थाहा आएर रविले भने, ‘चित्लाङ– थानकोट सडकको विषय सदनमा लान्छौं’

साझाकुरा
२०८० असार १७, आईतवार ११:४०

हेटौंडा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चित्लाङ–थानकोट सडक खण्डको निर्माणमा भएको ढिलाईबारे चासो राखेका छन् । थाहा नगरपालिकामा शनिवार भएको पार्टीको नगर भेलालाई सम्बोधन गर्दै उनले चित्लाङ–थानकोट सडक (गणेशमान मार्ग) खण्डको विषय प्रतिनिधिसभामा उठाउने प्रतिबद्धता जनाए ।

वर्षौदेखि निर्माण अलपत्र पारिएको सडक समयमै निर्माण गर्न नसकेकोप्रति उनले सरकारको ध्यानाकर्षण गराउने बताएका छन् । उक्त सडक निर्माणको लागि रास्वपाको सबै सांसदहरुले संसद भवनमा आवाज बुलन्द पार्ने लामिछानेले बताएका हुन् । चित्लाङको बाटोमा राजनीतिको बाटो बनाउन खोज्दा सडकको निर्माणले पूर्णता पाउन नसकेको उनको आरोप छ ।

सभापति लामिछानेले अबको पुस्ताले गर्ने राजनीतिको बाटो आफैं पहिल्याउनुपर्नेमा जोड दिँदै भने, ‘हजुरबाले जुन पार्टीमा भोट हाले नातिले पनि तेही पार्टी रोज्दा देशले दुख पाएको छ ।,’ ‘अघिल्लो पुस्ताले गरेको राजनीतिले अहिलेको पुस्ता पछुताइरहेको भन्दै जुनसुकै दलमा आस्था राख्ने भएपनि आगामी निर्वाचनमा सहयोग गर्न आग्रह गरे । रास्वपालाई मत दिँदा दल परिवर्तन होइन भन्ने सोचेर देश बदल्न आएको बुझ्न उनको आग्रह थियो ।

रास्वपाले भाइभारदार भर्ना गरेर टीका लगाएर टिकट नदिने भन्दै सभापति लामिछानेले टिकट पाउन तल्लो कमिटीबाट चुनेरै आउनुपर्ने भएकोले कार्यकर्तालाई ढुक्क हुन आश्वासन दिए । ‘जतिसुकै घेराबन्दी, गालीगलौच आएपनि देशको बागडोर सम्हाल्ने हुटहुटी आफूमा रहेको र व्यक्तिगत स्वार्थ भएकाहरुले यात्रालाई बिटुलो नपार्न आग्रह गर्दछु, ।’, लामिछानेले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर सभापति भरत पराजुलीको सभाध्यक्षतामा भएको भेलामा रास्वपाका बागमती प्रदेश समिति सभापति डा. अच्युत्तम लामिछाने लगायत केन्द्रीय सदस्यहरु तथा मकवानपुरका नेताहरुको उपस्थिति रहेको थियो । भेलामा थाहाभित्रका विभिन्न पार्टी परित्याग गरी २ सय ५० जना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको पार्टी थाहा नगर कमिटीका नवनियुक्त सल्लाहकार किरण गोपालीले जानकारी दिए ।
रास्वपा थाहाको सभापतिमा खत्री चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम थाहा नगरपालिका भेलाले नगर कमिटी गठन गरेको छ । शनिवार भएको भेलाबाट नगर सभापतिमा जयराम खत्री चयन भएका छन् ।खत्रीको नेतृत्वमा सर्वसम्मत रुपमा ११ सदस्यीय नगर कमिटी गठन भएको हो । उपसभापतिमा रचना बस्नेत, सचिवमा देवकुमार अर्याल, कोषाध्यक्षमा सूर्य आलेमगर चयन भएका छन् ।

नगर सदस्यमा केदार घले, निलिमा गोपाली, सरोज लामिछाने, दिनेश थापा, सम्राट बलामी, राजन विडारी, सरोज आचार्य चयन भएका छन् । भेलाले दीपक नेपाली, पुरुषोतम केसी र किरण गोपालीलाई सल्लाहकार चयन गरेको छ ।

थाहानगरमा रास्वपाले वडा कमिटी निर्माणको तयारी तीव्र पार्ने जानकारी दिएको छ । नवनिर्वाचित सभापति खत्रीले वडामा कमिटी बनाएर थाहामा रास्वापालाई बलियो शक्तिका रुपमा स्थापित गराउने आफ्नो कार्यकाल जोडले लाग्ने दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*