हेटौंडामा दुई डायलासिस मेसिन थपियो

साझाकुरा
२०८० श्रावण २, मंगलवार ०९:२१

हेटौंडा- हेटौंडा उपमहानगरपलिकाले मिर्गौला डायलासिस सेवालाई थप प्रभावकारी बनाउन हेटौंडामा दुईवटा मेसिन थप गरेको छ ।मिर्गौलाका बिरामीलाई लक्षित गर्दै उपमहानगरले आरोग्य फाउण्डेसनले हेटौंडा–११ चुरेहिलमा सञ्चालन गरेको दुई मेसिन हेटौंडा अस्पतालमा रहेको हेटौंडा डायलासिसमा थप गरेको हो । चुरेहिलमा डायलासिस उपचार बन्द भएपछि मेसिनलाई हेटौंडामा डायलासिसका लागि प्रयोगमा ल्याउन उपमहानगरले फाउण्डेसनसँग सहकार्य गर्दै सोमबारबाट अस्पतालमा थप मेसिन सञ्चालनमा ल्याएको नगरप्रमुख मीनाकुमारी लामाले जानकारी दिएकी छन् ।

मेसिन बन्द हँुदा चुरेहिलमा उपचार लिँदै आएका बिरामी सेवाबाट बञ्चित हुने र सेवा लिनका लागि बाहिर जिल्लाका अस्पतालमा डायलासिस गर्न जानुपर्ने बाध्यता रहेको थियो ।उपमहानगरको पहलपछि उनीहरुले उपचार सेवा हेटौंडामै पाउने अवस्था बनेको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रामचन्द्र सापकोटाले बताए । थप दुई मेसिन सुचारु गर्ने कार्यक्रम उपमहानगरका नगरप्रमुख लामाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा नगरप्रमुख लामाले निजी तथा सामाजिक संस्थाको सहयोगमा उपमहानगरले सुरु गरेको डायलासिस सेवालाई थप प्रभाकारी बनाउन लाग्नुपर्ने बताइन् । स्वास्थ्य र शिक्षाको अवस्था कमजोर भएकै कारण बाह्य जिल्लाका मानिसको नजर हेटौंडामा परेको उनले बताइन् ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईंले खानपान र औषधिजन्यपदार्थको सेवनमा ध्यान नदिँदा किड्नीका बिरामीको संख्या अधिक मात्रमा बढेको बताए । उनले रोगको उपचार भन्दा पनि त्यसको निरुत्साहनको पाटोमा ध्यान दिन आवश्यक रहेको बताए । उनले स्थानीय तहका काममा प्रशासन सहयोगी बन्ने विश्वास दिलाए । कार्यक्रममा हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईंले अहिले पनि डायलासिस सेवा लिनका लागि ४५ जना बिरामी पर्खाइमा रहेको बताए । उनले हेटौंडा डायलासिसबाट हप्तामा १ सय १० जना सेवाग्राहिलाई उपचार सेवा दिनुपर्ने अवस्था रहेको बताए ।

कार्यक्रममा उपमहानगरका प्रवक्तासमेत रहेका हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौंपाने, वडा नम्बर १० का वडाध्यक्ष फुर्वा दोर्जेलामाले स्वास्थ्य सेवा प्रवाहका सन्दर्भमा आफ्नो धारणा राखेकाथिए । हाल हेटौंडा अस्पतालले १३ वटा मेसिनबाट डायलासिस उपचार सेवा दिँदै आएको छ । डायलासिस गर्ने एउटा मेसिन मर्मतको क्रममा रहेको अस्पतालले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*