डिजिटल विधिबाट जग्गा छुट्याउँदै मत्स्य केन्द्र हेटौंडा

साझाकुरा
२०८० श्रावण १२, शुक्रबार ११:५२

हेटौंडा- प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौंडाले अतिक्रमित क्षेत्रको पहिचान गर्न बिहीवारदेखि डिजिटल विधिबाट जग्गा छुट्याउन सुरु गरेको छ ।
नापी कार्यालय हेटौंडाका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा डिजिटल मेसिनबाट प्वाइन्ट खिच्ने र अतिक्रमित क्षेत्र छुट्याउने काम सुरु गरिएको केन्द्रका प्रमुख सरोजकुमार यादवले जानकारी दिए । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्रको नाममा रहेको जग्गा र भवन अतिक्रमण भएको देखिएपछि जग्गा छुट्याउन ६ साउनमा डिजिटल नक्सांकन गर्ने निर्णय भएको थियो ।

केन्द्रको नाममा रहेको ४९ हेक्टर जग्गामध्ये १३ विगाह १३ कठ्ठा १० धुर जग्गा अतिक्रमण भएको खुलेको थियो ।मत्स्य प्रवद्र्धन केन्द्रले आफ्नो अतिक्रमित भएको जग्गाको विवरण जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई जेष्ठ ८ गते जानकारी गराएको थियो । कित्ता नम्बर ९६ को ८ विगाह १३ कठ्ठा १८ धुर जग्गामा पिप्ले युवा क्लवले रंगशाला निर्माण, हेल्थपोष्ट र कार्यालयको भवनसमेत अतिक्रमण गरी रेष्टुरेन्ट सञ्चालन गरिएको जनाएको थियो । कित्ता नम्बर ९६ को २ कठ्ठा १ दशमलव ५ धुर अतिक्रमित जग्गामा उद्धव चौलागाईंले जस्ताको टहरा बनाई पसल सञ्चालन गरेको, सनम श्रेष्ठले १ कठ्ठा १ दशमलव ५ धुर जगमा जस्ताकै टहरा बनाइ रेष्टुरेन्ट सञ्चालन गर्न भाडामा दिएको उल्लेख छ ।

कृष्णप्रसाद पुरी, रामकृष्ण कुँवर, विष्णु दंगालले क्रमशः १ कठ्ठा १२ धुर, १ कठ्ठा ३ धुर, २ कठ्ठा ५ धुर सरकारी जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरी रेष्टुरेन्ट सञ्चालन गर्न भाडामा दिएको खुलेको हो । जीतलाल महर्जनले १ कठ्ठा ३ धुर जग्गा अतिक्रमण गरी जस्ताको टहरा बनाई पसल सञ्चालन गरेका छन्, भने प्रेमबहादुर परियारले १ कठ्ठा क्षेत्रफलमा रहेको केन्द्रको भवन नै अतिक्रमण गरी कुखुरापालन गरेको तथ्य बाहिर आएको थियो । कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रअनुसार कालु स्याङ्तान र पदमबहादुर खड्काले १ कठ्ठा ५ धुर र २ कठ्ठा चार धुर जग्गा अतिक्रमण गरी रेष्टुरेन्ट सञ्चालन गरिरहेको केन्द्रले जानकारी दिएको छ ।

केन्द्रको ४९ हेक्टर जग्गामध्ये नापी कार्यालय र मालपोत कार्यालय हेटौंडाको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा पास गरेको पाइएपछि कार्यालयले डिजिटल नक्सांकन गर्ने निर्णय गरेको थियो । सरकारी जग्गालाई ८÷९ धुरमा विभाजन गरी १० जनाको नाममा पास भएको पाइएको केन्द्रका प्रमुख यादवले बताए । व्यक्तिको नाममा सरकारी जग्गा पास भएको विषयमा मालपोत कार्यालयलाई जानकारी गराएको यादवले बताए । जग्गाको नापजाँच गरेपछि केन्द्रको जग्गा अतिक्रमण भएको यकिन तत्थ्य पत्ता लाग्ने यादवको विश्वास छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*