झण्डै १० हजार मिटर नयाँ ट्रयाक, ५ हजार स्ल्याब ढलान

मनहरी गाउँपालिकाको एकवर्षे प्रगति समीक्षा
प्रतिक्षा न्यौपाने
२०८० असार १५, शुक्रबार ०९:५६

हेटौंडा- जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९÷८० को १० असारसम्म सडकको १० मिटर नयाँ ट्रयाक निर्माण गरेको छ ।जिल्लाका ८ स्थानीय तहमध्ये सबैभन्दा बलियो आर्थिक स्रोत भएको गाउँपालिकाको रुपमा रहेको मनहरीले पूर्वाधारतर्फ सडक निर्माणमा धेरै काम नयाँ ट्रयाक खोल्न गरेको पाइएको छ । सडक निर्माणमा स्ल्याब ढलान, ग्राभेल बाटो निर्माण, कालोपत्रे र नयाँ ट्रयाक खोलिएको हो । सबै विकासका क्षेत्रसँग जोडिन सडक निर्माणलाई सबै स्थानीय तहले प्राथमिकतामा राखेका छन् । मनहरीले पनि सडक निर्माणलाई प्राथमिकता दिँदै गत साउनदेखि १० असारसम्म सडकका चारै क्षेत्रमा प्राथमिकताका साथ काम गरेको हो ।

बिहीवार गाउँपालिका कार्यालयमा भएको जिल्लाका सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले गाउँपालिकाबाट चालू आवको १० असारसम्म सम्पन्न योजनाको विस्तृत जानकारी दिएका थिए । उनकाअनुसार गाउँपालिकाले ५ हजार १ सय ९७ मिटर स्ल्याब ढलान गरेको छ । ग्राभेल बाटो निर्माण ४ हजार २ सय १७ मिटर भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । उनले नयाँ ट्रयाक ९ हजार ५ सय ४७ मिटर थप भएको बताए । १ हजार ४ सय ५० मिटर सडक कालोपत्रे निर्माण गरिएको छ ।

गाउँपालिका कार्यालयले रिटेनिङ् वाल २ हजार ९ सय ७० मिटर, पक्की नाला निर्माण ५ सय ४६ मिटर, ग्याविन डयाम निर्माण ३ सय ५० मिटर, खानेपानी पाइपलाइन विस्तार ३ हजार २ सय मिटर, ट्युवेल घारा ५७ वटा, सार्वजनिक भवन र मर्मत सम्भार १५ वटा, कलर्भट तथा पुल निर्माण १० वटा, कक्पाउण्ड, तारजाली र काँडेतार ६ सय मिटर, घरनक्सा अभिलेखीकरण १ सय ५४ वटा, नयाँ घर नक्सा पास ८ वटा र १ सय ५४ कित्ता जग्गा नापी गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए ।

आर्थिक प्रशासन शाखाको तथ्यांकअनुसार गाउँपालिकाले चालू आवका लागि १ अर्ब ६४ लाख २५ हजार ७ सय ९ बजेट बिनियोजन गरेको थियो । १० असारसम्म पालिकाले ८३ करोड ३९ लाख ८६ हजार ३ सय ५१ अर्थात ८३ प्रतिशत आम्दानी गरेको जानकारी दिएको छ । खर्च ५६ करोड २८ लाख १२ हजार ५ सय ४९ रुपैयाँ अर्थात ५६ प्रतिशत गरेको जनाइएको छ । चालूतर्फ ३१
करोड ९३ लाख ४६ हजार ३६ अर्थात ६४ प्रतिशत र पुँजीगततर्फ २४ करोड ३४ लाख ६६ हजार ५ सय १३ अर्थात ४८ प्रतिशत बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जनाए । भौतिक पूर्वाधारको क्षेत्रमा २९ करोड ९२ लाख ५१ हजार बजेट बिनियोजन गरेर काम गरेको थियो ।

श्रेष्ठले शिक्षातर्फ बिनियोजित बजेट खर्च ८० प्रतिशत भएको बताए । कुल योजना २ सय ७४ वटामध्ये २ सय ५५ वटा सम्झौता भइसकेको गाउँपालिकाले जनाएको छ । पूर्वाधार शाखातर्फ ठेक्कामा सञ्चालित योजनाहरु कतिपय सम्पन्न भइसकेको बताउँदै श्रेष्ठले भने खानेपानीका कामहरु तीव्र गतिमा भइरहेको बताए । वडातहमा हुने स्वास्थ्य ईकाइका भवनहरु निर्माणको अन्तिम चरणमा रहेका छन् । १५ शैयाको मनहरी अस्पताल संघीय सर्शत बजेट रहेको तर, जग्गा प्राप्त नभएकाले कार्य अगाडि बढाउन नसकिएको जनाइएको छ ।

स्वास्थ्य क्षेत्रमा ओपिडी सेवा विस्तार मनहरी अस्पतालमा गरिएको भन्दै श्रेष्ठले भने गर्भवती, विद्यालय छात्रा, जेष्ठ नागरिक लक्षित स्वास्थ्य कार्यक्रम, आँखा सम्बन्धी कार्यक्रम, सुत्केरी भेटघाट कार्यक्रमहरु गर्दै आइरहेको बताए । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आर्थिक प्रशासनतर्फ गाउँपालिकालाई हालसम्म ८३ प्रतिशत कुल आम्दानी भएको बताए । उनले सामाजिक विकास शाखाअन्तर्गत भएका विभिन्न बालबालिका तथा महिला लक्षित कार्यक्रमको विवरण समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष अनन्तप्रकाश अर्याल, वडा नम्बर ९ का वडाअध्यक्ष राजकुमार श्रेष्ठले आफ्नो वडामा भएका विकास, सुशासन र विभिन्न विषयगत प्रगतिबारे जानकारी गराएका थिए ।

मनहरी भ्रष्टाचारमुक्त बनाउँछौंः कालाखेती
मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा गाउँपालिका कार्यालयको सहकार्यमा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार र अनियमितताप्रति आफू निकै सचेत रहेको भन्दै गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाइने प्रतिवद्धता जनाए ।अध्यक्ष कालाखेतीले गाउँपालिकाको केही कमी कमजोरीहरु भए औंल्याइदिन आग्रह गर्दै सच्चिएर अघि बढ्न तयार रहेको बताए । आफ्नो कार्यकालमा राम्रो काम गर्न प्रयत्न गर्ने र नराम्रो काम गर्न नदिने उनले
बताए । कर्मचारीले घुस लिएको, भ्रष्टाचार गरेको फेला परेमा ठाउँकोठाउँ कारबाही गर्ने बताएका छन् ।

केही समय अघि एक कर्मचारीलाई कारबाही गरिएको पनि उनले उल्लेख गरेका थिए । आफू पत्रकारिता क्षेत्रको प्रवद्र्धन र विकास गर्न सकारात्मक रहेको उनले बताए । स्वरोजगारमुलक मिडियाहरुको प्रवद्र्धनमा ध्यान दिने उनको भनाई छ । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला उपाध्यक्ष ध्रुव अधिकारीले आफ्नो भनाई राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*