बहुप्राविधिक शिक्षालय निर्माणमा चरम ढिलासुस्ती

साझाकुरा
२०८० श्रावण १०, बुधबार ११:२९

हेटौंडा-भारत सरकारको सहयोगमा हेटौंडामा निर्माण थालिएको बहुप्राविधिक शिक्षालय निर्माण कार्य अत्यन्तै सुस्त गतिमा भइरहेको छ । सम्झौता अवधि थप गरिए पनि भारतीय निर्माण कम्पनीकै ढिलाइले हालसम्म ४२ प्रतिशत मात्रै काम सकिएको छ ।प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेर निर्माण थालिएको महाविद्यालयको काममा भारतीय ठेकेदारकै लापरवाही देखिएको छ । प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले २०७६ कात्तिक १९ गते बहुप्राविधिक महाविद्यालयको सिलान्यास गरेका थिए ।

हेटौंडा–६ गौरीटारस्थित चित्रेपानी सामुदायिक वन समूहको जमीनमा बहुप्राविधिक महाविद्यालय निर्माण गर्न सन् २०१९ अगस्ट ३१ मासम्झौता भएको थियो । ३६
करोड ५२ लाख ८६ हजार भारतीय रुपैयाँमा टेलिकम्युनिकेशन ईन्डियाले भवन निर्माणको ठेक्का पाएको थियो ।नेपाल भारतमैत्री बहुप्राविधिक शिक्षालयका प्रमुख टीकाराम तिमल्सिनाले पूर्णरुपमा संरचना तयार भइनसक्दा पनि अध्ययन भने गराइरहेको बताए । सन् २०२१ अगस्ट ३० सम्म निर्माण सम्पन्न गर्ने सम्झौता थियो । तर, निर्माणमा देखिएको चरम ढिलाइले १८ महिना समय थपियो । २०२२ जुलाई ३१ भित्रै निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि भारतीय निर्माण कम्पनीले भुक्तानी नदिँदा काम गर्न नसकिएको नेपालको शान्ति आरोग्य जेभी निर्माण कम्पनी प्रालिको दाबी छ ।

निर्माण कार्यको जिम्मा लिएको शान्ति आरोग्य कम्पनी प्रालिका साइट इन्जिनियर दिनेश सापकोटा भन्छन्– काम तीब्रगतिमा हुन सकेको छैन । उनले तीनवटा बिल पेश गरेपनि भुक्तानी हुन नसकेको गुनासो गरे । कन्सल्टेन्सीले दिएको ‘बिओक्यू’ अनुसार कामको परिमाण नमिलेका कारण पुनःसंशोधन गर्नुपर्ने भएको र सोका लागि
अनुमति पाउन नसकेको सापकोटाले जानकारी दिए ।

१७ हेक्टर जग्गामा बहुप्राविधिक महाविद्यालयका भवनहरु बनिरहेका छन् । प्रशासनिक र प्राज्ञिक भवन, सभाहल, पुस्तकालय, आवासीय भवन निर्माण भइरहेको छ । थप गरिएको समय गुज्रेर एक वर्ष हुँदा महाविद्यालय निर्माणको भौतिक प्रगति ४२ प्रतिशत पुगेको बताइएको छ । लामो तथा छोटो अवधिका प्राबिधिक शिक्षा दिएर युवालाई स्वरोजगार बनाउने योजना सहित स्थापना भएको शिक्षालयको प्रगति निराशाजनक रहेको स्थानीयले बताएका छन् ।

पुनः म्याद थप्नका लागि परराष्ट्र मन्त्रालय र भारतीय दुतावासामा पत्राचार गरिएको छ । संरचना बनेपछि ३ वर्षे डिप्लोमा मेकानिकल, मेकाथ्रोलिक्स र अटोमोबाइल विषय पढाइ हुने नेपाल भारत मैत्री बहुप्राविधिक शिक्षालयका प्रमुख तिमल्सिनाले बताए । नेपालको मध्य तराईमा रहेका औद्योगिक प्रतिष्ठानमा आवश्यक
पर्ने प्राबिधिक जनशक्ति तयार गर्ने उद्देश्यले शिक्षालय स्थापना गरिएको हो ।

संरचना बनेर हस्तान्तरण भएपछि यो महाविद्यालयबाट वार्षिक २ हजार विद्यार्थीले अध्ययनको अवसर पाउनेछन् । तर, अहिले भने स्थान अभावकै कारण ४८ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव भारत भ्रमणमा गएका बेला यो महाविद्यालय निर्माण गर्ने बिषयमा दुइदेशीय सम्झौता भएको थियो ।
नेपालमा यस्ता विद्यालय बालाजु, बुटवल, नेपालगञ्ज, विराटनगर र हेटौंडामा गरी जम्मा ५ वटा मात्र रहेका छन् । हटौंडामा निर्माण भइरहेको यो विद्यालयलाई प्राविधिक शिक्षातर्फको महत्वपूर्ण योजनाको रुपमा लिएको बागमती प्रदेश सरकारले बताएको छ । विद्यालय बनिसकेपछि २२ देखि २४ वटा संकायको पढाइ हुने बताइएको छ ।

संरचना बनिसकेपछि नेपालका मात्र नभएर अन्य देशबाट समेत विद्यार्थीहरु यहाँ पढ्न आउने प्रदेश सरकारको दाबी छ । यद्यपि प्रदेश सरकारले निगरानी नराख्दा निर्माण कार्य ढिला भई आफूहरुलाई समस्या भएको विद्यार्थीहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*