मकवानपुरमा मिटरब्याजीविरुद्ध ६६ उजुरी

साझाकुरा
२०८० श्रावण १९, शुक्रबार ११:५२

हेटौंडा- जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मिटरब्याजीविरुद्ध ६६ वटा उजुरी दर्ता भएको छ । आर्थिक लेनदेन तथा जग्गा धितोबन्धक गरी अनुचित कारोबारसँग सम्बन्धित उजुरी रहेका छन् ।जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सरकारले अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी जाँचबुझ आयोग गठन गर्नुपूर्व नै २८ वटा लिखित निवेदन दर्ता भएको जानकारी दिए ।

आयोग गठनपछि हालसम्म थप ३८ वटा उजुरी दर्ता भएको उनले बताए । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गरी गत चैत १२ गतेबाट प्रत्येक जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आह्वान नै गरेको थियो ।मकवानपुरमा दर्ता भएका उजुरीमध्ये अधिकांश आर्थिक लेनदेनका रहेका छन् भने केही मात्र जग्गा दृष्टिबन्धक गरी गरिएको कारोबारदेखि रहेको शर्माले जानकारी दिए । आयोग गठनपूर्व दर्ता भएका निवेदनमा अधिकतम ५ लाख रुपैयाँसम्म आर्थिक कारोबार भएका निवेदनहरु कार्यालयमा दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । आयोग गठनपश्चात् भने अत्यन्त ठुला र जग्गा धितोबन्धक गरी गरिएका कारोबारका उजुरी दर्ता भएको उनको भनाई छ ।

हालसम्म अधिकतम अढाई करोड रुपैयाँसम्मका कारोबारको लिखित निवेदन दर्ता भएका छन् । दर्ता भएको उजुरीमध्ये सबैभन्दा पुरानो २०५२ सालमा दृष्टिबन्धक गरी गरिएको आर्थिक कारोबार रहेको छ । मकवानपुरमा दर्ता भएका ६६ वटा उजुरीमध्ये ३२ वटाको मेलमिलाप गरिएको छ । मिलापत्र गरिएकामध्ये ८० हजारदेखि ५ लाख रुपैयाँ सम्मका आर्थिक कारोबारका निवेदन रहेको र एउटा जग्गा फिर्ता गर्नेसम्मको निवेदनमा मिलापत्रगरिएको छ ।

मिटरब्याजसम्बन्धी समस्याको समाधान सम्भव भएसम्म मेलमिलापबाट समाधान गर्ने प्रयासस्वरुप प्रशासन कार्यालयले पहल गर्ने गरेको उनले बताए । पीडित, ऋण दिने साहु, स्थानीय सरकारका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सहयोगमा मेलमिलापको प्रयास हुने गरेको छ । मेलमिलाप हुन नसकेमा भने कानुन बमोजिम कारबाही अघि बढ्ने गरेको र सो अनुसार सम्बन्धित व्यक्तिहरु अदालत जाने गरेको शर्माले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*