मनहरीमा शिक्षकले पाउने भए मासिक रुपमै तलब

साझाकुरा
२०८० श्रावण ६, शनिबार ११:५३

हेटौंडा-जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई मासिक रुपमा तलब उपलव्ध गराउने भएको छ ।गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ बाट सामुदायिक विद्यालयका शिक्षकलाई मासिक रुपमा तलव उपलव्ध गराउने भएको हो । मकवानपुरमा यसअघि राक्सिराङ गाउँपालिकाले शिक्षकलाई मासिक रुपमा तलब उपलब्ध गराउँदै आएको थियो । सम्भवतः राक्सिराङपछि शिक्षकलाई मासिक तलब उपलब्ध गराउनेमा मनहरी पर्ने भएको छ ।

यसअघि त्रैमासिक रुपमा संघीय सरकारको सशर्त अनुदानबाट तलब खाने शिक्षकहरु (दरबन्दी राहत अनुदान कोटाका शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारी) लाई गाउँपालिकाले मासिक रुपमै तलव उपलव्ध गराउने नीति ल्याएको शिक्षा शाखाप्रमुख हरिचन्द्र सापकोटाले जानकारी दिए ।गाउँपालिकाले ठूलो लगानी गरेको शिक्षा क्षेत्रमा शिक्षकको मनोबल वृद्धि र प्रोत्साहनका लागि पनि यो कदम अघि सारिएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिए ।

‘जबसम्म शिक्षकको आवश्यकता परिपूर्ति र उनीहरुको श्रमको उचित मूल्यांकन हुँदैन, तबसम्म शिक्षामा परिवर्तन सम्भव छैन’, शिक्षा समितिका संयोजक समेत रहेका अध्यक्ष कालाखेतीले भने, ‘त्यसैले यस वर्षदेखि मासिक रुपमा शिक्षकको बैंक खातामै जाने गरी तलव दिनेछौँ ।’,गाउँपालिकाले शिक्षकलाई निश्चित समय दिएर अनिवार्य बैंक खाता उपलब्ध गराउन सूचनासमेत जारी गरेको छ । सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडमा खोलिएको खाताको विवरण बुझाउन शिक्षकलाई गाउँपालिकाले २० साउन २०८० सम्मको समय दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*