धान दिवस मनाउने, चामल भारतबाट किन्ने ?
असार १५ लाई नेपाली समाजमा परम्परादेखि नै दहीच्यूरा खाने पर्वको रुपमा लिइन्छ । चर्को गर्मीबाट शरीरलाई केही राहतपूर्वक अवतरण गर्नका लागि दहीच्युराको महत्व र उपयोगिता निकै बैज्ञानिक मानिन्छ । बैशाख जेठको भूर्तकालमा हाम्रो शरीरले चर्को गर्मीको प्रभाव बेहोरेको हुन्छ र त्यही गर्मीको असरलाई न्यूनीरकण गर्नका लागि दहीच्युराको महत्व छ । असार भन्ने बित्तिकै किसानका लागि मानो रोपेर मुरी फलाउने महिना हो । अर्थात् असारमासको चटारोले किसानलाई सबैकुरा बिर्साएको हुन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि पनि दहीच्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाले पनि दहीच्यूरा खाएर असार १५ मनाउँछन् । दहीच्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
पछिल्लो दुई दसकदेखि असार १५ लाई दहीच्युराको पर्वमा मात्र सीमित नगराई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउन थालिएको छ । वि.सं. २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकलयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।
पोखरामा धान दिवसकै अवसरमा विदेशीहरु पनि खेतमा हिलो खेल्न जाने गरेका छन् । धान दिवसलाई केवल दिवसको रुपमा मात्र सीमित गर्नु हुँदैन । ८० प्रतिशत नागरिक कृषि पेशामा आश्रृत भएको देशमा खाद्यान्न विदेशबाट खरिद गर्नु परिरहेको छ । अष्ट्रेलियाबाट रहरको दाल, भारतबाट चामल आयात नगर्ने हो भने २५ प्रतिशत नेपालीको भान्सामा दालभात पाक्न मुस्किल छ । राष्ट्रिय धान दिवसले यो बिषयमा परिबर्तन गर्नै पर्छ । आज आफ्नो खेतमा धान रोपेर आफ्नै धानको भात खाने किसानलाई समाजले हेर्ने दृष्ट्रिकोण ज्यादै कमजोर बनेको छ । उत्पादन गर्नेलाई भन्दा बजारमा भारतीय ब्राण्डका चामल किनेर खानेलाई ईज्जतदार मान्ने परिपाटीले हाम्रा ग्रामीण क्षेत्रका खेत बाँझै बन्न पुगेका छन् । सहरी क्षेत्रका खेत जति सबै प्लटिङ भएर सकिए । एक दसकअघिसम्म धान फल्ने खेतमा अहिले कंक्रिट फलेको छ ।
सहरी क्षेत्रको खेत प्लटिङ गरेर सकियो । ग्रामीण क्षेत्रको खेत बाँझै छ । अनि हामीले दिल्लीगेट मन्सुली र लालकिल्ला मन्सुलीको बोरा भान्सामा उतार्नुको बिकल्प छैन । तीनै तहका सरकाले यो बिषयमा गंभीरतापूर्वक कार्यक्रम ल्याउन सकेका छैनन् । किसानलाई दिने अनुदान टाठाबाठाको कागजमा बनाएको नक्कली प्रमाणलाई हेरेर दिइन्छ । वास्तबिक किसानले अनुदान दाबी गर्न उसँग कागजी प्रमाण पु¥याउने क्षमता राख्दैनन् । सुकिलामुकिला नक्कली किसानका लागि उपयुक्त हुने गरी कृषि अनुदानको मापदण्ड बनाएर सरकारले नीतिगत भ्रष्ट्राचार गरिरहेको छ । यो बिषयमा कस्ले बाल्ने ?
वर्षभरिमा एकपटक त्यो पनि फोटो खिचाउनका लागि धान दिवसमा भाग लिने नक्कली किसानको कुरामात्र सुन्ने क्षमता सरकारसँग भएसम्म धान विसको औचित्य छैन ।
दैनिक दुई हजार युवा रोजगारीको खोजीमा खाडीमुलुक हानिएको अवस्थालाई परिबर्तन गर्नका लागि पनि तीनै तहका सरकारले बुद्धिमतापूर्ण काम गर्नु जरुरी थियो तर, आफ्ना निकटका हनुमानहरुको मात्र कुरा सुन्न सक्ने क्षमता राख्ने नेतृत्वबाट धान दिवसमा भाषण गर्ने बाहेक केही हुनेवाला छैन । किसानले धान उत्पादन गर्न खेतमा बगाएको पसिनाको मूल्य थाहा नपाएका कृषि क्षेत्रका अधिकारीहरुलाई मात्र यो धान दिवसले छुने गरेको छ । किसानलाई धान दिवससँग कुनै सरोकार नै छैन भन्दा हुन्छ । किन भने किसानले आवश्यक मल, बीउ, प्रबिधि, प्राबिधिक परामर्श समयमै पाउन छोडेको एक दसक भन्दा बढी भइसकेको छ । उसलाई धान दिवस वा मकै दिवसले कुनै प्रभाव पार्नेवाला छैन ।