एन्ड्रसले जित्यो मकवानपुर मिडिया कप

साझाकुरा
२०८० असार २४, आईतवार ११:३९

हेटौंडा-एन्ड्रस फुटसल टिमले मकवानपुर मिडिया कपको उपाधि जितेको छ । शनिवार हेटौंडा उपमहानगरपालिका कार्यालयको सहकार्यमा खेलकुल पत्रकार मञ्च मकवानपुरद्वारा आयोजित मिडिया कप प्रतियोगिता एन्ड्रस टिमले उचालेको हो ।एन्ड्रस क्रियाशील पत्रकारहरु धमेन्द्र दाहाल, नवीन तिमल्सिना, अनिष चौलागाईं, रविन्द्र वाइवा, सुमन दाहाल, सरोज पौडेल, सुजन पुडासैनी र सञ्जीव सुनार (रसाइली) को अंग्रेजी नामको अक्षरबाट मिलाएर बनाइएको फुटसल टिम हो ।

एन्ड्रसले रेडियो मकवानपुर÷ प्रदेश दैनिकको टिमलाई २–१ गोल अन्तरले निरीह बनाउँदै उपाधि कब्जा गरेको हो । नकआउट चरणमा खेलाइएको प्रतियोगितामा एन्ड्रसले पहिलो खेल नेपाल कलम÷जनपत्र टिमलाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।रेडियो मकवानपुर÷प्रदेश दैनिकले आयोजक खेलकुद पत्रकार मञ्चको टिमलाई हराएर फाइनलमा एन्ड्रससँग भेट पक्का गरेको थियो । एन्ड्रसको जितसँगै रेडियो मकवानपुरको अपराजित यात्रामा बिराम लागेको थियो । यसअघि भएका केही मिडिया कप प्रतियोगितामा रेडियो मकवानपुरले निरन्तर जित्दै आएको थियो ।

एन्ड्रस भने पहिलो पटक सहभागिता जनाएको टिम हो । एन्ड्रसका कप्तान धमेन्द्र दाहालले आगामी प्रतियोगितामा एन्ड्रस टिम झन शक्तिशाली भएर सहभागी हुने प्रतिबद्धता जनाए ।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी उपविजेता टिमका पोष्टराज अधिकारी घोषित भए । मिडियाकर्मीको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापनासँगै खेलकुदको विकासका निम्ति हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा मञ्चले प्रतियोगिता आयोजना गरेको हो । खेलकुद पत्रकार मञ्चका अध्यक्ष राजन दाहाल ‘रसिक’को सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१ नम्बर वडाअध्यक्ष एवम् प्रवक्ता सविन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रवक्ता न्यौपानेले पत्रकारको संस्थागत एवम् क्षमता विकासका लागि उपमहानगरपालिका सदैव तयार रहेको बताए । आगामी दिनमा पनि यस्ता प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने उनको प्रतिवद्धता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारुमगर, मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईं, प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका निवर्तमान अध्यक्ष पोष्टराज अधिकारी कुमार, प्रेस सेन्टर मकवानपुर अध्यक्ष अञ्जली थापा, अनलाइन मिडिया एसोसिएसन (ओमान)का अध्यक्ष धर्मेन्द्र दाहाल, मञ्चका उपाध्यक्ष सुवास विडारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*