सामुदायिक क्याम्पसमा पहिलोपटक ‘एचएम’
हेटौंडा- मकवानपुरको पुरानो सामुदायिक शैक्षिक संस्था हेटौंडा क्याम्पसले पहिलो पटक होटल म्यानेजमेन्ट (एचएम) पढाई सुरु गर्ने भएको छ ।हेटौंडा क्याम्पसले कक्षा ११ देखि होटल म्यानेजमेन्टको पढाई सुरु गर्नेगरी भर्ना आह्वान गरेको छ । निजी क्याम्पसहरुले होटल म्यानेजमेन्टको कक्षा सञ्चालन गरिरहेको भएता पनि सामुदायिक क्याम्पसबाट हेटौंडामा पहिलो पटक आफूहरुले भर्ना सुरु गरिएको हेटौंडा क्याम्पसका क्याम्पसप्रमुख देवचन्द्र मानन्धरले बताए । होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीको संख्या बढ्दै गएको पाइएपछि आफूहरुले अत्यन्तै सहुलियत शुल्कमा अध्ययन गराउन लागिएको मानन्धरले बताए । यसवर्ष क्याम्पसले ४० जना मात्रै विद्यार्थी भर्ना लिने जनाएको छ ।
एसईईमा १ दशमलव ६ भन्दामाथि जीपीए ल्याउने विद्यार्थीले होटल म्यानेजमेन्ट अध्ययन गर्न पाउनेछन् । होटल म्यानेजमेन्ट अध्यापनको लागि क्याम्पसलाई हेटौंडा–४ नम्बर वडाले प्रयोगात्मक पाटोमा साथ दिने भएको छ । ४ नम्बर वडा कार्यालयमार्फत् अत्याधुनिक होटल म्यानेजमेन्ट ल्याब, किचेन, रेष्टुरेन्ट, बार निर्माणको काम भइरहेको क्याम्पसप्रमुख मानन्धरले जानकारी दिए ।
१२ कक्षा पास गरिसके पछि माथिल्लो कक्षा पढ्न काठमाडौं जानुपर्ने बाध्यता हटाउन आफूहरुले नै स्नातक तहमा होटल म्यानेजमेन्टको पढाई गर्ने सोच पनि बनाएको उनले बताए । हाल क्याम्पसले होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीलाई मासिक तीन हजार शुल्क निर्धारण गरेको छ भने भर्ना १० हजार र वार्षिक प्रयोगात्मक शुल्क ८ हजार तय गरेको छ । हाल कार्यरत जनशक्तिले नै होटल म्यानेजमेन्ट अध्यापन गराउन सक्ने अवस्था रहेको बताउँदै प्रमुख मानन्धरले ल्याब लगायत प्रयोगात्मक कक्ष निर्माणमा हेटौंडा उपमहानगरले सहयोग गर्ने जानकारी दिए ।