त्यसतर्फ जाने गरेको प्रहरीले बताएको छ । सम्पन्न परिवारका युवापुस्ता कुलतको सिकार भइरहेका छन् । त्यसले हेटौंडालाई लागूऔषध कारोबारको हव नबनाउला भन्न सकिन्न ।

यसमा तपाइको मत

Your email address will not be published.


*