कैलाश गाउँपालिकाको वार्षिक प्रगति ७८ प्रतिशत

साझाकुरा
२०८० श्रावण १३, शनिबार १४:३२

हेटौंडा- मकवानपुरको कैलाश गाउँपालिकाको बार्षिक प्रगति ७८.६६ प्रतिशत रहेको छ । गाउँपालिकाले शुक्रबार बार्षिक समीक्षा कार्यक्रम गर्दै प्रगति सार्वजसनिक गरेको हो ।
कार्यक्रममा आर्थिक शाखाप्रमुख नवीन धितालले आव २०७९÷८० को बार्षिक विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार गाउँपालिकाको वार्षिक प्रगति चालुतर्फ ८३.९ प्रतिशत र पूँजिगत खर्च ७१.६१ प्रतिशत गरी ७८.६६ प्रतिशत रहेको छ ।

कार्यक्रममा योजना तथा प्राविधिक शाखाका अधिकृत सुरेश न्यौपाने र सहायक पुष्पराज नेगीले गाउँपालिकामा १८५ योजनामध्ये ९८ प्रतिशत सम्पन्न भएको जानकारी दिए । राजस्व शाखाका विक्रमबहादुर थिङले प्रस्तुति गर्दै १ करोड १४ लाख ८२ हजार ८ सय १५ रुपैयाँ आन्तरिक आम्दानी भएको जानकारी दिए । यो गत आव भन्दा २०.७९ प्रतिशत कम हो । आव २०७८÷७९ मा १ करोड ४४ लाख ९६ हजार ३ सय ३५ रुपैयाँ आन्तरिक आम्दानी भएको थियो ।

कार्यक्रममा न्यायिक सहजकर्ता अस्मिता थापाले प्रस्तुति दिंदै आव २०७९÷८० मा ५ वटा मुद्दा निरुपण गरेको जानकारी दिइन् । महिला बालबालिका शाखाका हस्तराम नेगीले प्रस्तुति गर्दै ७ वटा कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए । उनले शाखाले वडागत रुपमा शिविर गरेको र १५२ जनाले शिविरबाट अपांगता परिचयपत्र वितरण गरिएको बताए ।

कृषि तथा पशु विकास शाखाका राहुल सेन्चुरीले १४० जनालाई अनुदानमा स्प्रे पम्प वितरण, ५ वटा कृषि समूहलाई टनेल वितरण, माटो परीक्षण, धानको बीउ वितरण, बाख्रापालन, आकस्मिक पशुरोग नियन्त्रण कार्यक्रम, औषधि खरिद लगायत काम गरेको जानकारी दिए । उद्यम विकास शाखाकी प्रमिला अर्यालले सुशासनको अभ्यास, नयाँ उद्यमी सिर्जना, समूहमा प्रविधि हस्तान्तरण लगायतका कार्यक्रम भएको जानकारी दिइन् ।

कार्यक्रममा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका अर्पण लामा घिसिङ, जिन्सी तथा सूचना प्रविधि शाखाका प्रकाश राई, शिक्षा, युवा तथा खेलकुद शाखाबाट सूर्यबहादुर थिङ, बहुक्षेत्रीय पोषण कार्यक्रमकी सरुना प्रजा, स्वास्थ्य शाखाका जगन्नाथप्रसाद साह, पञ्जिकरण शाखाका राजकुमार चेपाङ, प्रशासन शाखाकी ज्वाला स्याङ्तानले आफ्नो शाखाको प्रगति प्रस्तुत गरेका थिए ।

यसैगरी, गाउँपालिका अध्यक्ष लोक मोक्तानले कैलाश गाउँपालिका ‘एक्सन प्लान’मा चल्ने बताएका छन् । वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मुक्तानले शाखाहरुसँग वार्षिक कार्यतालिका मागी प्रतिबद्धता गराइ कार्य सम्पादन गरिने उद्घोष गरे । यसले अन्तिम चौमासिकमा मात्र कामको चाप हुने अवस्था न्यूीनकरण गर्दै सुशासन कायम हुने बताए ।

मुक्तानले जिल्ला सदरमुकामबाट विकटमा रहेको कैलाशले आर्थिक वर्ष २०७९÷८०को सबै कारोबार विद्युतीय माध्यबाट भुक्तानी गर्न सफल भएको बताएका छन् । उनले समीक्षा कार्यक्रमलाई सम्बोधन गदै ७० प्रतिशत करारका कर्मचारी रहँदा समेत सेवामा कुनै कमिहुन नदिएको दाबी गर्दै आगामी दिनमा सेवामा कमी हुन नदिने प्रतिवदता व्यक्त गरेका छन् । उनले कर्मचारको मेहनत र पालिका आएको सुशासनले वेरुजुमा कमि आएको बताए । ‘हामीले नीति अनुसार चल्न सके सुशासन ल्याउन सक्छौ, अब कैलाशले काममा विश्वास गर्दछ ।’, मोक्तानले भने ।

उनले जनताको सेवामा सहजताका लागि यस आर्थिक वर्षबाट विद्युतीय हाजिर अनिवार्य गरिने भन्दै जनताको सेवाप्रवाहमा सहयोग पुयाउने कर्मचारीलाई पुरस्कृत
गरिने बताए । कार्यक्रममा कैलाश वडा नम्बरको दुईका वडाध्यक्ष राजेन्द्र घिसिङले स्थानीय तहबाट हुने निर्माण कार्य समयमै सम्पन्न हुन नसक्ने समस्या रहेको भन्दै ठेक्काप्रणाली बलियो बनाई समयमै निर्माण कार्य सम्पन्न नगराउने ठेकेदार र निर्माण कम्पनीलाई कार्रवाही गर्न जरुरी रहेको बताए । वार्षिक समीक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट, विभिन्न शाखाका प्रमुखहरुले कार्यप्रगतिका बारेमा प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*