नक्कली कार्यालय खोलेर ठगेको आरोपमा मकवानपुरका ‘लीला’ पक्राउ

साझाकुरा
२०८० श्रावण ९, मंगलवार १०:४३

हेटौंडा-विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गर्ने दुईजना पक्राउ परेका छन् । ठगीमा संलग्न तीनजना फरार छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै बुढानीलकण्ठमा घर भाडामा लिई खाद्य कार्यक्रमको कार्यालय खोलेको र बोलपत्र आह्वान गरेर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मेलम्ची घरभई गोकर्णेश्वर बस्ने जयराम केसी भन्ने घनश्याम कटुवाल र मकवानपुर घरभई बूढानीलकण्ठ बस्ने दिनेश भन्ने लिलाबहादुर भोलोन छन् । त्यस्तै दीपेश गुरुङ भन्ने भीम भोलोन, आकाश राई भन्ने मिलन तामाङ र पेम्बा तामाङ नाम बताउने व्यक्ति फरार रहेकोले खोजी भइरहेको प्रहरीले बताएको छ ।

उनीहरुले गत जेठ १ गते विश्व खाद्य कार्यक्रमको कार्यालय खोली फर्निचरलगायतका कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न समानहरु तथा खाद्य सामग्रीहरु खरिद गर्न बोलपत्र आव्हान गरी, बोलपत्र स्वीकृतसमेत गरी विभिन्न सामान ल्याई रकम भुक्तान नगरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरीवरिष्ठउपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीका अनुसार घनश्यामले आफू प्रमुख रहेर केही महिनाअघि बुढानीलकण्ठमा मासिक एक लाख ८० हजार रूपैयाँ भाडा तिर्ने गरी गत जेठ १ गते घरमा कार्यालय राखेका थिए । उनले आफूलाई नेपाल सरकारको उपसचिवका रुपमा त्यस कार्यालयमा चिनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार कटुवालले कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचरलगायत सामग्रीका लागि जेठ ६ गते राजधानी राष्ट्रिय दैनिकमा ६ करोड ५० लाख रुपैयाँ बराबरको बोलपत्र आह्वान सम्बन्धी विज्ञापनसमेत गरेको पाइएको छ । तर, सप्लाइकर्तालाई कटुवालले सामानको भुक्तानी नगरेपछि ठगीधन्दा बाहिरिएको हो ।

उनले शंकर अर्याल भन्ने व्यक्तिसँग स्कार्पियो भाडामा लिएको र ६ लाख १२ हजार ५ सय रुपैयाँ नगद पनि ठगेको, हरिप्रसाद अर्यालसँग ४८ लाख रुपैयाँको बोलपत्र स्वीकृत गरी ८ लाख ३६ हजार ९ सय रुपैयाँको सामान लगेर भुक्तानी नगरेको, नवराज पाण्डेसँग ८५ हजार रुपैयाँ बराबरको सामान लगेर भुक्तानी नगरेको, दीपेन्द्र धरेलसँग १५ लाख ६० हजार ३ सय ४ रुपैयाँ बराबरको सामान लगेर भुक्तानी नगरेको, गणेश शाहसँग बोलपत्रको धरौटीबापत ११ लाख २७ हजार ९ सय ५० रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

कटुवालको कार्यालयबाट नेपालको राष्ट्रिय झण्डाहरु, अन्तर्राष्ट्रिय खाद्यसुरक्षा कार्यक्रम लेखिएको छाप र लेटरप्याडलगायत सामग्री बरामद भएको छ । कटुवलाले आफ्नो कार्यालयमा शाखाअधिकृतदेखि प्राविधिक इन्जिनियर र जनसम्पर्क अधिकृतसम्म पद बिभाजन गरेर कर्मचारी राखेका थिए । प्रहरीका अनुसार कटुवाल केही महिनाअघि मात्र बैंकिङ कसुर र ठगी मुद्दामा ३ वर्ष जेल बसेर छुटेका थिए । प्रहरीले कटुवालबाहेक ४० वर्षीय लीलाबहादुर भोलोनलाई पनि पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*