आज बजेट पास गर्ने बागमती सरकारको तयारी

निशा गुरुङ
२०८० असार २१, बिहीबार ११:४१

हेटौंडा- आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि १ असारमा प्रस्तुत बागमती प्रदेश सरकारको बजेट आज बिहीवारको प्रदेशसभा बैठकबाट पास गर्ने तयारी छ ।
१२ असारदेखि बजेट माथिको छलफल गर्ने तयारी भएपनि प्रतिपक्षी दलको अवरोधपछि १८ असारबाट मात्रै सांसदहरुले बजेटप्रतिको धारणा राखेका थिए ।

बजेट निर्माणमा सरकारले एकलौटी गरेको, जिल्लालाई समावेशी तवरबाट आवश्यकताका आधारमा बजेट बिनियोजन नगरेको, मुख्यमन्त्री, अर्थमन्त्री र भौतिकमन्त्रीको जिल्लामा २२ प्रतिशत बजेट लगेको, कार्यकर्ता पोस्ने गरी टुक्रे योजना धेरै ल्याएकोलगायतका थुप्रै विषयमा प्रश्न उठाएर प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले तीन दिनसम्म सदन अवरुद्ध गरेका थिए ।

तर, सत्तापक्षले एमाले र राप्रपासँग योजना समेट्ने प्रतिबद्धता जनाएपछि १८ असारदेखि प्रदेशसभाको गतिरोध हटेको थियो । त्यसयता बजेटमाथि निरन्तर चलिरहेको छ । आज बिहीवार बजेटमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम सकिएपछि बजेट पास हुने जनाइएको छ । प्रदेशका सभामुख भुवनकुमार पाठकले बाँकी केही मन्त्रीहरु र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भने आज बिहीवार बस्ने प्रदेशसभामा विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने जानकारी दिए ।

उनका अनुसार, बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रदेशसभा बैठकमा बुधवार जवाफ दिन छुटेका मन्त्रीहरुले जवाफ दिएलगतै प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट पारित गर्ने कार्यसूची रहेको छ । बागमती प्रदेशसभाको बुधवार अपरान्ह बसेको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० को छलफलको क्रममा उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिएका छन् ।

असार १८ गते सोमबारबाट छलफल सुरु भएको विधेयकमाथि प्रदेशसभाका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची अनुसार मन्त्रीहरुले मन्त्रालयगत जवाफ दिएका हुन् ।बुधबार ६ जना मन्त्रीहरुले मन्त्रालयगत जवाफ दिएका थिए । जसमा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरणमन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपंक्षी विकासमन्त्री राजेन्द्रमान श्रेष्ठ रहेका छन् ।

उनीहरुले छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै योजनाको तर्जुमा र छनोट गर्दा कुनै राजनीतिक आग्रह पूर्वाग्रहबाट नगरिएको र आर्थिक स्रोधसाधनले भ्याएसम्म राष्ट्रिय गौरवको आयोजना, खानेपानी, सिचाईँ, पक्की सडक, पक्की पुल र विद्युत विस्तार, पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको बताए ।उनीहरुले कृषि उत्पादन, पशुपंक्षीको उपचार, स्वास्थ्यउपचार सेवालाई गुणस्तरीय तुल्याउने शिक्षालाई दक्ष जनशक्ति उत्पादनको लागि आवश्यक पूर्वाधार तयार गरी लागू गर्दै लैजाने प्रतिवद्धता जनाए ।

यसैगरी, सम्बन्धित मन्त्रीहरुले आलोपालोका साथ आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यप्रगतिको साथै आगामी आर्थिक वर्षको लागि तर्जुमा गरिएको योजनालाई सम्बन्धित जिल्लाहरुको स्थानीय निकाय र जिल्ला समन्वय परिषदमार्फत अगाडि बढाउने विश्वास व्यक्र गरे ।उनीहरुले वनलगायत सरकारी जग्गाको संरक्षण, पर्यटन क्षेत्रको विस्तार, धार्मिक मठमन्दिरको मर्मतसम्हार र उत्पादनशील क्षेत्रलाई जोड्ने बैकल्पिक राजमार्गलाई निर्माण र मर्मतसम्हारको लागि पनि बजेट विनियोजित गरिएको जानकारी गराए ।

प्रदेशको सबै जिल्लामा बाढी–पहिरोबाट प्रभावित क्षेत्रलाई संरक्षण गर्दै दीर्घकालीन योजनको तर्जुमा गरी प्रभावित क्षेत्रका वासिन्दालाई अन्यन्त्र पुनस्र्थापना गर्न र दैविकप्रकोप उद्धार समितिमार्फत घाइतेहरुको उद्दार, उपचार, र आवश्यक सामग्री वितरण गर्नेतर्फ सरकारले पहल गर्ने दृढता व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*