शैक्षिक सहयोग अक्षयकोषको साधारणसभा
हेटौंडा- शैक्षिक सहयोग अक्षय कोष, मकवानपुरको चौथो वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । शैक्षिक सहयोग अक्षय कोष, मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
साधारणसभामा प्रमुख अतिथि पौडेलले पबित्र उदेश्यका साथ स्थापना भएको कोषलाई अगाडि बडाउन सबैले सहकार्य गर्नुपर्ने बताए । उनले शिक्षाको अवसरबाट कोही पनि बञ्चित हुन नपरोस भन्ने पबित्र उदेश्य संस्थाको रहेको भन्दै यसमा सबैको सहकार्य जरुरी रहेको बताए ।
मकवानपुर जिल्लामा आवश्यक्ताका आधारमा संस्था स्थापना भएकाले यसलाई जीवन्त बनाउँदै थप सुदृढ बनाउन सबैको प्रयास र प्रयत्न आवश्यक रहेको उनको भनाई थियो । पौडेलले शिक्षा पाउने सबै बालबालिकाको नैसर्गीक अधिकार भएपनि कतिपय अवस्थामा त्यस्ता बालबालिकाहरु अधिकारबाट बञ्चित भइरहेको हुँदा त्यस्ता बालबालिकाको अधिकार स्थापित गर्न र शैक्षिक क्रियाकलापमा जोड्न संस्थाले योगदान गर्नुपर्ने बताए ।
साधारणसभामा संस्थाका सचिव बद्री पाठकले सचिवको र कोषध्यक्ष रामकृष्ण थापाले प्रस्तुत गरेका आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थामा हालसम्म आजीवन सदस्य ७१ जना, विशिष्ट सदस्य ९ जना, साधारण सदस्य १५ जना र संस्थागत सदस्य १९ जना गरी ११४ जना सदस्य रहेका छन् ।