मकवानपुरमा ‘लम्पी स्किन’विरुद्ध ६ हजार डोज खोप लगाइने

साझाकुरा
२०८० श्रावण १९, शुक्रबार १२:०५

हेटौंडा- मकवानपुर जिल्लामा लम्पी स्किन रोगबिरुद्ध ६ हजार डोज खोप लगाइने भएको छ । दशवटै पालिकामा ६ सयका दरले खोप लगाउन लागिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र मकवानपुरले लम्पी स्किन डिजिजको जिल्लाका सबै स्थानीय तहमा खोप कार्यक्रम अभियानकै रुपमा संचालन गर्न लागेको हो ।

कृषि मन्त्रालयको कार्यक्रमअनुसार लम्पी स्किन सङ्क्रमण रोक्न सबै पालिकामा खोप कार्यक्रम संचालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र मकवानपुरका प्रमुख डा. बज्रकिशोर ठाकुरले जानकारी दिए । पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि यही साउन २५ गतेदेखि ३१ गतेसम्म साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

जिल्लाका स्थानीयतहसँग विज्ञकेन्द्रमा भएको अन्तरक्रियाले फोकल पर्सन तोक्ने, भ्याक्सिनेटर नियुक्त गर्ने र खोप वितरण गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र मकवानपुरबाट सप्ताहव्यापी लम्पी रोग नियन्त्रण अभियानका लागि १० वटै पालिकामा स्थानीय तहका पशुसेवा शाखा प्रमुखलाई फोकल पर्सन तोक्ने निर्णय गरेको छ ।

त्यस्तै भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र मकवानपुरमा दर्ता हुन आएका भ्याक्सिनेटरहरुलाई नियुक्ति दिने र दर्ता हुन नआएको पालिकाहरुमा गाउँपालिकाको पशुसेवा शाखाबाट गरिएको सिफारिसको आधारमा विज्ञकेन्द्रले नियुक्ति दिने निर्णय भएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको तर्फबाट गंगा चौलागाई, डा.अनुसा लम्साल, डा.कमल अधिकारी, मकवानपुरगढी गाउँपालिकाबाट सत्यनारायण साह, बागमती गाउँपालिकाबाट राजेन्द्र गोले, कैलाश गाउँपालिकाबाट सन्तोषकुमार थिङ, इन्द्रसरोवर गाउँपालिकाबाट नवीन अधिकारी, बकैया गाउँपालिकाबाट सागर श्रेष्ठ, मनहरीबाट सरोज ओझालगायतले अन्तरक्रियामा सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*