बागमतीमा १५ दिनभित्र ६ सयलाई देखियो डेंगू

साझाकुरा
२०८० श्रावण १८, बिहीबार १२:३४

हेटौंडा- बागमती प्रदेशमा १५ दिन ६०० जनामा डेंगू संक्रमण पु्ष्टि भएको छ । प्रदेशमा साउन १ गतेदेखि १५ गतेसम्ममा यो संख्यामा डेंगू संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार, प्रदेशका ८ जिल्लामा संक्रमितको संख्या बढेको हो । तीमध्ये सबैभन्दा धेरै धादिङमा डेंगू संक्रमितको संख्या बढेको हो । त्यहाँ ४३८ जनामा डेंगू संक्रमण पुष्टि भएको हो । यसैगरी, काठमाडौंमा १२२, भक्तपुरमा ८, ललितपुर र मकवानपुरमा ९÷९, नुवाकोटमा ५, चितवनमा ८ र सिन्धुपाल्चोकमा एक जनालाई डेंगू सङक्रमण भएको मन्त्रालयले जनाएको छ ।

देशभरसहित यस प्रदेशमा पनि डेंगू सङक्रमणको दर बढेको छ । साउन दोस्रो सातासम्मै सङक्रमणको दर बढ्नु चिन्ताको विषय भएको मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिए । उनले हरेक वर्ष झैं यसवर्ष पनि भदौ, असोज र कात्तिक महिनामा सङक्रमण दर बढ्ने सक्ने बताए । उनका अनुसार प्रदेशमा गत पुस १७ देखि साउन १५ सम्म ९८० जनामा डेंगू सङक्रमण पुष्टि भएको छ ।

पछिल्लो तथ्याङ्कले गत वर्ष झैँ यो वर्ष पनि बागमतीमा डेगु रोग सङक्रमणको उच्चजोखिम देखिएको छ । साउन दोस्रो हप्तासम्म आइपुग्दा डेगु सङक्रमण भएका
बिरामीको संख्याले पनि स्रोतमै रोकथाम र नियन्त्रणका उपाय नअपनाइए महामारीको रुप लिने देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१९ मा चार हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा र सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेंगु रोग सङक्रमण भएको छ ।
लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग सङक्रमण रोक्न प्रदेशभर ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।

मन्त्रालयका अनुसार सचेतना जगाउनेसँगै स्थानीय तहसँग समन्वय गरी ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो। वर्षामा पानी जम्ने स्थानमा सरसफाइ गर्ने तथा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाइएको हो ।चालु आवमा डेंगुलगायतका महामारीजन्य रोग नियन्त्रण र रोकथाम गर्न तीन करोड १२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिए । गत आवमा महामारीजन्य रोग नियन्त्रणका लागि एक करोड १४ लाख ३० हजार बजेट विनियोजन भएकोमा ९३ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*