कुरोमा रुमल्लिनु भन्दा काममा लागौं

साझाकुरा
२०८० श्रावण १७, बुधबार १२:३०

कृषि र पर्यटनबाट नगरको समृद्धि खोजेको थाहा नगरपालिकाले नगरमा चिया तथा कफी खेतीको परीक्षण सुरु गरेको छ । चिया र कफी खेती गरेर पर्यटक भित्राउने र चिया र कफीको व्यावसायिक खेती गर्ने योजना अघि सारेको छ । तर, स्थानीय संचारमाध्यममा यस्तो समाचार अयो कि अहिल्यै वा तत्काली जादुको छडी घुमाएजस्तो थाहा नगर नै चिया र कफीमय भएको छ । यो परीक्षण मात्रै हो भन्ने कुरा हामीलाई थाहा छ तर, दामनपालुङ उपत्यका पूरै चियाबगानले ढकमक्क भयो र कफीको बोट लहलह भइसक्यो भने जस्तो समाचार बनाएर हामीले कामलाई भन्दा बढी प्रचारबाजीलाई जोड दिइरहेका छौं । यो पक्का हो कि थाहा नगरमा चिया र कफीको सम्भावना छ ।

सम्भाबना छ भनेर हात बाँधेर बसिरहने हो भने हाम्रो चिया बगान कस्तो होला ? १०÷२० रोपनीको पाखोमा चियापत्तीको खेती गर्दैमा हामी पूरै ब्यावसायिक हुने पक्कै होइन । ब्यावसायिकता हुन अहिले थाहा नगरबासीले आलु, काउली खेती गरेको जस्तै चिया र कफीको खेती गरेको हुनुप¥यो । थाहाका स्थानीयको खेतबारीमा त बेमौसमी तरकारी फलिरहेको छ । यसले राम्रै आम्दानी पनि दिइरहेको छ । अब साँच्चै चियाको बगान बनाउने हो भने चुत्रो र घँगारुले ढाकेको पाखाभित्तामा चियाखेती हुनुप¥यो । ठूला र हुर्किका रुखमुनी रहेका काँडाघारी फाँडेर चिया र कफीको बिरुवा रोप्नु प¥यो ।

केवल प्रचारबाजीमा ध्यान दिएरमात्र चियाबगान बढ्नेवाला छैन । थाहा नगर आफैंमा प्राकृतिक संग्रहालय हो । जैबिक बिबिधताको स्वर्ग हो तर, यसको महत्वलाई थाहा नगरबासीले पहिचान गर्न सकेका छैनन् । थाहा नगरपालिकाको समुद्री सतहदेखि करिब २ हजार मिटरको हाराहारीमा छ । समशितोष्ण हावापानी भएका कारण यहाँको चिया र कफी उत्पादन गुणस्तरीय हुन सक्छ । थाहानगरमा चियाखेतीको परीक्षण ४ वर्ष पहिले टिस्टुङबाट गरिएको थियो । चारवर्षमा जति चियाखेती फैलनु पर्ने थियो त्यो हुन सकेको छैन । गफ मात्र ठूलो गरेर संमृद्धि आउनेवाला छैन ।

भाङखोरिया, खानीगाउँ, दम्कीपाखो, दामन, सीमभञ्ज्याङ, टिस्टुङ नौखण्डे, कुटीप्वाकल, कुन्छाल, डाँडेबास, मोरिया, जहाँ गएपनि पाखाभित्तामा चियाको बोट देखिनु प¥यो अनिमात्र ब्यावसायिक उत्पादन हुन थालेको भन्न सकिएला । एउटा सामुदायिक वनको नर्सरीमा ४०० बिरुवा टक्दा–७८ नामक चियाको विरुवा रोपेर ब्यावसायिक भनिरहँदा यो समाचार पढ्ने पाठकलाई काउकुती नलाग्ला त ? थाहा नगरका स्थानीय जनप्रतिनिधि कृषि र पर्यटन क्षेत्र बुझ्ने खालका छन् । नगरबासीको आयश्रोत धानिरहेको कृषि पेशालाई निरन्तरता दिएरै चियाखेतीको बिस्तार गर्न सकिन्छ । नगरमा खेर गइरहेका जमिन पर्याप्त छन् । त्यो सबै खाली जमिनलाई बैज्ञानिक रुपमा ब्यवस्थापन गरौं र चियाको बिरुवा रोपौं ।

एक वर्षको अधिकांश बजेट थाहा नगरपालिकाले चियाखेतीका लागि बिनियोजन गरौं । सरकारी, पर्ती, नम्बरी, ऐलानी, रैकर, गुठी जुनसुकै रुपमा रहेका जग्गामा चियाको बिरुवा रोपौं । आफ्नो घर वरीपरीका बिरुवा हुर्काउने अभियानमा नगरबासीको प्रतिबद्धता लिने÷दिने ब्यवस्था गरौं । साँच्चै थाहा नगरलाई चियाको बगानको रुपमा हेर्ने हो भने चियाको बिज्ञहरु, वातावरणबिद, भुगोलबिद्, कानूनबिद् सबैसँग छलफल गरेर नगरपालिकाले यसको नेतृत्व लिनुपर्छ ।

चियाको बिरुवा हुर्काउने जिम्मेवारी जस्ले लिन्छ त्यसको प्रतिफल वा आम्दानी पनि उसैले पाउने गरी नगरपालिकाले नेतृत्व गर्नु राम्रो होला । नत्र ४ सय बिरुवा रोपेर ब्यावसायिक खेत सुरु भयो भन्दै मख्ख पर्ने हो भने थाहा नगरको संमृद्धि कहाँ पुग्ला ? रुपचन्द्र बिष्टको जन्मथालोमा कर्मयोगी नागरिक बसोबास गर्छन् भन्ने पहिचान थाहानगरबासीले दिनु जरुरी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*