जग्गा पनि छाड्दैनन्, अड्काएर मात्रै राख्छन्

औद्योगिक क्षेत्रका उद्योग
निशा गुरुङ
२०८० श्रावण ३, बुधबार ०९:३५

हेटौंडा- क्षेत्रफलका हिसाबले देशकै ठूलो हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ उद्योगका लागि जग्गा अभाव छ । उद्योगीले नयाँ उद्योग खोल्न चाहेमा हेटौंडा औद्योगिक क्षेत्रमा पर्याप्त जग्गा पाईंदैन ।जसको कारण हो, विगतका उद्योगले जग्गा कब्जा गरिराख्नु । वर्षौदेखि उद्योग नचलाएर पनि शक्तिको आढमा जग्गा कब्जा गरेर राखिरहँदा नयाँ उद्योगले जग्गा पाएका छैनन् ।

औद्योगिक क्षेत्रभित्र पुराना ९ वटा उद्योगको संरचना अझै छ । जुन संरचना प्रयोगविहीन हुनुका साथै नयाँ उद्योगका लागि अवरोध सृजना गरिरहेका छन् । तर, औद्योगिक क्षेत्रको व्यवस्थापनका लागि काम गरिरहेको सरकारी निकाय हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय निरीह जस्तै बनेको छ । वर्षौैदेखि जग्गा कब्जा भइरहँदा पनि कुनै कारबाही प्रक्रिया अगाडि नबढाएर राज्यको ठूलो आयस्रोतमा अंकुश लागिरहेको हो ।

नयाँ उद्योग सञ्चालनमा आएपछि राज्यलाई आयस्रोतमा बढोत्तरी हुनेमा कुनै दुविधा छैन । तर, न पुराना उद्योगले संरचना हटाउँछन न त नयाँ उद्योग आउन बाटो खोलिदिन्छन् । यसरी जग्गा कब्जा गरेर बस्नेमा वनस्पति घ्युदेखि नेपाल ब्रुअरिज प्रालिसम्म छ । जग्गा ओगट्ने तर, उत्पादन नथाल्ने कम्पनीका नाममा सम्झौता रद्द गर्ने प्रयोजनका लागि कानुनअनुसार निकालिएको सूचनालाई नै कार्यान्वयनमा नलगेर कार्यालयले कानुनी राज्यको धज्जी उडाएको छ ।

विगतमा २०६६ सालदेखि र पछिल्लो समय २०७८ सालमा जग्गा सम्झौता गरेर उद्योग सञ्चालन नगरी बस्ने उद्योगहरु छन् ।औद्योगिक क्षेत्रमा विगतमा सञ्चालित ९ वटा उद्योग बन्द भएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले जानकारी दिए । बन्द भएका ९ वटा उद्योगमध्ये नेपाल वनस्पति घ्यु उद्योग लिमिटेड, प्लाष्टिक फर्निचरलगायतका सामग्री उत्पादन गर्ने हिमालयन पोलिमर्स प्रालि, टिनका कन्टेनर र डब्बा उत्पादन गर्ने बाबा म्यानुफ्याक्चरिङ प्रालि, जैविक मल उत्पादन गर्ने ग्रिनगोल्ड इन्टरनेशनल प्रालि बन्द भएका छन् ।

प्लाष्टिकका बोत्तल उत्पादन गर्ने बानियाँ मल्टी प्रोडक्ट्स ईण्डष्ड्रिज, मदिरा उत्पादन गर्ने सन्नी डिष्टिलरी प्रालि, बियरजन्य पेयपदार्थ उत्पादन गर्ने नेपाल ब्रुअरिज प्रालि, चिया प्याकिङ गर्ने त्रिपुरा इण्डष्ड्रिज (नेपाल) प्रालि, प्लाष्टिकका सामग्री उत्पादन गर्ने इन्भारोप्लाष्ट नेपाल प्रालि उद्योग बन्द छन् ।यी ९ उद्योग न पुनः सुचारु गर्छन् न जग्गा नै छोड्छन् । क्षेत्र व्यवस्थापक बिनाडीले ९ वटा उद्योगले जग्गा नछोडेको तर, पुनः सञ्चालन गर्ने जानकारी गराएको बताउँछन् ।

तर, उनै बिनाडी उद्योग बन्द भएपछि संरचना पनि कानुनतः हटाउनुपर्ने भन्छन् । ‘उद्योग बन्द भइसकेपछि संरचना हटाउनुपर्ने हुन्छ । तर, उहाँहरुले हटाउनु भएको छैन । उद्योग सञ्चालन गर्छु भनेर लिखित जानकारी नै दिएकाले समय दिएका हौं ।’, उनले भने । डेढ वर्षभित्र बन्द भएका उद्योगले पुनः उत्पादन नथालेमा कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने जानकारी दिए ।

संरचना लिलामी गर्नेसम्मको कदम कार्यालयले उठाउने उनको दाबी छ । उद्योगपतिले पुनः उद्योग सञ्चालन गर्ने र सम्झौता रद्द नगर्न लिखितरुपमै दबाब दिएको उनको भनाई छ ।हाल आर्थिक संकटका कारण उद्योग पुनः सञ्चालन गर्न नसक्ने जानकारी गराएकाले डेढ वर्षसम्म समयको मौका दिने उनको भनाई छ । जस्तैः विगतमै बन्द भइसकेका उद्योगको ठाउँमा नयाँ उद्योग आएर उत्पादन थालिसकेको उदाहरण पनि छन् । बर्सेनी  करोडौंको सामान निकासी गर्ने बहुराष्ट्रिय कम्पनी कोलगेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रोडक्ट, मकवानपुर इन्जिनियरिङ जस्ता उद्योगहरु यसअघि नै बन्द भएर उक्त स्थानमा नयाँ उद्योग स्थापित भइसकेका छन् ।

