प्याब्सनद्वारा एउटै मञ्चमा १ सय ७१ विद्यार्थीको सम्मान

साझाकुरा
२०८० श्रावण १२, शुक्रबार १२:०६

हेटौंडा- निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)मकवानपुरले एउटै मञ्चमा १ सय ७१ जना विद्यार्थीलाई सम्मान गरेको छ ।निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले मकवानपुरबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने संस्थागत विद्यालयका विद्यार्थीलाई हेटौंडामा बिहीवार सम्मान गरेको हो । संस्थागत विद्यालयबाट एसईई परीक्षामा औसत ३ दश्मलव ६ जीपीए भन्दा माथि अंक ल्याउने १ सय ७१ विद्यार्थीलाई एकैपटक सम्मान प्रदान गरिएको प्याब्सनका अध्यक्ष विनोद सुवेदीले जानकारी दिए ।

एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले सम्मान प्रदान गरेकी छन् ।विद्यालयतर्फ हेटौंडा–१८ मा रहेको मकवानपुर बालविद्या सदनले ३ दश्मलव ३३ अंक पाउँदै सस्थागत विद्यालयतर्फ उत्कृष्ट भएको थियो । मेयर लामाले परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई उज्जवल भविष्यको शुभकामना दिँदै उपमहानगरपालिका शैक्षिक गतिविधिलाई परिवर्तन गर्ने पक्षमा रहेको बताइन् । हालको शिक्षाले रोजगारी भन्दा पनि बेरोजगारको संख्या बढाउँदै लगेका भन्दै नगरमा इन्जिनियरिङ, कृषि र कानुनको शिक्षा सञ्चालनको पक्षमा रहेको जानकारी दिइन् ।

अध्यापनमा आउने समस्या हटाउनका लागि उपमहानगर पालिकाको ढोका संधै खुल्ला रहेको भन्दै उनले समस्या समाधानका लागि आफू तयार रहेको बताइन् । लामाले निजी क्षेत्रले शिक्षामा गरेको ठुलो लगानीबाट राम्रो जनशक्ति उत्पादन भएको बताइन् ।सामुदायिक विद्यालयका लागि सरकारले गरेको लगानी उत्पादनमुखी नभएको उनको भनाई थियो । संस्थागत विद्यालयमा र सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको सुविधामा रहेको अन्तरअनुसार सामुदायिक विद्यालयका शिक्षकले काम गर्न नसकेको
भन्दै अब कसैलाई देखाएर पन्छिने र भाग्ने काम हुननहुने उनको भनाई थियो ।

प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम, प्याब्सन बागमती प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, संस्थागत विद्यालय अभिभावक संघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, प्याब्सनका सल्लाहकार मदन दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*