प्रदेशस्तरको छनोटमा मकवानपुरका १२ खेलाडी अटाए

साझाकुरा
२०८० श्रावण १४, आईतवार १०:४३

हेटौंडा- नेपालको यु–१६ टोली तयारी पार्न देशव्यापी छनोट कार्यक्रमअन्तर्गत् बागमती प्रदेशबाट ४८ जना उमेर समूहका खेलाडी छानिएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशभरबाट उमेर समूहका खेलाडी छनोट कार्यक्रम चलाइरहेको छ । यसअघि मकवानपुरबाट छनोट भएर गएका १२ जनासमेत बागमती प्रदेशबाट छनोटमा परेका छन् । एन्फा कम्पलेक्समा भएको प्रदेशस्तरीय छनोट कार्यक्रमबाट बागमती प्रदेशका विभिन्न जिल्लाबाट छनोट भई आएका खेलाडीमध्ये उत्कृष्ट ४८ खेलाडीले अबसर पाएका हुन् । अन्तिम चरणका लागि छनोटमा मकवानपुरका १२ सहित प्रदेशभरबाट ४८ खेलाडी चुनिएको बागमती प्रदेश फुटबल संघले जानकारी दिएको छ ।

अन्तिम चरणको छनोट असोज १६–२० सम्म काठमाडौंमा हुनेछ । सातै प्रदेशबाट छनोट भएर आएका युवा खेलाडीले अन्तिम चरणका लागि प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । छनोटबाट नेपालको अण्डर–१६ फुटबल टिम बन्नेछ । जुन टिमले आगामी भदौ १५ देखि २५ गतेसम्म भुटानमा हुने साफ यु–१६ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालले साविक विजेता भारतसँगै बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

मकवानपुर जिल्लाबाट पहिलो चरणको छनोटमा २८ खेलाडी चुनिएका थिए । वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा भएको पहिलो चरणको छनोट कार्यक्रमबाट छनोटमा परेका खेलाडीले दोस्रो चरणतर्फ प्रदेशस्तरीय छनोट कार्यक्रममा सहभागी जनाएका हुन् ।प्रदेशस्तरको छनोटमा स्थान बनाउने मकवानपुरका खेलाडीहरु लिसन गुरुङ, रिजन जिसी, असन प्रजा, प्रमित खत्री, उप्रान्त आले, रोशन गोले, प्रनिष भण्डारी, अमित स्याङतान, आरोन गुरुङ, रवि थिङ, पवन दर्लामी र विकल रामामगर रहेका छन् । पहिलो चरणको छनोटमा मकवानपुरबाट कुल १ सय ९२ खेलाडीले सहभागिता जनाउँदा २८ जना छनोटमा परेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*