संरक्षित पूँजीफिर्ता कोषबाट पालुङ बहुउद्देसीयका सदस्य लाभान्वित

साझाकुरा
२०८० असार १३, बुधबार १६:५५

हेटौंडा- पालुङ बहुउद्देसीय सहकारी संस्थाले संरक्षित पुँजीफिर्ता कोषबाट सदस्यहरुलाई ७६ लाख ६० हजार रुपैयाँ फिर्ता गरेको छ ।सहकारी सिद्धान्त तथा मूल्य, मान्यताबाट संचालित मकवानपुर जिल्लाकै उत्कृष्ठ सहकारी संस्था पालुङ बहुउद्देसीय सहकारी संस्थाले आर्थिक बर्ष २०७८÷७९ को नाफाबाट छुट्याएको संरक्षित पुँजी फिर्ता कोषमा रहेको ७६ लाख ६० हजार ६ सय ५५ रुपयाँ बाँडफाँड गरेको विज्ञप्तीमार्फत् जानकारी दिएको छ । सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरुप सदस्यहरुले जम्मा गरेको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा रकम बाँडफाँड गरेको संस्थाले जनाएको छ ।

संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम सम्बन्धित सदस्यको सहकारी संस्थामा रहेको बचत खातामा जम्मा गरिएको संस्थाका कार्यबाहक अध्यक्ष अरुण रायमाझीले बताए । उनकाअनुसार बचत र कर्जा कारोबार गर्ने ७ हजार ५ सय ५८ सदस्यहरु संरक्षित पूँजीफिर्ता कोषबाट लाभान्वित भएका छन् । पालुङ बहुउद्देसीय सहकारी संस्थाले थाहा नगरका बिभिन्न स्थानमा र हेटौंडामा सम्पर्क कार्यालयबाट सेवा प्रबाह गरिरहेको छ ।

बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचततर्फ १ लाख २ हजार ४ सय १३ रुपैयाँ तथा कर्जातर्फ ५९ हजार १ सय १६ रपैयाँसम्म प्राप्त गर्न सफल भएको संस्थाका मुख्य व्यवस्थापक प्रकाश पौडेलले बताए । ‘सर्वोकृष्ट दिगो सहकारी’ भन्ने परिकल्पनाका साथ यसअघि संस्थाले १८ प्रतिशत वार्षिक लाभांश वितरण गरेको थियो ।
हाल संस्थामा ६ हजार ५ सय भन्दा बढी सदस्य रहेका छन् । सहकारी संस्थामध्ये निरन्तर संरक्षित पूँजीफिर्ता कोषबाट सदस्यहरुलाई बचत र कर्जाको आधारमा रकम बाँडफाँड गर्ने मकवानपुरको पहिलो सहकारी संस्था हो ।

संस्थाले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पूँजीफिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी सदस्यलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरुमा समेत पालुङ बहुउद्देश्यीय सहकारी संस्थाबाट उच्च कारोबार गरी संरक्षित पूँजीफिर्ता कोषबाट लाभ लिनुहुन समेत विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*