स्थानीय प्रजातिका धान लोप

साझाकुरा
२०८० असार १७, आईतवार ११:२३

धानखेती गर्ने कृषकको आकर्षण हाइब्रीड बीउतर्फ बढेपछि मकवानपुरमा मौलिक र रैथाने जातका धान लोप हुन पुगेको छ । हाईब्रिड बीउले धानको उत्पादनमा वृद्धि भएको तथ्यांकले देखाएपनि रैथाने जातका धानको महत्व धेरै छ । पछिल्लो समयमा किसानका खेतमा रैथाने धानखेती देखिन छाडेका छन् । दिनप्रतिदिन बढिरहेको खाद्यसंकटलाई थेग्ने गरी राज्यले किसानलाई हाईब्रीडतर्फ लैजान खोजेपछि ग्रामीण क्षेत्रमा स्थानीय जातको धानखेती हुन छाडेको हो ।

सरकारले असार १५ मा सामूहिक रुपमा रोपाईं गर्दै धान दिवस मनाउन थालेको १९ वर्ष भएको छ । तर, परंपरागत रुपमा धान रोपाई हुन छाडेर आधुनिक प्रबिधिले रोपाईलाई प्रभाबिति तुल्याएको छ । खेतमा हलगोरु नारेर रोपाई गर्ने चलन लोप हुँदै गएको र ट्रयाक्टर, रोटाभेटर जस्ता आधुनिक प्रबिधिको प्रयोग बढ्दै गएको छ ।

मकवानपुरको अन्न भण्डारको रुपमा चिनिएको मकवानपुर फाँटमा दिनदिनै प्लटिङले धानखेती हुने जमिन मासिंदै छ । कुनै समय मकवानपुरको मसिनो चामल र दारको काठको ठेकी मकवानपुरको परिचय थियो । मकवानपुर फाँट हालको हर्नामाडी र हटियाको फाँटमा धानखेती गर्ने भन्दा बढी घडेरी बिक्री भइरहेको छ । बेमौसमी तरकारी खेतीमा रमाउन थालेपछि दामनपालुङ अर्थात थाहानगरका किसानले २०५० सालको बाढीपछि धानखेती गर्न छोडेका छन् ।

अहिले धान दिवस मनाउनका लागि दामनपालुङ क्षेत्रमा धान रोप्ने खेत नै नभएका कारण थाहानगरले धान दिवस मनाउने गरेको छैन । ५ वर्षे कार्यकालमा बज्रबाराहीमा एक पटक धानदिवस मनाएको थाहानगरका पूर्वप्रमुख लबशेर बिष्टले बताएका छन् । कृषि कार्यालयका अनुसार मकवानपुरमा बार्षिक करिब ३५ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ । मकवानपुरमा धानबालीका लागि उपयुक्त मानिएको जमिन ११ हजार हेक्टर छ ।

चैते धानको लागि २ हजार ५ सय हेक्टर जग्गा उपयुक्त रहेको छ । दामनपालुङ क्षेत्रमा उत्पादन हुने स्थानीय जातको मार्सी, फलामे, कालोकाठे, ताईचिन, थापा चिनियाँ आदि नाम गरेका धान किसानका खेतमा देखिन छाडेको वर्षौं भयो । उत्पादन बढेको भएपनि कृषकमा अन्नबाली सञ्चित गर्ने प्राविधिक ज्ञानको अभावका कारण मुसाले खाने, कुहिने, मदिरा बनाउन प्रयोग गर्ने जस्ता कारणले गर्दा मकवानपुरमा वर्षेनि धान तथा अन्य खाद्यान्न बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको खाद्यान्न व्यवसायीहरु बताउँछन् । सरकारी तथ्याड्ढअनुसार मकवानपुरमा वर्षेनि खाद्यसंकट बढ्दैछ । मकवानपुरमा बार्षिक २० हजार मेट्रिकटन खाद्यान्न अभाव छ ।

संभाबित खाद्यसंकटलाई कम गर्न पनि किसानलाई हाईब्रिड जाततर्फ आकर्षित गराउनु पर्ने कृषि प्राबिधिकको धारणा छ । मकवानपुरमा प्रतिवर्ष २० हजार मेट्रिकटन खाद्यान्न तराईका जिल्लाबाट आयात गरिन्छ । अmझै पछिल्ला वर्षमा तराइका जिल्लाबाट भन्दा बढी चामल भारतीय बजारबाट हेटौंडामा भित्रिने गरेको छ । मकवानपुर–१, सावित्री, मन्सुली, पोख्रेली, मनभोग, कालोकाठे, बरदाना, हर्दिनाथ–१ लगायत स्थानीय जातका वीउ पनि लोप हुँदै गएको छ ।

धान दिवसले किसानमा उर्जा भर्ने अनुमान गरिए पनि वास्तबमा त्यस्तो हुन सकेको छैन । धान दिवस केवल सेल्फी खिचाउने र शुभकामनाका नाममा भाषण गर्ने बाहेक नयाँ कार्यक्रम आउन सकेको छैन । धान दिवसले युवापुसस्तालाई छुने सम्भावना पनि छैन । माध्यमिक तहको परीक्षा उत्तीर्ण गरेको युवा खेतको हिलोमा पस्नै चाहँदैन ।

रासायनिक मल, कीटनाशक औषधि, बीउबिजन समयमै उपलब्ध हुन नसक्ने, भएपनि कालोबजारी हुने आदि कारणले युवापुस्ता यसतर्फ आकर्षित हुन सकेका
छैनन् । सहरोन्मुख क्षेत्र जहाँ सुबिधा छ त्यहाँ भएका सबै जमीन प्लटिङ भइसकेका छन् । ग्रामीण क्षेत्र जहाँ खेतीको बिकल्प छैन त्यहाँ काम गर्ने युवा सबै बिदेशिएपछि खेती हुन छाडेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*