बागमती सरकारको राजस्व संकलनमा गिरावट

साझाकुरा
२०८० श्रावण ३, बुधबार ०९:५१

हेटौंडा=-बागमती प्रदेश सरकारको राजस्व संकलनमा गिरावट आएको छ । प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९÷८० मा अनुमान भन्दा १७ प्रतिशत कम राजस्व संकलन गरेको लेखानियन्त्रक कार्यालय बागमती प्रदेश हेटौंडाले जनाएको छ ।कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९÷८० मा राजस्व संकलनमा अनुमानभन्दा ९ अर्ब रुपैयाँ कम उठेको हो । प्रदेश सरकारका विभिन्न निकायले यो वर्षमा अनुमान गरेभन्दा ९ अर्ब ४३ करोड रुपैयाँ कम राजस्व संकलन गरेको कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० मा ५५ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलनको अनुमान गरेकोमा आर्थिक वर्षको अन्त्यसम्ममा ४५ अर्ब ८८ करोड रुपैयाँ संकलन गरेको प्रारम्भिक तथ्यांक छ ।

केही राजस्व शीर्षकको हिसाव मिलानको काम बाँकी नै रहेकाले राजस्व संकलनको केही बढ्न सक्ने उनले बताए । प्रदेश सरकारले विभिन्न आयस्रोत र गत वर्षको नगद मौज्दात सहित ७० अर्ब ९३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उनले बताए । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को सुरुवातसम्ममा नगद मौज्दातसहित ७७ अर्ब ८२ करोड रुपैयाँ संकलन गरेको उनको भनाई छ । प्रदेश सरकारले सो आर्थिक वर्षमा संघीय र स्थानीय तहबाट बाँडफाँड हुने राजस्वअन्तर्गत अनुमानभन्दा २६ प्रतिशत कम प्राप्त भएको हो ।

संघीय र स्थानीय तहबाट बाँडफाँड हुने मूल्य अभिवृद्धि कर, आय कर, प्राकृतिक स्रोत उत्खनन् दस्तुर, मालपोत लगायतका राजस्वमार्फत् अनुमानको ७४ प्रतिशत मात्र संकलन भएको छ । सो शीर्षकअन्तर्गत २८ अर्ब ४५ करोड रुपैयाँ राजस्व संकलनको अनुमान गरिएकोमा आर्थिक वर्षको अन्त्यसम्ममा २१ अर्ब ४ करोड रुपैयाँ मात्र संकलन भएको हो । त्यस्तै, संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणअन्तर्गत २१ अर्ब ४ करोड प्राप्त हुने अनुमान गरिएको थियो । तर, आर्थिक मन्दीका
कारण संघीय सरकारले बजेट कार्यक्रम कटौती गर्दा केही कार्यक्रम फिर्ता भएको थियो ।

कार्यक्रम फिर्ता हुँदा प्रदेश सरकारले वित्तीय हस्तान्तरण अन्तर्गत १७ अर्ब ९९ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा सतप्रतिशत रकम प्राप्त नभएको कार्यालय प्रमुख उपाध्यायले बताए । आन्तरिक स्रोतअन्तर्गत वन, सञ्चार तथा विभिन्न साना तथा घरेलु उद्योग दर्ता, नवीकरण र सेवा सुविधाअन्तर्गत आर्थिक वर्ष २०७९÷८० मा ४ अर्ब ७४ करोड रुपैयाँ आय संकलन हुने अनुमान गरेको थियो । प्रदेश सरकारले आन्तरिक स्रोतमार्फत् बागमती सभ्यता तथा नारायणी राप्ती सभ्यतासहित अनुमन गरिएको उक्त रकममध्ये सो वर्षमा ५ अर्ब ९९ करोड रुपैयाँ आय संकलन गरेको छ ।

प्रदेश सरकारले सो आर्थिक वर्षमा अनुदान फिर्ता, वेरुजु लगायतका शीर्षकमार्फत् १ अर्ब ५ करोड रुपैयाँ आय संकलनको अनुमान गरेकोमा आर्थिक वर्षको अन्त्य असार मसान्तसम्ममा १ अर्ब ४४ करोड रुपैयाँ आय संकलन गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*