८ करोडले बढ्यो हेटौंडाको बजेट, सूर्तिजन्यपदार्थमा निषेधको तयारी

साझाकुरा
२०८० असार १७, आईतवार ११:१४

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतले पास भएको छ ।शनिबार बसेको हेटौंडा उपमहानगरपालिकाको १३ औं नगरसभाको दोस्रो बैठकले आगामी आबको कुल २ अर्ब ६८ करोड ६० लाख १० हजार ८ सय रुपैयाँ बजेट सर्वसम्मतले पारित गरेको हो ।

उपमहानगरपालिकाले गत असार २ गतेको नगरसभाले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँबाट बेहोरिने गरी बजेट सार्वजनिकगरेको थियो ।

यसअघि उपमेयर राजेश बानियाँले नीति तथा कार्यक्रमसहित आगामी आवका लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए । बजेट ल्याएर पारित गर्ने बेला उपमहानगरले बजेट ८ करोडले वृद्धि गरेको छ । बजेट प्रस्तुत गर्दा प्रदेश सरकारबाट प्राप्त हुने चार शीर्षकको अनुदान नसमेटिएका कारण शनिवारको नगरसभाले प्रदेशले उपलब्ध गराउने बजेट समावेश गर्दा ८ करोड बढ्न गएको उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए । प्रदेश सरकारले १ असारमा बजेट ल्याएको थियो भने उपमहानगरले २ असारमै बजेट प्रस्तुत गरेको हो ।

नगरसभाले आर्थिक विधेयक २०८० विनियोजन विधेयक २०८० सर्वसम्मतरुपमा पारित गरेको उपमहानगरका प्रवक्ता न्यौपानेले जानकारी दिए । उनका अनुसार नगरसभाले २०७९÷०८० मा सम्पन्न भएको योजनाको अनुमोदन तथा अवकास प्राप्त कर्मचारीको उपदान, विदा तथा औषधिउपचार खर्च, न्यायिक समितिले गरेको कामको अनुमोदन, फरफारक समितिबाट भएका योजनाका कामको अनुमोदन, चालु आबमा सम्पन्न भइ भुक्तानीका लागि बाँकी रहेका योजनाको भुक्तानी दायीत्व सार्ने सर्वसम्म निर्णय गरेको छ । त्यस्तै संगठन सुद्रिढिकरण तथा व्यवस्थापन प्रतिवेदन स्वीकृति गर्ने निर्णय समेत गरेको छ ।

बजेटमा भएको व्यवस्था अनुसार सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख, पूर्वाधार विकासमा ३८ करोड ४० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ११ करोड ६७ लाख तथा वातावरण तथा विपद् व्यवस्थापनमा ७ करोड १५ लाख विनियोजन गरिएको छ । बजेटमा आयोजनाहरु समेत पूर्वाधार विकास क्षेत्रभित्र पर्ने सडक, खेलमैदान, उर्जा, सडकबत्ती, आवास व्यवस्था, जलश्रोत, पर्यटन, भवन तथा आवास, सिँचाई लगायत नगरस्तरीय पूर्वाधारतर्फ ६२ करोड ३ लाख विनियोजन गरिएको छ । वडा तथा वस्तीस्तरीय योजना तथा कार्यक्रमका लागि ३८ करोड ४० बजेट विनियोजन गरिएको छ ।

उपमहानगरको बजेटमा उपमहानगरले एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण गर्न ८ करोड, वडा कार्यालयको लागत सहकार्यमा संचालन हुने वडा गौरबका योजनाका लागि ३ करोड ४० लाख, नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा सडकमा उज्यालो सहर कार्यक्रम अन्तर्गत हाइमास्ट लाईट जडानका लागि ७० लाख, कर्रा करिडोर निर्माणको निरन्तराका लागि १ करोड विनियोजन गरिएको साथै राप्ती करिडोर निर्माण गर्न ५० लाख विनियोजन गरिएको उपमेयर बानियाँले जानकारी दिए ।

उपमहानगरले वडा नम्वर ७ र ८ को सीमाना सडकलाई नमूना सडक निर्माण कार्यका निरन्तरताका लागि १ करोड, हेटौंडा–४ मा बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्न २ करोड, चालु आवमा सम्झौता भइ जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि २१ करोड २२ लाख र पदमपोखरी मुख्य सडक विस्तार कार्यका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

हेटौंडा अस्पतालको स्तरोन्नतिका लागि ८० लाख, अटो भिलेज निर्माण गर्न ८० लाख, पिप्लेक्याम्पा रंगशाला स्तरोन्नतिका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकास क्षेत्र भित्रका चालु कार्यक्रम र पुँजिगत योजना तथा कार्यक्रमका लागि ११ करोड ७६ लाख विनियोजन गरेको छ । जसमध्ये कृषि विकासतर्फका विविध कार्यक्रम तथा योजना संचालन गर्न सशर्त समेत गरी ५ करोड ४ लाख, पशु विकासतर्फका विविध कार्यक्रम तथा योजना संचालन गर्न सशर्त समेत गरी २ करोड ३६ लाख, पर्यटन तर्फका कार्यक्रम तथा योजना संचालन गर्न १ करोड २० लाख बजेट विनियोजन गरिएको उपमेयर बानियाँले बताए ।

उपमहानगरले सामाजिक विकास अन्तर्गत शिक्षातर्फको सशर्त र आन्तरिक बजेटतर्फको चालु कार्यक्रम र पुँजिगत योजना तथा कार्यक्रमका लागि ९२ करोड ९२ लाख विनियोजन गरेको छ ।जसअन्तर्गत शिक्षा तर्फका कार्यक्रम तथा योजना संचालन गर्न सशर्त समेत गरी ७६ करोड ५५ लाख बजेट विनियोजन गरेको छ । स्वास्थ्यतर्फ कार्यक्रम तथा योजना संचालन गर्न सशर्त समेत ६ करोड ९० लाख, युवा तथा खेलकुदतर्फका कार्यक्रम संचालन गर्न २ करोड ९७ लाख, लैंगित समानता तथा सामाजिक समावेशीकरणतर्फका कार्यक्रम तथा योजना संचालन गर्न १ करोड ५१ लाख बजेट विनियोजन गरेको छ । उपमहानगरले महिला तथा बालबालिका, अपा· र जेष्ठ नागरिक तर्फका कार्यक्रम तथा योजना संचालन गर्न १ करोड ४२ बजेट विनियोजन गरेको छ ।
सूर्तीजन्यपदार्थ निषेधको तयारी
हेटौंडा उपमहानगरपालिकाले सूर्तीजन्यपदार्थको बिक्री वितरणमा रोक लगाउने भएको छ । शनिवार हेटौंडामा भएको उपमहानगरपालिकाको १३ औं नगरसभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षबाट नगरको सीमाभित्र सूर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो । उपमहानगरका प्रवक्ता सविन न्यौपानेका अनुसार सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय भएपनि कार्यान्वयका लागि अब कार्यविधि निर्माण हुने जानकारी दिएका छन् । नगरसभाबाट सुर्तिजन्य पदार्थको बिक्री वितरण गर्ने प्रस्ताव सर्वसम्मतीले पारित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*