पशुपतिमा उभिएर सांसद सिंहको हिंसा भड्काउने अभिव्यक्ति

साझाकुरा
२०८० श्रावण ४, बिहीबार १०:१०

हेटौंडा- मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचित राप्रपाका सांसद दीपकबहादुर सिंहले पशुपति मन्दिरमा उभिएर हिंसा भड्काउने अभिव्यक्ति दिएका छन् ।
राप्रपाको एजेण्डा हिन्दु सनातन धर्मको वकालत गर्ने सिंहले मन्दिरमै उभिएर मान्छेलाई काट्नुपर्ने जस्ता आपत्तिजनक अभिव्यक्ति दिएका हुन् । प्रतिनिधिसभा सांसद जस्तो मर्यादामा रहेर सिंहले ‘अचानोमा काट्नुपर्ने’ जस्ता हिंसा भड्काउने भाषा बोलेपछि उनको विरोध भइरहेको छ ।

कानुनी राज्यमा बहालवाला सांसद सिंहले कानुन नै हातमा लिने अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण कार्य भएको टिप्पणी सर्वसाधारणले गरेका छन् । काठमाडौंस्थित पशुपति मन्दिर परिसरमा उभिएका सिंहको गलामा रुद्राक्षको माला थियो । काँधमा ‘रामनामी लगाएका उनै सिंहको मुखमा भने ‘छुरा’ सुनिएको हो ।मन्दिुर परिसरमा उभिएका उनले भनिरहेका छन्, ‘सिंहदरबारअगाडि अचानोमा राखेर मान्छेलाई काटिदिनुपर्छ ।’,

यस्तो भनिरहँदा उनका अगाडि क्यामेराहरु छन् । अर्थात् मिडियासामु उनी मान्छेलाई काट्ने कुरा गर्दैछन् । उनका अभिव्यक्ति सुनिरहेका सर्वसाधारणले अचम्म मानेका थिए । कुनै ‘फ्रस्ट्रेटेड’ नागरिक गैरजिम्मेवार नेतृत्वप्रतिको आक्रोश चिया पसल वा रक्सी भट्टीमा ओकलिरहेको जस्तो सुनिन्थे सांसद सिंह । तर, यति अराजक र अमर्यादित अभिव्यक्ति दिने व्यक्ति राप्रपा ६५ वर्षे सांसद सिंह हुन् । धर्मको एजेन्डामा राजनीति गरिरहेका उनै सिंहले सार्वजनिक रुपमै ‘मान्छे काट्ने’ अभिव्यक्ति दिनु मानवअधिकार विरोधी हो ।

सांसद सिंह ऐन, कानुन बनाउने ठाउँमा छन् । उनलाई थाहै हुनुपर्छ, जस्तोसुकै अपराधमा पनि नेपालमा मृत्युदण्ड दिने कानुन छैन । संविधानको भाग ३ को ‘मौलिक हक र कर्तव्य’ धाराअन्तर्गत ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ को दोस्रो बुँदामा ‘कसैलाई पनि मृत्युदण्डको सजाय दिनेगरी कानुन बनाइने छैन’ भनेर प्रस्टसँग लेखिएको छ । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा समेत मान्छेको जीवनलीला नै समाप्त गरिदिने सजायको विपक्षमा प्रतिबद्धता जनाएको छ । तर, लोक रिझ्याइँका लागि सांसद सिंहले वर्तमान नेतृत्वप्रति निराश जमातलाई थप भड्काउने अभिव्यक्ति दिएर गैरजिम्मेवार व्यवहार देखाए ।

‘माधव र बाबुरामजीलाई त पाता कस्नुपर्छ । खै के नापे यिनीहरुले । नेपालीको निधारमा भुटानी बनाइकन अमेरिका पठाइदिनका लागि । साँच्चै भन्दा जेल हाल्ने होइन, निर्दोष फस्न हुन्न । दोषी जो–जो छन्, तिनीहरुलाई जेलमा थुन्ने होइन, तिनीहरुलाई त सिंहदरबारअगाडि अचानोमा काट्नुपर्छ ।’, पशुपतिनाथ मन्दिर अगाडि सिंहको अभिव्यक्ति यस्तो थियो । पुरानो नेतृत्वको कार्यशैलीप्रति प्रायः जनता निराश र आक्रोशित छन् ।

तर, कानुन बनाउने ठाउँमै बसेका सांसद भने सामान्य विषयको पनि ज्ञान राख्दैनन् भन्नु राम्रो नहुने सर्वसाधारण बताउँछन् । वर्तमान उत्तेजित समाजमा सिंहको अभिव्यक्तिले समाजलाई थप भँड्खालोतिर तानिरहेको समाजशास्त्रीहरुको चिन्ता छ ।एकातिर, राप्रपाकै प्रमुख सचेतक ज्ञानबहादुर शाही कुनै पनि बहानामा हिंसा अस्वीकार्य छ भन्दै हिँडेका छन् । अर्कातिर उनकै पार्टीका सांसद सिंह ‘मान्छेलाई अचानोमा काट्ने’ भनिरहेकाछन् ।

राष्ट्रिय मानवअधिकार आयोगका सहप्रवक्ता उपसचिव श्यामबाबु काफ्लेले सांसदबाट आएको उक्त अभिव्यक्ति गैरजिम्मेवार र भड्किलो रहेको बताए । सांसदले नै हिंसालाई प्रश्रय मिल्ने गरी अभिव्यक्ति दिनु सरासर गलत रहेको उनको भनाई छ । चुनाव जित्दाका बखत मन्त्री नबन्ने दाबी गरेका उनी राप्रपा सरकारमा हुँदा सबैभन्दा अन्तिम वरीयताको
राज्यमन्त्री बन्न तयार भएकाथिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*