मुख्यमन्त्रीको जिल्लाबासी किसानद्वारा हेटौंडामा नाराबाजी

साझाकुरा
२०८० असार १४, बिहीबार ०८:२२

हेटौंडा- मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृहजिल्ला धादिङका किसानले हेटौंडा आएर विरोध प्रदर्शन गरेका छन् ।प्रदेश सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाउँदै धादिङबासी किसानले मंगलबार हेटौंडा–१०, स्थित प्रदेशसभा भवनमा विरोध प्रदर्शनसहित धर्ना दिएका हन् । उनीहरुले नाराबाजीसमेत गरेका थिए । सम्भवतः बाहिरी जिल्लाबाट किसानहरु आएर हेटौंडामा प्रदेश सरकारविरुद्ध विरोध प्रदर्शन गरेको पहिलो पटक हो । मुख्यमन्त्री जम्कट्टेलकै जिल्लाबासी किसानको पीडा हेटौंडामा पोखिँदा अन्य जिल्लामा बिनियोजित बजेटको अवस्थाबारे सहजै आंकलन गर्न सकिने विपक्षी दलले आरोप लगाएका छन् ।

‘बजेटको ढाडु, पन्यौं आफ्नै हातमा भएको मुख्यमन्त्रीको जिल्लाकै किसानको अवस्था त हेटौंडा आएर विरोध गर्नुपर्ने छ । यसलाई नै आधार मान्दा पनि अन्य जिल्लामा बजेट कसरी बिनियोजन भएको छ भनेर सहजै अनुमान लगाउन सकिन्छ,’ एमालेका एक सांसदले भने । सरकारमा बसेर किसानको पीडा सम्बोधन गर्न नसक्ने सरकारले नैतिक रुपमा सत्ता छोड्नुपर्ने सांसदहरुको आरोप छ । प्रदेशसभा भवन बाहिर धर्ना दिइरहेका धादिङका किसानलाई मुख्यमन्त्री जम्कट्टेलले छलफलका लागि बोलाएका थिए ।

धादिङका किसानले बाँदर आतंक नियन्त्रण गर्न कुनै योजना र बजेट व्यवस्था नगरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् । धादिङको नीलकण्ठ नगरपालिका सिद्धलेक गाउँपालिकालगायतका पालिकाबाट १ सय ५० जना भन्दा बढी किसानले बाँदर नियन्त्रण गर्न माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले किसान मार्न पाइँदैन, बाँदर पाल्न पाइँदैन, बादर आतंक बन्द गर, प्रदेश सरकार कहाँ छ ? बाँदरपीडित यहीँ छ जस्ता नारा लगाएका थिए । दुईवटा बस रिर्जभ गरेर हेटौंडा आइपुगेका ढेडसयको संख्यामा रहेका किसानले बाँदरले जनजीवनमा समस्या पार्दासमेत प्रदेश सरकार गम्भीर नबनेको गुनासो गरेका हुन् ।

धादिङको निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, ज्वालामुखी गाउँपालिकाका किसानले अन्तराष्ट्रिय कानून देखाएर बाँदर आतंक बन्द नगरेको भन्दै प्रदेशसभा भवन परिषरमा प्रर्दशन गरेका थिए । बाँदर आतंकको कारण ठुलो समस्या हुँदा पनि प्रदेश सरकार कानमा तेल हालेर बसेको पीडितको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*