नवीकरण नगरेपछि खारेजीको प्रक्रियामा मनहरी क्याम्पस

साझाकुरा
२०८० असार २९, शुक्रबार ११:३८

हेटौंडा- जिल्लाको पश्चिमी क्षेत्र अर्थात मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाको शैक्षिक केन्द्र मनहरी बहुमुखी क्याम्पस नवीकरण नगर्नेको सूचिमा परेको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धन प्राप्त कलेज÷ क्याम्पसलाई पटक–पटक सम्बन्धन नवीकरण गर्न ताकेता गरे पनि मनहरी क्याम्पसले नवीकरण नगरेपछि देशभरका एक सय ७५ कलेज÷ क्याम्पससँगै मनहरीको पनि नामावली सार्वजनिक भएको छ ।

त्रिविले बुधबार नवीकरण नगर्ने क्याम्पसहरुको नाम सार्वजनिक गरेको थियो । जसको ९२ औं नम्बरमा मनहरी बहुमुखी क्याम्पस रहेको छ । सार्वजनिक सूचीअनुसार ५३ कलेज तथा क्याम्पस काठमाडौं उपत्यकामा सञ्चालित छन् भने अन्य क्याम्पसहरु उपत्यकाबाहिर रहेका छन् ।

उपत्यकाभित्र सञ्चालन भएका तर, नवीकरण नगरेका आदर्श कन्या क्याम्पस, अनमोल राष्ट्रिय कलेज, आशीर्वाद कलेज, बागमती कलेज, बासु कलेज, भानुभक्त मेमोरियल कलेज, बौद्ध मल्टिपल क्याम्पस छन् । यस्तै, ब्राइट भिजन इन्टरनेश्नल कलेज, क्यानोपी कलेज, क्यानभास इन्टरनेश्नल कलेज, क्यापिटल कलेज, छिन्नामस्ता कलेज, गिताञ्जली कलेज, गोल्डेन स्राइन कलेज, ग्रामर कलेज, हीरालाल क्याम्पसले पनि नवीकरण गरेको छैनन् ।

जनमैत्री क्याम्पस, कान्तिपुर कलेज, काठमाडौं क्याम्पस, काठमाडौं उत्कृष्ट क्याम्पस, ललितपुर नर्सिङ क्याम्पस लगायत छन् । यी कलेजहरुलाई यसअघि नै त्रिविले सार्वजनिक सूचना जारी गरी नवीकरण गर्नु भनेको थियो । तर, क्याम्पसहरु भने अटेर गरिरहेपछि त्रिविले नामावली सार्वजनिक गरेको हो । समयमै नवीकरण नगर्ने कलेजको सम्बन्धन त्रिबिले खारेजीको प्रक्रियामा लैजाने निर्णय भने गरेको छैन ।

त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय, योजना निर्देशनालयको सूचनामा भनिएको छ, ‘त्रिविबाट सम्बन्धन प्राप्त तर, सम्बन्धन नवीकरण नगरेका क्याम्पस÷कलेजहरुको सूची मिति २०८० असार २७ गते त्रिविबाट सम्बन्धन प्राप्त गरी हाल सञ्चालनमा रहेका क्याम्पस÷कलेजलाई गोरखापत्रमार्फत पटकपटक (मिति २०७९÷९÷२० तथा ०७९÷१२÷२८) सम्बन्धन नवीकरण गर्नका लागि सूचित गरी नवीकरण नगरे किन सम्बन्धन खारेज नगर्ने ? भन्ने सूचना सम्प्रेषण गर्दा पनि सम्बन्धन नवीकरण नगरेका क्याम्पसहरुको सूची त्रिविको वेबसाइटमा प्रकाशित गरिएको छ ।’, सूचनामै नवीकरण नगरे किन खारेज नगर्ने ? भन्ने बुँदा रहेकाले मनहरी क्याम्पसको सम्बन्धन खारेजी प्रक्रियामा धकेलिएको हो ।

त्रिवि सम्बन्धन समितिको निर्णय अनुसार नवीकरण नभएका उक्त क्याम्पसहरुलाई त्रिवि नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने त्रिविले जनाएको छ । तर, त्रिविले नविकरणको लागि समय भने दिएको छ । (पुनश्चः यदि कुनै क्याम्पस नवीकरण प्रक्रियामा भएको भए यथासक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ’, सूचनामा उल्लेख छ ।

त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयका निर्देशक प्राडा ध्रुवकुमार गौतमले तोकिएको समयमा नवीकरण नगर्ने क्याम्पसहरु स्वत खारेज गर्ने जानकारी दिए । ‘नवीकरण पनि गरेनन् भने अन्तिममा गर्ने भएको स्वत खारेज हो, हामी खारेज गछौँ’, उनले भने ।उनका अनुसार नवीकरण गर्नको लागि केही समय दिइएको छ । उक्त समयमा पनि नवीकरण नगरे क्याम्पस खारेज गरिने छ । पछिल्लो समय त्रिविले सम्बन्धन प्राप्त कलेजलाई कडाइ र कम विद्यार्थी भएका कलेज व्यवस्थापनमा लागेको छ ।

त्रिविले सम्बन्धन प्राप्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरुपले आपसमा समायोजन (मर्ज) गर्ने योजना पहिलो पटक कार्यान्वयन ल्याउँदै छ । त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले मर्ज हुन चाहने त्यस्ता क्याम्पसहरुले असार मसान्तभित्र निवेदन पेस गर्न सक्ने व्यवस्था गरेको छ । गत जेठ ३० गते प्रकाशित सूचनाअनुसार आफ्नो क्याम्पससभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई ०८० असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*