बागमतीमा ४६ प्रतिशत रोपाइँ, सिँचाइका लागि आकाशकै भर

साझाकुरा
२०८० असार २७, बुधबार ०९:२५

हेटौंडाकेही दिनदेखिको वर्षाका कारण बागमती प्रदेशमा हालसम्म ४६ प्रतिशत धान रोपाइँ कार्य सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालय हेटौंडाले जनाएको छ ।
भौगौलिक विकटता र सिँचाइको अभाव रहेको बागमती प्रदेशमा धानखेतीका लागि आकाशको पानीका भरमा खेती गर्नु परेकाले धानखेतीमा समस्या रहेको बताइएको छ । साथै किसानलाई मलको पनि समस्या रहेको गुनासो आइरहेको छ । बागमती प्रदेशको १३ जिल्लामा कूल एक लाख २० हजार पाँच सय ६९ हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । तर, अहिलेसम्म बागमती प्रदेशमा करिब एक लाख १३ हजार हेक्टर जमिनमा धानरोपाइँ सकिएको सो कार्यालयले जनाएको छ ।

पर्याप्त वर्षा नभएपछि प्रदेशभर धान रोपाइँ प्रभावित बनेको छ । कृषि विकास निर्देशनालय हेटौंडाको असार २२ गतेसम्मको तथ्यांक अनुसार धादिङमा सबैभन्दा कम र भक्तपुरमा धेरै धान रोपाइँ भएको छ । निर्देशनालयका अनुसार धादिङमा २३ र भक्तपुरमा ८५ प्रतिशत रोपाइँ भएको छ । धान
रोपाइँको जिल्लागत तथ्यांक हेर्ने हो भने दोस्रोमा काठ्माडौं जिल्ला परेको छ ।

काठमाडौंमा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस्तै चितवनमा ५०, मकवानपुरमा ३०, नुवाकोटमा ३८, रसुवामा ४६, ललितपुरमा ६९, काभ्रेपलाञ्चोकमा ६९, सिन्धुपाल्चोकमा ५२, रामेछापमा ३०, दोलखामा ५० र सिन्धुलीमा ३३ प्रतिशत रोपाइँ भएको बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव शरण पाण्डेले जानकारी दिए । अघिल्लो वर्षको यो अवधिमा यी जिल्लामा ५० प्रतिशत भन्दा माथि रोपाइँ भएको थियो ।

सिँचाइ सुविधा नभएका ठाउँमा धान रोपाइँ हुन नसकेको निर्देशनालयले जनाएको छ । मनसुन बेलैमा सक्रिय नहुँदा यो वर्ष किसानलाई समयमै धान रोप्न समस्या भएको हो । सिँचाइ पुगेका स्थान र खोला आसपास क्षेत्रमा भने धान रोपिएको छ । आकाशकै पानीको भर पर्नुपर्ने ठाउँमा अझै रोपाइँ हुन सकेका छैन । बागमतीका केही जिल्लामा यो वर्ष चैत महिना तथा बाँकीमा असार लागेपछि रोपाइँ थालिएको थियो ।

बागमतीको ६० प्रतिशत जमिन आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । बागमती प्रदेश सरकारले सिँचाइका क्षेत्रमा ठूलो लगानी गरे पनि किसानले अझै पनि आकाशे पानीको भरमा पर्नुपर्ने बाध्यता छ । यसवर्ष सिँचाइका कारण रोपाइँमा ढिलाइ भएको भए पनि रासायनिक मल भने विगतका वर्षहरुमा जस्तो अभाव नरहेको सचिव पाण्डेको भनाइ छ ।
कुन जिल्लामा कति हुन्छ धान रोपाइ“?
कुल २४ हजार दुई सय ४७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने चितवनमा हालसम्म १२ हजार १ सय २४ हेक्टर रोपाइँ भएको निर्देशनालयको तथ्यांक छ । यस्तै मकवानपुरमा ९ हजार ४ सय ५० हेक्टरमध्ये दुई हजार ८ सय ३५ हेक्टरमा रोपाइँ भएको छ । नुवाकोटमा कुल ११ हजार ६ सय १२ हेक्टरमध्ये ४ हजार ४ सय १३, रसुवामा १ हजार ९३ हेक्टरमा ५ सय ३, ललितपुरमा ४ हजार २ सय ११ मध्ये २ हजार ९ सय ६, भक्तपुरमा ३ हजार ९ सय ७९ मध्ये ३ हजार ३ सय ८२ हेक्टर जमिनमा धान रोपाइँ भएको छ ।
काठ्माडौं जिल्लामा कुल ६ हजार १५ हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा हालसम्म ४ हजार ५ सय ११ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भइसकेको छ ।

यो वर्ष धानको बीउ राख्ने समयमा पनि पानी नगरेका कारण कतिपय किसानले धानको बीउ ढिला राखेका कारण पनि रोपाईं गर्न ढिलाई भएको छ । साउनको अन्त्यसम्म पनि धान रोप्ने चलन रहेको छ । त्यसपछि भदौ लागेपछि किसानको ब्यस्तता कोदो रोप्नमा हुने गरेको छ ।यस्तै काभ्रेपलाञ्चोक जिल्लामा ८ हजार ७ सय ८२ हेक्टरमध्ये ४ हजार ५ सय ६७, सिन्धुपाल्चोकमा ८ हजार ७ सय ८२ हेक्टरमध्ये ४ हजार ५ सय ६७, रामेछापमा ७ हजार ८ सय ५९ हेक्टर जमिनमा हाल २ हजार ३ सय ५८, दोलखामा २ हजार ८ सय १४ हेक्टर जमिनमध्ये हालसम्म १४ सय ७, सिन्धुलीमा ११ हजार ७ सय ७७ हेक्टर जमिनमध्ये ३ हजार ८ सय र धादिङमा ११ हजार ५ सय ७६ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा हालसम्म २ हजार ६ सय ६२ हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय हेटौंडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*