खर्च व्यहोर्न नसक्दा दुर्गममा पुगेन विद्यालय बस

निशा गुरुङ
२०८० श्रावण ६, शनिबार ११:३५

हेटौंडा- सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउने उद्देश्यले सामाजिक विकास मन्त्रालयले विद्यालय बस सेवा अनुदान कार्याक्रम अन्तर्गत सामुदायिक विद्यालयलाई बस सहयोग गर्दै आइरहेको छ । आर्थिक वर्ष २०७६÷७७ देखि मन्त्रालयले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सुविधाको लागि भन्दै बस सेवा संचालन सुरु गरेको थियो । त्यसका लागि प्रतिविद्यालय २५ लाख रुपैयाँ मन्त्रालयले अनुदान दिदै आएको छ ।

तर, मन्त्रालयले विद्यालय बस खरिद गर्नका निम्ति रकम उपलब्ध गराएपनि कतिपय दुर्गम जिल्लाका विद्यालयले बस सञ्चालन गर्ने खर्च व्यहोर्न नसक्दा विद्यालय बस माग गर्न सकेको छैन । बस सञ्चालन गर्न ईन्धन, चालक, मर्मतसंहार, दुर्घटना बीमा, अन्य भैपरिआउने खर्च विद्यालयले नै गर्नुपर्ने भएपछि प्रदेशका दुर्गम जिल्लाका कतिपय विद्यालयले बस आवश्यक भए पनि राख्न नसेको शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका निमित्त निर्देशक पूर्णबहादुर दर्जीले बताए ।

‘विद्यालय बस सञ्चालनका लागि विद्यालयले खर्च ब्यहोर्नु पर्ने हुन्छ । विद्यालयले सञ्चालन खर्च गर्न नसकेको अवस्थामा सम्बन्धित स्थानीय तहले ब्यहोर्ने गरी प्रतिबद्धतापत्र चाहिने हुन्छ,’ निमित्त निर्देशक दर्जीले भने, ‘सञ्चालन नै गर्न नसकेपछि हामीले बस मात्रै उपलब्ध गराएर पनि हुँदैन ।’ उनका अनुसार विद्यालयमा बसको माग गर्न आउने विद्यालय धेरै भएको बताए । उनले बागमती प्रदेश सुगम जिल्लाका विद्यालयबाट बस माग धेरै आएको बताए । दर्जीका अनुसार चितवन, मकवानपुर, काडमाडौं, धादिङ जिल्लाका विद्यालयबाट बस माग आउने गरेका छन् । प्रदेशकै दुर्गम जिल्ला रसुवा, नुवाकोट, काभ्रे, रामेछपा, सिन्धुपाल्चोकबाट बसको माग धेरै आउने गरेका छैनन् ।

मन्त्रालयका सचिव रामकृष्ण पुडासैनीका अनुसार बागमती प्रदेशका १३ वटा जिल्लामध्ये धेरै विद्यार्थी हुने, टाढाबाट आउनुपर्ने अवस्था भएका विद्यालयको मापदण्ड हेरेर बस उपलब्ध गराइने भए पनि दुर्गमका विद्यालयमा भने बस पुग्न सकेका छैनन् । गत आर्थिक वर्ष २०७९÷८० मात्रै सामाजिक विकास मन्त्रालयले २७ वटा बस वितरण गरेको छ । जस्मा प्रदेशकै दुर्गम मानिने रसुवा जिल्लाको एउटा मात्रै विद्यालयमा बस पुगेको छ ।

गत वर्ष रसुवा जिल्लाको कोभेनस्यामे वाङछेल माध्यमिक विद्यालयमा मात्रै बस पुगेको हो । त्यसैगरी, प्रदेशको अर्काे दुर्गम जिल्ला रामेछापमा पनि एक विद्यालयमा मात्रै बस पुगेको छ । जिल्लाको डहु माध्यमिक विद्यालयमा मात्रै बस पुगेको हो । सिन्धुपाल्चोकले पनि एउटा विद्यालय बस पाएको छ । सिन्धुपाल्चोकको साँगाचोकडी गाउँपालिकामा रहेको सिद्धिगणेश माविले बस पाएको छ ।

गत वर्ष मकवानपुर, धादिङ र चितवनका विद्यालयले सबै भन्दा धेरै बस पाएका छन् । सबै भन्दा धेरै ५ वटा बस पाउने जिल्ला मकवानपुर रहेको छ । धादिङका ४ विद्यालयले बस पाएका छन् भने चितवनका ४ विद्यालयले बस पाएका छन् । मकवानपुरको थाहानगरपालिकाको बागेश्वरी मावि, बागमती गाउँपालिकाको जनता मावि, हेटौंडा उपमहानगरपालिकाको महेन्द्र मावि, इन्द्रसरोवर गाउँपालिकाको सरस्वती बालबोधिनी मावि र मकवानपुरगढी गाउँपालिकाको चण्डिका माविले विद्यालय बस पाएका छन् ।

त्यसैगरी, काठमाडौंको १, काभ्रेको २, दोलखाको २, नुवाकोटको २ वटा सामुदायिक विद्यालयमा बस पुगेको छ। भक्तपुरको १, ललिपुरको १ र सिन्धुलीको २ वटा सामुदायिक विद्यालयमा बस पुगेको शिक्षा विकास निर्देशनालय बागमती प्रदेश कार्यालयले जनाएको छ ।

पाँच वर्षमा ४१ विद्यालयलाई बस

सामाजिक विकास मन्त्रालयले बितेको पाँच वर्षमा बागमती प्रदेशका ४१ वटा विद्यालयलाई बस खरिद गरेर पठाइसकेको छ । जसमध्ये मकवानपुरको ५ वटा सामुदायिक विद्यालयमा बस सञ्चालन भएको छ ।

काभ्रेपलाञ्चोकको ५ वटा विद्यालय, सिन्धुलीको ८ वटा सामुदायिक विद्यालय, सिन्धुपाल्चोकको ४ वटा विद्यालय, चितवनका ३ र धादिङको ३ वटा सामुदायिक विद्यालयमा बस सञ्चालनमा छन् । काठमाडौंको २, ललितपुरको २, भक्तपुरको २, दोलखाको ३, नुवाकोटको २, रामेछापको २ र रसुवाको एक सामुदयिक विद्यालयमा बस सञ्चालनमा छन् ।

सामुदायिक विद्यालयमा बस सेवाले शैक्षिक गुणस्तरलाई समेत सहयोग पु¥याउने अपेक्षा सरकारले लिएको छ । बसको सुविधा भएमा विद्यार्थी एक÷दुई घण्टा हिँड्दा थकित हुने र पढाइमा असर गर्ने अवस्थाको अन्त्य हुने र यसले सिकाइ उपलब्धी बढाउने अपेक्षा सरकारले गरेता पनि विद्यालयमा स्रोत नहुँदा दुर्गम जिल्लाका विद्यालयमा भने बस पुग्न सकेका छैनन् ।

सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सामुदायिक विद्यालयमा बस सेवाले विद्यार्थी खुशी हुनुका साथै विद्यालय जाने वातावरण पनि बनेको बताइन् । उनले बस सेवाले सामुदायिक विद्यालयका विद्यार्थी घण्टौं हिँड्नुपर्ने समस्याको सामाधान हुनुका साथै विद्यार्थीमा पढ्ने उर्जा मिल्ने दाबी गरिन् । उनले भनिन्, ‘सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै अतिविपन्न विद्यार्थीको भविष्य सुनश्चित गर्न हामीले बस सेवा सञ्चालन गरेका हौं ।’

यसमा तपाइको मत

Your email address will not be published.


*