मकवानपुरमा मनाइयो बीपी स्मृति दिवस

साझाकुरा
२०८० श्रावण ७, आईतवार ११:२३

हेटौंडा- मकवानपुरमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।नेपाली कांग्रेस मकवानपुरले बीपीको ४२ औं स्मृति दिवसको अवसरमा शनिवार चियापान तथा मकवानपुरबाट कांग्रेसको पार्टी, भातृ तथा शुभेच्छुक संस्थामा मनोनित भएका नेताहरुलाई बधाई ज्ञापन गरिएको छ ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको बीपी स्मृति कार्यक्रममा पार्टी र विभिन्न भातृ एवं शुभेच्छुक संस्थामा मनोनित भएका २३ जना केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो । कांग्रेस बागमती प्रदेशका संगठन विभाग प्रमुख माइकल रामचन्द्र अर्याल, जिल्ला सभापति लामा र जिल्ला उपसभापति आनन्द कठायतले बीपीले गरेको संघर्ष र योगदानको बारेमा चर्चा गरेका थिए ।

१९७१ भदौ २४ गते जन्मेका कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्दै २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएका बीपीको २०३९ साउन ६ गते निधन भएको थियोे । चियापान तथा बधाई कार्यक्रममा निको अस्पताल प्रालि, तमु फार्मेसी हेटौंडाद्वारा स्वास्थ्य जाँचसमेत गरिएको कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले जानकारी दिए ।
यसैगरी, नेपाल विद्यार्थी संघ मकवानपुरले ४१ औं बीपी स्मृति दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम गरेको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा रहेको मनकामना सामुदायिक वन उपभोक्ता समूह परिसरमा वृक्षरोपण गरिएको हो । संघका अध्यक्ष सुवास सापकोटाको सभाध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीको प्रमुख आतिथ्यतामा वृक्षरोपण गरिएको थियो । कार्यक्रममा पार्टीको जिल्ला सदस्य एंव सूचना तथा सञ्चार विभाग प्रमुख शिवप्रसाद खतिवडा (राजु), नेपाली कांग्रेसका नेता यतिराज सापकोटा, भीम लामा, मीठाराम दाहाल, मनकामना सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष सर्कलाल लोलगायतको आतिथ्यता थियो ।

कार्यक्रममा नेविसंघ जिल्ला उपाध्यक्षद्वय सुसन रुम्बा र सन्तोष चौलागाईं, नेविसंघ जिल्ला सचिवद्वय सुनिल बोम्जन र आशिष बास्तोला, नेविसंघ जिल्ला सदस्य तथा स्ववियु मकवानपुर बहुमुखी क्याम्पस सचिव वर्षाद घिमिरे, जिल्ला सदस्यद्वय बुद्ध बराम र बुद्धराज सिंतान, नेविसंघ नेता उमेशलाल स्याङ्तान र स्ववियु मकवानपुर बहुमुखी क्याम्पस सदस्य आयुषा तिमल्सिनालगायतको सहभागी रहेको वृक्षरोपण कार्यक्रमका संयोजक एंव नेविसंघ जिल्ला सदस्य सोमलाल घलान (भुवन) ले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*