उपमहानगरले डेङ्गु नियन्त्रण गर्ने अभियान संचालन गर्ने

साझाकुरा
२०८० श्रावण ८, सोमबार १०:४४

हेटौंडा- डेङ्गुको उच्चजोखिममा रहेको हेटौंडा उपमहानगरपालिका क्षेत्रमा सङ्क्रमण रोक्न पूर्वतयारी थालिएको छ । हेटौंडा उपमहानगरले कार्यपालिका बैठकमै छलफल गरेर डेङ्गु नियन्त्रणको अभियान सुरु गर्न लागेको हो ।उपमहानगरपालिकाले स्वास्थ्य साखामार्फत यसको अभियान सुरु गर्न लागेको हो । बर्षायाम सुरु भएकाले डेङ्गुको जोखिम बढ्दै गएपछि यसको नियन्त्रणका लागि अभियान सुरु गर्न लागिएको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताएका छन् ।

हेटौंडामा डेङ्गुको जोखिम उच्च रहेकाले नियन्त्रणका लागि पूर्वतयारीका साथ कार्ययोजना तयार पारेर कार्यपालिका बैठकमा छलफल भएको र अब काम सुरु गरिने प्रबक्ता न्यौपानेले बताए । लामखुट्टे बसोबास गर्न सक्ने ठाउँ, सवारीसाधन मर्मत गर्ने ठाउँ, पानी जम्ने ठाउँ, उद्योग, कलकारखानालगायतमा नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिन अभियान सञ्चालन गरिने भएको हो । रोगको संक्रमण बढ्न नदिने रणनीति उपमहानगरले अपनाउन खोजेको बताइएको छ । यसका लागि सबै वडामा रहेका टोल विकास संस्थाहरुलाई क्रियाशील गराइने भएको छ ।

बिगतका वर्षहरुमा पनि डेङ्गुका कारण धेरै बिरामी परेको र यसवर्ष पनि डेङ्गुका विरामी हेटौंडा अस्पतालमा देखापर्न थालेका छन् । त्यसैले यसको नियन्त्रणका लागि अभियान नै सुरु गरिने भएको हो । लामखुट्टेको बासस्थानको ‘खोज र नष्ट गर’ राष्ट्रिय अभियान सञ्चालन गर्ने, उपमहानगरपालिकाको स्वास्थ्य प्राविधिक, उपलब्ध आपूर्ति व्यवस्था मिलाउने, स्थानीय तहका स्वास्थ्यशाखा, विद्यालय र स्थानीय स्वास्थ्यसंस्थालाई डेङ्गुविरुद्धको प्रतिकार्य सञ्चालन गर्न आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*