काठमाडौं–रक्सौल रेलमार्गको सपना

साझाकुरा
२०८० असार २१, बिहीबार १२:०६

मकवानपुरको भूभागबाट चल्ने काठमाडौं–रक्सौल रेलमार्गको भारतले ‘फाइनल लोकेसन सर्भे’ प्रतिवेदनको मस्यौदा नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । गत १७–२० जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नै हस्तान्तरण हुने भनिएको यो प्रतिवेदनको मस्यौदा नेपालको रायका लागि भन्दै हस्तान्तरण गरेको हो । प्रतिवेदन तयार भए पनि त्यसलाई अन्तिम रुप दिनुअघि भारतले नेपालको राय मागेको हो ।

अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागले यो प्रतिवेदन अध्ययन गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीका अनुसार प्रतिवेदन अध्ययनपछि विभिन्न विषयमा नेपालले आफ्ना राय र प्रतिक्रिया दिनेछ । त्यसका आधारमा प्रतिवेदनले अन्तिम रुपम पाउनेछ । नेपाललाई भारतले फाइनल प्रतिवेदन हस्तान्तरण गर्नेछ । भारतले प्रारम्भीक प्रतिवेदन दिएपछि भारत भ्रमणका समयमा नै रेलमार्गको निर्माण अघि बढाउन भारतसँग आग्रह गर्ने तयारी थियो ।

काठमाडौं–रक्सौल रेलमार्गको फाइनल लोकेसन सर्भे १८ महिनाभित्र यो काम सकाउने गरी २२ असोज २०७८ मा नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) भएको थियो ।

एमओयूअनुसार रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनीमार्फत तयार गरेको हो । भारतले सम्झौताअनुसार नेपालमै काम गर्न टोली पठाएको थियो । मकवानपुरको भूमि हुँदै गुड्ने भनिएको रेलमार्ग निर्माणले नेपालको आर्थिक क्रान्ति नै हुने सम्भावना छ । तर, निर्धारीत समयमा रेलवे सेवा संचालन हुनेमा आशंका छ ।

दुई देशबीचको उच्च प्राथमिकतामा परेर रेलमार्ग निर्माण भएको अवस्थामा मकवानपुरको आर्थिक र सामाजिक विकासले फड्को मार्ने देखिन्छ । प्रस्तावित रेलमार्ग रौतहट र बारासँग सीमाना जोडिएको मकवानपुरको साविक धियाल गाविस हाल बकैया गाउँपालिकाको धियाल हुँदै सिस्नेरी पुग्ने जनाइएको छ । धियाल र सिस्नेरीको बीचमा शिखरपुरसँग पनि रेलमार्ग जोडिने भएको छ ।

मकवानपुरबाट रेलमार्ग मात्र नभई निजगढ–काठमाडौं फाष्ट ट्रयाक पनि निमार्णाधीन छ । रेलमार्ग र फाष्ट ट्रयाक निर्माण पश्चात मकवानपुर सडक पूर्वाधारले थप सुसज्जित हुने देखिएको हो । सरकारले गत आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा काठमाडौं–रक्सौल रेलमार्ग र काठमाडौं–रसुवागढी रेलमार्गको डीपीआर सम्पन्न गर्ने जनाएको थियो ।

काठमाडौं–रक्सौल रेलमार्गको फाइनल लोकेशन सर्भे (एफएलएस) का आधारमा रेलमार्ग मकवानपुरको धियाल–शिखरपुर–सिस्नेरी हुँदै काठमाडौं पुग्ने देखिएको हो । प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने देखिएको थियो । प्रस्तावित रेलमार्गको करिब ४० किलोमिटर खण्डमा सुरुङ रहनेछ भने साना–ठूला गरी करिब ३५ वटा पुल पनि बनाउनुपर्ने देखिएको छ ।

डीपीआर प्रतिवदेन प्राप्त भएपछि आयोजनाको निर्माणको मोडालिटबिारे छलफल अघि बढ्नेछ । रक्सौलबाट आउने क्रममा रेलबाराको जीतपुर, निजगढ, मनवानपुरको शिखरपुर, सिस्नेरी हुँदै काठमाडौं आइपुग्नेछ । यसबीचमा कुल १३ वटा रेल स्टेसन रहने छन् । जसमध्ये तीन वटा स्टेशन मकवानपुरमै पर्ने भएको छ ।

मकवानपुरमा रेलको स्टेशन धियाल, शिखरपुर र सिस्नेरीमा हुने जनाइएको हो । रेल रक्सौल, वीरगञ्ज, बगही, पिपरा, डुमरवाना, ककडी, निजगढ, चन्द्रपुर, धियाल, शिखरपुर, सिस्नेरी, साथीखेल र चोभारमा रोकिनेछ । रेलमार्गमा भारतीय प्रकारको ब्रोडगेज प्रयोगगरिने जनाइएको छ । रेलमार्ग निर्माणका क्रममा भौगोलिक बनावट, भौगर्विक जटिलता, भूकम्पीय जोखिम र सञ्चालन असहजताका कारण जटिलता तथा चुनौती आउने अनुमान गरिएको छ ।

लोकेशन सर्भेबाट मकवानपुरको भूभागबाट गुड्ने भनिएको स्थान सबै भौगोलिक रुपमा विकट छन् । धियाल पनि विकट हो । शिखरपुर र सिस्नेरी पनि भौगोलिक रुपमा विकट रहेका छन् । निजगढ–काठमाडौं फाष्ट ट्रयाक पनि मकवानपुर र ललितपुरको सीमानामा पर्ने बागमती दोभान (सिस्नेरी) हुँदै काठमाडौं उपत्यका पुग्नेछ ।

रेलमार्ग निर्माणको लागत २ खर्ब ५४ अर्ब नेपाली रुपैयाँ (१ खर्ब ६५ अर्ब ५० करोड ४४ लाख ६० हजार भारु) लाग्ने अनुमान गरिएको छ । नेपाल सरकारले यो आयोजनालाई उच्चप्राथमिकतामा राखेर निर्माण गर्न भारतीय पक्षसँग कुटनीतिक पहल गर्नु जरुरी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*