प्रतिष्ठानलाई कमजोर बन्न दिन्नः मुख्यमन्त्री जम्कट्टेल

साझाकुरा
२०८० असार १५, शुक्रबार १०:०२

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कमजोर बन्न नदिने बताएका छन् ।हेटौंडामा बिहीवार भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवलाई सम्बोधन गर्दै जम्कट्टेलले हालको विवाद समाधान गर्नतर्फ जोड दिए । उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडि बढाउने बताए । आफू कानूनमन्त्री भएको बेला कानून निर्माण गरेर प्रतिष्ठान गठन गरेको स्मरण गरे । संघीयता कार्यान्वयन गर्ने चरणमा प्रतिष्ठान निर्माण भएको बताउँदै उनले प्रतिष्ठानलाई कमजोर बन्न नदिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक कुलपति तथा पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानले सञ्चालन गरेको हेटौंडा अस्पताल अहिले जिल्लाको मात्र नभएर प्रदेशको गौरवको आयोजनाको रुपमा काम गरिरहेको बताए ।बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत अस्पताल रहेको बताएका छन् । प्रदेश राजधानी हेटौंडामा मेडिकल सिटीका रुपमा प्रतिष्ठान रहेको बताउँदै उनले भने, ‘प्रतिष्ठानका लागि आवश्यक बजेट उपलब्ध गराउनका लागि प्रदेश सरकार तयार छ र प्रतिष्ठानका लागि छुट्टै अस्पताल खोल्नका लागि हामीहरु तयार छौं ।,’

प्रतिष्ठानले अहिलेसम्म गरेका काम, हेटौंडा अस्पतालमा तीन वर्षको अवधिमा ल्याउन सकिएको परिवर्तनका विषयमा प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले प्रस्तुतीकरण गरेका थिए । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तान, प्रदेश सभाका सदस्यहरु मधुसुधन पौडेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*