उत्कृष्ट विद्यार्थीलाई उपमहानगरको सम्मान
हेटौंडा-विभिन्न संकायमा अध्ययन गरी उच्चअंक सहित नेपाल प्रथम हुने विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिकाले सम्मान गरेको छ । विद्यार्थीलाई अध्यापनका लागि प्रेरणा मिलोस भन्ने उद्देश्यसहित उपमहानगरले नगदसहित प्रशंसापत्र प्रदान गर्दै सोमबार सम्मान गरेको हो । हेटौंडा उपमहानगरपालिका नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले २०७९ सालको एसईई परीक्षामा हेटौंडा–७ को तासिर इ·लिस बोर्डिङ स्कुबाट सहभागी बनेकी डाफिन राइ, मकवानपुर बहुमुखी क्याम्पसबाट बिबिए सातौं सेमष्टरमा सहभागी हेटौंडा–९ की सृष्टी महर्जन र मकवानपुर क्याम्पसबाटै २०७८ सालको बिबिएसमा सहभागी हेटौंडा–६ का प्रकाश गौतमलाई सम्मान गरेका हुन् ।
एसईइमा सहभागी डाफिनले ४ जिपीए तथा बिबिएम सातौं सेमेष्टरमा सहभागी सृष्टीले र बिबिएसमा सहभागी प्रकाशले सामुदायिक क्याम्पसतर्फ नेपाल टप गरेका थिए । सम्मान गर्दै हेटौंडा उपमहानगरका नगरप्रमुख लामाले आर्थिक अभावका कारण कसैले पनि पढ्न नपाउने वातावरण नगरले नबनाउने बताइन् । उनले नगरको शैक्षिक अवस्था सुधारका लागि उपमहानगरपालिकाले काम गरिरहेको विश्वास दिलाएकी छन् । शैक्षिक गुणस्तर सुधारमा सामुदायिक क्याम्पस र विद्यार्थीले गरेको मिहेनतको प्रशंसा गर्दै उच्चअंक ल्याउने सबैलाई बधाई दिइन् । उपमहानगर आफैंले सञ्चालन गर्नेगरी इन्जिनियरिङ कक्षा चलाउनका लागि पहल भइरहेको भन्दै नयाँ विषय र टेक्निकल कक्षा सञ्चालन अहिलेको आवश्यकता भएको बताइन् ।
कार्यक्रममा उपप्रमुुख बानियाँले शिक्षामा उज्वल भविष्य बोकेका विद्यार्थीको अध्यापनमा उपमहानगरले कुनै कसर बाँकी नराख्ने बताए । शैक्षिक गुणस्तर राम्रा भएका विद्यार्थीलाई नेपालमै टिकाउनका लागि ठोस कार्यक्रम आवश्यक भएको बताए । सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, उपमहानगरका विज्ञ सल्लाहकार कृष्ण धिताल, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, तासिर इ·लिस बोर्डिङका प्रिन्सिपल बिनोद थपलियाको आतिथ्यता रहेको थियो ।