बानियाँको असन्तुष्टिः पार्टीले प्रदेशलाई प्राथमिकतामा राखेन

साझाकुरा
२०८० श्रावण ४, बिहीबार १०:२८

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीले प्रदेश समितिलाई प्राथमिकतामा नराखेको गुनासो गरेका छन् ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश कार्यसमितिलाई ‘बाइपास’ गरिएको भन्दै बानियाँसहित अन्य ६ वटा प्रदेशका पार्टी सभापतिहरुले असन्तुष्टि राखेका थिए । प्रदेश सभापतिले प्रदेश कार्यसमितिलाई केन्द्रले ‘बाइपास’ गरेको भन्दै रोष प्रकट गरेका हुन् । महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत प्रतिवेदनमा प्रदेशको भूमिका उल्लेख नभएको भन्दै प्रदेश सभापतिहरुले प्रश्न उठाएका हुन् ।

यसअघि महामन्त्री थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुसँग गरेको बैठकबारे पनि प्रदेशलाई कुनै जानकारी नदिएको भन्दै विरोध भएको थियो ।पार्टी केन्द्रीय बैठकमा बागमती प्रदेश सभापति बानियाँले महामन्त्रीको कार्यक्रममा प्रदेश नभेटिएको बताएका छन् । ‘महामन्त्रीको कार्यतालिकामा प्रदेश कहीँ पनि भेटाइनँ । प्रदेश भनेको संघीय संरचनामा विकेन्द्रीकरण, पहिचान र प्रतिस्पर्धा हो । भूगोल, जात सबैको अस्तित्वलाई स्वीकारेर संघीयता आएको छ ।’,

उनले भने । संविधान अनुसार विधानमा कांग्रेसले प्रदेशलाई प्राथमिकतामा नराखेको उनको गुनासो छ । ‘यदि प्रदेश आवश्यक छैन भने कांग्रेसले नै मुलुकमा स्थानीय तह र केन्द्रमात्र हुन्छ भनेर नेतृत्व गरोस्’, बानियाँ भन्छन् ।महामन्त्रीको सांगठनिक तालिका हेर्दै जाँदा कांग्रेस संघीयताप्रति खुशी छैन कि भन्ने भान भएको बानियाँको तर्क छ । उनले मुलुकको संविधान र पार्टीको विधान संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए । पार्टीको विधान नेतामुखी नभइ नीतिमुखी बनाउनुपर्ने बानियाँको तर्क छ । ‘हाम्रो पार्टीको विधान केन्द्रिकृत भयो कि ? हामीले यसलाई कार्यकर्तामुखी विधान बनाउनुपर्छ’, बानियाँले भने, ‘विधानलाई परिस्कृत र परिमार्जन गर्दै नेताले पत्याएकाले टिकट पाउने होइन, पार्टीका साथीभाइले पत्याएको मान्छेले टिकट पाउने नीति बनाउनुपर्छ भन्ने कुरामा हामी लक्षित छौँ । विधानलाई संशोधन गर्नुपर्ने मैले देखेको छु ।’,

हिजो राजनीतिक आन्दोलनको नेतृत्व गरेको कांग्रेसले अब ‘भ्रष्टाचारमुक्त, सुशासनयुक्त’ समाजको नेतृत्व गर्नुपर्ने बानियाँको भनाइ छ । गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रदेश कार्यसमितिलाई बेवास्ता गरिएको बताए । उनले केन्द्रले सीधै जिल्ला र पालिकालाई सम्पर्क गर्ने काम गरेकोमा आपत्ति जनाए । कर्णाली प्रदेश सभापति ललितजंग शाहीले पनि प्रदेशलाई पार्टीले बेवास्ता गरेकोमा आपत्ति जनाए । मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले मधेस प्रदेशलाई पार्टीले पेल्ने काम गरेको बताए । गठबन्धनमा सिट बाँडफाँट र बजेट विनियोजनमा मधेसलाई उपेक्षा गरिएको उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर पनि महामन्त्री थापामाथि आक्रामक बने । उनले महामन्त्री थापाले प्रस्तुत गरेको कार्यक्रम कार्यान्वयनमा अवरोध आउने सम्भावना देखे । बलायरले भ्रातृसंस्था प्रदेशमा पनि गठनको जिम्मा दिन आग्रह गरे । कांग्रेसमा अहिले अनुशासनको विषय जल्दोबल्दो रहेको सभापति बलायरको भनाइ छ । लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले देशव्यापीरुपमा संघीयतामाथि प्रश्नचिन्ह खडा भइरहेका बेला प्रदेश सरकारलाई पनि कमजोर बनाउने र पार्टी संरचनालाई पनि कमजोर बनाउने तरिकाले केन्द्रीय नेताहरु चलेको आरोप लगाए । तलको संरचना खारेज गरिदिन सभापति पुनले चेतावनी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*