प्रतियोगिता, प्रशिक्षण र खेलाडी प्रोत्साहन गर्ने

मकवानपुर जिल्ला खेलकुदको वार्षिक कार्ययोजना
साझाकुरा
२०८० श्रावण ७, आईतवार ११:०६

हेटौंडा-मकवानपुर जिल्ला खेलकुद विकास समितिले चालु आर्थिक वर्ष २०८०÷०८१ को लागि वार्षिक कार्ययोजना बनाएको छ । समितिले प्रत्येक संघले कम्तिमा एउटा जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्ने, खेलाडीहरुको प्रशिक्षणको प्रभावकारी व्यवस्थापन गर्दै खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि ल्याएको छ ।समितिका अध्यक्ष भेष खड्गीको अध्यक्षता तथा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यतामा मकवानपुरको मार्खुमा भएको बैठकले जिल्ला प्रतियोगिताको मिति तय गर्ने, खेल संघहरुको सक्रियता बढाउने, रेफ्रि रिफ्रेस कोर्ष सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै, प्रतियोगिताको लागि प्रोत्साहन गर्न जिल्ला प्रतियोगितालाई २५ हजार रुपियाँसम्म, प्रदेशस्तरको प्रतियोगिताहरुलाई ४५ हजार रुपियाँसम्म र राष्ट्रिय प्रतियोगिताको लागि एक लाखरुपियाँसम्म समितिले सहयोग गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रपति रनि· सिल्डअन्तर्गत् स्थानीय तहको छनौट मंसिर महिनाभित्र सम्पन्न गर्न पालिका खेलकुद विकास समितिसंग समन्वय गर्ने, जिल्ला प्रतियोगिता माघ १५ गतेभित्र सम्पन्न गर्ने र जिल्ला प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई प्रदेश प्रतियोगितामा जानुअघि १५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको छ । प्रदेशले तोकेको मितिमा जिल्ला छनौट गरेर तेस्रो प्रदेश प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई पनि १५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय बैठकले गरेको छ ।

बैठकले खेलाडीको नियमित प्रशिक्षणमा जिखेविस र सम्बन्धित संघहरुले जिम्मेवारीपूर्ण तरिकाले काम गर्ने, प्रशिक्षकहरुले नियमित प्रशिक्षण दिए÷नदिएको
बारे संघ र समितिबाट नियमित अनुगमन गर्ने, विद्यालयहरुसंग समन्वय गरेर प्रशिक्षणका लागि वातावरण बनाउने, स्वयम्सेवक प्रशिक्षकहरुलाई प्रशिक्षणका लागि सहजीकरण गर्ने, अन्तर पालिका फुटबल प्रतियोगिता फागुनमा गर्ने, हेटौंडा उपमहानगरसंग समन्वय गरेर विभिन्न प्रतियोगिता आयोजना गर्ने, क्लब तथा संस्थाहरुले गर्ने प्रतियोगिताहरुमा खेल सामग्री सहयोग गर्ने निर्णय गरेको छ ।

यसैगरी, समितिले अफिसियल राष्ट्रिय प्रतियोगितामा स्वर्ण, रजत र काश्य पदक प्राप्त खेलाडीहरुलाई ३०, २० र १० हजार रुपियाँ नगदसहित सम्मान गर्ने, टिम गेमका सम्बन्धमा सोहीअनुसार निर्णय गरी पुरस्कृत गर्ने, प्रदेश खेलकुद परिषद्द्वारा आयोजना हुने तथा राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा स्वर्ण, रजत र काश्य पदक बिजेता खेलाडीहरुलाई १०, सात र पाँच हजार रुपियाँ, राष्ट्रपति रनिङ शिल्ड प्रदेश प्रतियोगितामा स्वर्ण, रजत र काश्य पदक बिजेता खेलाडीहरुलाई क्रमशः पाँच, चार र तीन हजार रुपियाँका दरले नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको छ ।

समितिले यी सबै कार्यक्रमहरुलाई आर्थिक स्रोत व्यवस्थापन गर्न प्रदेश खेलकुद विकास परिषद्, प्रदेश सरकार, जिल्ला समन्वय समितिमार्फत् हेटौंडा उपमहानगरसहित सबै स्थानीय तह, खेलकुद महोत्सव आयोजना गर्ने र विभिन्न उद्योगि प्रतिष्ठान, व्यावसायिक तथा सहयोगी दाताहरुसंग समन्वय गर्ने निर्णय गरेको समितिका कार्यालय प्रमुख माधव कोइरालाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*