त्यस्तै, एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसिएन लेदर आर्टस् एण्ड टानिङ जस्ता उद्योग पनि केहीवर्ष अघिदेखि अस्तित्वमा छैनन् र उक्त स्थानमा नयाँ उद्योग आएर उत्पादन गरिरहेका छन् ।हेटौंडा औद्योगिक क्षेत्रमा हाल १ सय ६ वटा उद्योग सञ्चालनमा रहेको क्षेत्र व्यवस्थापक बिनाडीले जानकारी दिए । जसमध्ये १३ वटा उद्योग अन्य सरकारी तथा गैरसरकारी कार्यालय तथा संघसंथाबाट सञ्चालन भइरहेको क्षेत्र व्यवस्थाक बिनाडीले जानकारी दिए ।

औद्योगिक क्षेत्रको कुल क्षेत्रफल ३२ सय २८ रोपनी हो । जसमा १९ सय ६६ दशमलव ०५ रोपनी जग्गा उद्योगलाई भाडामा दिएको छ भने ५ सय ९७ रोपनी जग्गा सामाजिक संगसंस्थाले ओगटेको छ ।हेटौंडा औद्योगिक क्षेत्रमा जग्गा सम्झौता गरेको २ वर्षभित्र उत्पादन सुरु नगरेमा सम्झौता रद्द गर्नुपर्ने कानुनी व्यवस्था छ । जग्गा सम्झौताको ६ महिनाभित्र आवश्यक संरचना निर्माण गरिसक्नुपर्ने र २ वर्षभित्रमा उत्पादन थाल्नु पर्ने कानुन लत्याउँदै वर्षौदेखि जग्गा ओगटेर बसेका उद्योगलाई उन्मुक्ति दिँदै आएको छ ।

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले २ असोज २०७९ मा १५ वटा उद्योगको सम्झौता रद्द गर्ने बारे ३५ दिने सूचना निकालेको थियो । जसमध्ये अधिकांश उद्योगले काम नगरी जग्गा ओगटेर मात्रै बसेका छन् । केही उद्योगले लिज हस्तान्तरणको प्रक्रिया थालनी गरेको कार्यालयले जानकारी दिएको छ ।

५ वटा उद्योग बाहिरिए
गत आर्थिक वर्ष २०७९÷८० मा हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालित ५ वटा उद्योगले क्षेत्र नै छाडेर गएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।
एक वर्षको अवधिमा हेटौंडा औधोगिक क्षेत्रमा सञ्चालित दामुचन्द्र माला काष्ठ उद्योगले ३.०० रोपनी क्षेत्रफल छाडेर गएको छ । चुरियामाई काष्ठकला उद्योगले ४.०४ रोपनी, भविष्य मैदा मिल एण्ड हाईजिन प्रालिले १२.८८ रोपनी, रिजोइन क्वालिटी फुडस ई. प्रालिले ५४.२८ रोपनी, एप्पल पोलिमर्स प्रालिले ४० रोपनी क्षेत्रफल छाडेर गएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।
९ नयाँ उद्योगसँग सम्झौता

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गत आर्थिक वर्ष २०७९÷८० मा ९ वटा नयाँ उद्योगसँग सम्झौता गरेको छ । राधेराधे ईन्जिनियरिङ वर्कशप (२.४२ रोपनी), सुहिम प्लाष्टिक प्रोडक्ट ईण्डष्ट्रिज (५ रोपनी), बिएचपी मेनुफ्याक्चरिङ् प्रालि (५ रोपनी) र गुडहोम प्रोडक्ट प्रालि (१०.३३ रोपनी) जग्गामा उद्योग सञ्चालनका लागि जग्गा सम्झौता गरेका छन् । यति पोलिकेम प्रालि (३ रोपनी), औषधि प्याकेजिङ सोलुसन प्रालिले (४.०४ रोपनी), सेफ्टी हाईजिन प्रालि (१२.८८ रोपनी) र एसियन पेन्टस (नेपाल) प्रालिबट ५४.२८ रोपनी क्षेत्रफलमा नयाँ उद्योगका लागि सम्झौता गरेको हो ।
२३ उद्योग निर्माणाधीन

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले दिएको तथ्यांकअनुसार हाल २३ वटा नयाँ उद्योग निर्माणाधीन अवस्थामा रहेको छ । जग्गा सम्झौता भई निर्माणाधीन अवस्थामा रहेको उद्योगमध्ये पेट बोतल उत्पादन, दुध तथा दुधजन्य पदार्थ, औषधिजन्य पेट वोटलका सामानहरु, पिपि ओमन फेब्रिक र बाल पुटीन उत्पादन गर्ने उद्योगहरु जग्गा सम्झौता भई निर्माणकै चरणमा रहेको प्रमुख बिनाडीले जानकारी दिए । यसैगरी, रंगरोगन उत्पादन, विष्कुट तथा बेकरी उत्पादन, पेन्ट तथा पुटीन उत्पादन, ग्याबिन आईरन वायर, मेटल फेब्रिकेशनसम्बन्धी, प्लाष्टिक तथा प्लाष्टिकजन्य सामान, किचनका सामानहरु उत्पादन गर्ने उद्योग निर्माणाधीन रहको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*